सम्पादकीय

सम्पादकीय

शासकीय अराजकता अन्त्य होऊन्...

इकागज |
असोज २६, २०७८ मंगलबार ९:५३ बजे

विश्वव्यापी महामारी कोभिड–१९ कहरको अलि कमजोर पृष्ठभूमिमा बडा दसैँ सुरु भएको छ । अघिल्लो वर्षको दसैँमा पनि कोभिड महामारीले नेपाल मात्र होइन पूरै विश्व सन्त्रासमा थियो । यो वर्ष खोपका कारण त्रास अलि हटेको छ । हुन पनि यही महारोगका कारण नेपालीहरूको रोजीरोटी छिनेको थियो र अझ पनि छिनेकै छ । यसले गर्दा परम्परादेखि मनाउँदै आएको बडा दसैँ धेरैका निम्ति अझै निकै कष्टकर बनेको छ ।

कोभिडको त्रास अझै हटिसकेको छैन । केवल २८ प्रतिशत नेपालीले पूर्ण खोप लगाउन पाएका छन् । बजार र शक्तिपीठहरूको देखिएको भीडले कोभिड नै छैन भन्ने भान गराएको छ । यो भाइरसको अर्काे नयाँ भेरियन्ट कुन दिन प्रकट होला भन्ने त्रास कायमै छ । तर भीडभाड र असर्तकताका कारण जोखिम बढ्दो छ । यस्तो जोखिमका बीच मनाउन लागिएको दसैंमा सजगता अपनाउन जरुरी छ ।


अर्कातिर, यस वर्ष पनि नेपाली राजनीतिक सुखद रहेन । अघिल्लो दसैँपछि सुरु भएको राजनीतिक किँचलो अन्ततः दुई–दुई पटक प्रतिनिधि सभा भंग, त्यो पनि एकै पात्र प्रधानमन्त्रीबाट नेपालले भोग्न वाध्य भयो । सायद, एकै शासकले एकै कार्यकालमा यसरी असंवैधानिक तरिकाले दुई पटक प्रतिनिधि सभा भंग गरेको इतिहास संसदीय दुनियाँमा सायदै होला । अनि सर्वाेच्च अदालतबाटै संविधानविपरीत ठहर हुँदा सजायँकै भागीदार भइसक्थे । मुलुकलाई राजनीतिक अस्थिरता र सर्वसत्तावादतिर धकेल्ने प्रयत्न भएकै थियो । सर्वाेच्च अदालतले संविधान र कानुनी राज्यको स्थापना गरी लोकतन्त्र र गणतन्त्रको रक्षा गरेको थियो । 

नेपाल र नेपाली जस्तो सहनशील नागरिक भएकै कारणले मात्र ती शासक बचेका हुन् । हुन पनि यो मुलुक ठूला–बडा या कथित भीआइपी विरलैबाहेक कहिल्यै सजायँका भागीदार भएका छैनन् । हामी कहाँ सजायँका भागीदार त केवल कुल्लीस्तरका कर्मचारी पात्र बढी मात्रामा हुन्छन् । हाम्रो नियति यही हो । सर्वाेच्चको परमादेशपश्चात् गठन भएको हालको तीन महिना पार गरेको सरकारले ‘ओली–पथ’मा हिँड्ने सूरसारमै देखाउँदैछ । ओलीले निर्माण गरेको गैरकानुनी मार्गलाई राजमार्ग बनाउने कसरत जारी छ । प्रतिनिधि सभालाई पंगु बनाउँदै असान्दर्भिक देखाउने ‘भूमिगत खेल’ पनि पनि नियमित छ । अर्थात् लक्षण गतिलो छैन ।

संविधान र लोकतन्त्रको मर्मविपरीत प्रधान न्यायाधीशको भागमा मन्त्री नियुक्ति गर्ने, जलहरी काण्डमा मुछिएकालाई पशुपति क्षेत्र विकास कोषको हाकिम बनाउने, बजार भाउ नियन्त्रणमा रुचि नदेखाउने यो सरकारको चाला पनि उस्तै छ । यसले गर्दा नेपालीको चाहनाबमोजिम सुशासन र सेवा प्रवाह जहिले पनि सपना सावित भएको छ । यो सरकारले उल्लेखनीय काम गर्न नसके पनि कम्तीमा नराम्रो र अप्रिय काम नगरिदेओस् भन्ने आमअपेक्षा छ ।

अनि हुने खानेका लागि नेपालमा सधैं दसैँ छ । हुँदा खानेहरूका निमित्त यो दसैं पर्व मनाउन कठिन । आर्थिक क्षेत्र ध्वस्त भएको छ । मुलुकको आर्थिक वृद्धि नै खुम्चिन पुगेको छ भने जनताको क्रयशक्ति पनि घट्दो छ । तर जनताको यो हविगतप्रति सरकार र जिम्मेवार दलका नेताहरू बेखबर जस्तै छन् । अझ कतिपय पहाडी र दुर्गम जिल्लामा चामलसमेत उपलब्ध छैन । राज्यको निरीहता र गैरजिम्मेवारीको पराकाष्ठा यसले पनि देखाउँछ । समय क्रममा आउने चाडबाडले धनी, गरिब, सानो ठूलो भन्दैन । सबैले सम्मानपूर्वक चाडबाड मनाउन पाउनुपर्छ । 

मुलुकको शासन र सामाजिक पद्धति जे जस्तो भए पनि दसैँ त मनाउनु पर्छ नै । वर्षभरि दुःख–सुख जे भएपनि बडा दसैँमा हासी–खेली गर्दै, शक्तिपीठ घुम्दै, घरका मुलीहरूसँग क्रमबद्ध तरिकाले आर्शिवाद लिँदै यही रमाउनु पर्छ । अनि दुःख त्यसपछि झेल्नुपर्छ नै । 

अनि, हामी पनि भन्न चाहन्छौं, बडा दसैँंको उपलक्ष्यमा हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुकहरूलाई हार्दिक मंगलमग शुभकामना टक्य्राउन चाहन्छौं । नवदुर्गा भवानीले देशमा अमन चयन, शान्ति र समृद्धि ल्याओस् भन्ने अपेक्षा गर्दछौँ । अर्काे वर्षको दसैँ महामारीरहित, सुशासनको बाटोमा मुलुक हिँड्दै आर्थिक सपन्नताबीच मनाउन पाइयोस् भन्ने पनि कामना गर्न चाहन्छौं । विजया दशमीको सबैमा हाम्रो शुभकामना ।


Author

थप समाचार
x