सम्पादकीय

सम्पादकीय

एमालेलाई शुभकामना : चितवनले स्पष्ट चित्र कोरोस्

इकागज |
मंसिर ९, २०७८ बिहीबार १५:५५ बजे

फाइल फोटो

मुलुकको प्रमुख राजनीतिक शक्ति नेकपा एमाले भोलिदेखि नेतृत्व चयनका निम्ति तीन दिने महाधिवेशनमा होमिँदै छ । विधान महाधिवेशन सक्दै एमाले नेतृत्व चयनतर्फ मोडिएको हो । एमालेले नीति–विधान र नेतृत्व चयनसम्बन्धी छुट्टाछुट्टै महाधिवेशन प्रयोग सुरु गरेको छ, राजनीतिक हिसाबले यो राम्रो प्रयोग हो ।

हुन पनि दुवै एकचोटि गर्दा नीति–विधानमाथिको बहस ओझेलमा पर्छ, नेता/प्रतिनिधि नेतृत्व चयनतिर बढी केन्द्रित हुन पुग्छन् । यद्यपि दुईवटा महाधिवेशन गर्दा खर्च चाहिँ बढी लाग्छ नै । त्यतिमात्र होइन, एमालेले विद्युतीय भोटिङ मेसिन पनि प्रयोग गर्दै छ । यसले मतदान र मतगणना दुवै सहज हुने नै छ ।


पार्टीबाट एउटा समूह छुट्टिएर गएपछि राजनीतिक र मनोवैज्ञानिक हिसाबले एमाले कमजोर अवस्थामा छ । त्यहीकारण एमालेले महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस उतार्ने र शक्ति प्रदर्शन उद्घोषसहित कार्यकर्ताको मनोबल उच्च बनाउने रणनीति अपनाएको छ । एमालेले महाधिवेशनको नारा तय गरेको छ, ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं’ र ‘जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’ 

यो महाधिवेशनमा २१७५ प्रतिनिधि सामेल हुँदैछन् । तिनै प्रतिनिधिबाट नेतृत्व चयन हुनेछ । नेतृत्व चयन महाधिवेशन भनिए पनि अध्यक्षमा केपी शर्मा ओली र उनले चाहेकै अनुहार दोहोरिनेछन् । प्रतिस्पर्धाबेगर ओली सर्वसम्मत अध्यक्ष बन्ने सम्भावनामा अर्का भीम रावलले चुनौती दिने प्रयत्न गरेका छन् । एमालेभित्र ओली जसरी शक्तिशाली छन्, त्यो अर्थमा रावलको उम्मेदवारीले ओलीलाई खास असर पर्ने सम्भावना देखिँदैन । 

अझ ओली निकटका मानिसहरू उद्घोष गर्दैछन् कि रावललाई चितवनमा टिक्नै दिइनेछैन । तिनको नारा नै बनेको छ, ‘ओलीको विकल्प ओली नै ।’ हुन पनि एमालेभित्र ओलीलाई यसरी ‘देवत्वकरण’ गरिएको छ कि छेउछाउ पुग्‍न खोज्‍नेलाई ‘राक्षसीकरण’ गरिँदै छ । अझ महाधिवेशनमा मतबाटै भित्तामै पुर्‍याउने निश्चित छ ।

ओली मात्र होइन कि पदाधिकारीमा पनि ओलीले ‘चाहेकै मानिस’मा आउने छन् । केही दिनअघि पदाधिकारीका सन्दर्भमा ओलीले भनेका थिए, ‘मैले मन पराएका मानिस या त निर्विरोध हुन्छन् या त जो छानिन्छन् उसैलाई मन पराउँछु ।’

यसले पनि स्पष्ट संकेत गर्छ कि पदाधिकारी प्रतिस्पर्धामा ओलीले नचाहेको मानिस आउन सक्ने सम्भावना एकदमै न्यून छ । तर, एमालेमा रावलसहितका दश भाइ महाधिवेशन बहिष्कृत हुन पुगेको खण्डमा फेरि द्वन्द्व–विग्रहको बिउ रोपिने निश्चित छ । अनि पदाधिकारीका आकांक्षी संख्या धेरै भएको हुँदा तिनको व्यवस्थापन गर्नु पनि सजिलो छैन । अझ पदाधिकारीमा पूर्वमाओवादी नेता रामबहादुर थापा (बादल)सहितको टोलीलार्ई खुसी पार्नुपर्ने नै छ । 

ओलीले पार्टी व्यवस्थापन गर्न नसकेकै कारण पूर्वमहासचिव माधवकुमार नेपालको समूह बाहिरिँदै नयाँ पार्टी खोल्न पुग्यो भने माओवादीसँगको एकीकरण कायम रहन सकेन । 

 

 

ओलीले पार्टी व्यवस्थापन गर्न नसकेकै कारण पूर्वमहासचिव माधवकुमार नेपालको समूह बाहिरिँदै नयाँ पार्टी खोल्न पुग्यो भने माओवादीसँगको एकीकरण कायम रहन सकेन । नेकपा विभाजन भयो नै एमालेमा विभाजन र विग्रहका कारण मुलुकले चरम राजनीतिक अस्थिरता खेप्नुपर्‍यो या भोग्‍नुपर्‍यो । 

गएको निर्वाचनमा एमाले-माओवादी गठबन्धनलाई दुई तिहाइ नजिकको मत दिनुको कारण राजनीतिक स्थिरताको चाहना थियो । पार्टी अध्यक्ष ओलीकै कार्य–व्यवहार शैलीका कारण संघ-प्रदेशका सरकार गिर्न पुगेको हो । त्यसरी सरकार गिर्न पुग्‍नुको कारण महाधिवेशनमा खोजी हुने कुनै सम्भावना छैन । जसको कारण खोज्‍नुपर्‍यो भने शक्तिशाली अध्यक्ष ओलीतिरै तीर सोझिन्छ । कसैबाट त्यसरी प्रश्‍न उठाउने कुनै सम्भावना नै छैन । त्यसो हुँदा महाधिवेशन मूलतः ओली र उनले चाहेको नेतृत्व वृत्तलाई वैधानिकीकरण गर्नेमै सीमित हुने देखिन्छ ।

दुई तिहाइ नजिकको सरकार निर्माण गुम्नुको कारण ओलीले पार्टीका नेता र गुट व्यवस्था गर्न नसक्नु हो । यो महाधिवेशनमा तिनको व्यवस्थापन भएन भने एमालेमा फेरि पनि भुइँचालो जान सक्छ, दल–बदलले तीव्रता पाउन सक्छ । एमालेमा अवसर नपाउनेका निम्ति नेकपा समाजवादी छँदै छ । 

जसरी महाधिवेशनको नारामै ‘संगठनात्मक अराजकतालाई पराजित गरौं’ भनिएको छ । जसलाई ‘ओली विरोधीहरू जतिलाई पराजित गरौं’ रूपमा अर्थ्याइँदैछ । महाधिवेशनपछि फेरि विग्रह भोग्‍न र खेप्‍न नपरोस् भन्‍ने हिसाब-किताबसहित एमालेका प्रतिनिधिहरूले नेतृत्व चयन गरून्, हाम्रो शुभकामना छ ।


 


Author

थप समाचार
x