सम्पादकीय

सम्पादकीय

महाधिवेशनको मौसम

इकागज |
मंसिर १०, २०७८ शुक्रवार १७:२६ बजे

फाइल फोटो

यतिबेला राजनीतिक दलहरूको महाधिवेशनको मौसम चलेको छ । नेकपा (एमाले)को १०औं महाधिवेशन अहिले चितवनस्थित नारायणी किनारमा भइरहेको छ । निकट भविष्यमा नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौँमा तय भएको छ । नेकपा (माओवादी केन्द्र) को पनि तल्लो तहका अधिवेशन सुरु भइसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर १५ देखि १७ सम्म हुँदै छ ।

नेपाली कांग्रेसको महाधिवेशन विधानको चार वर्षे कार्यकालको व्यवस्था घर्काएर, संविधानले बाध्य पारेको अवस्थामा पाँच वर्षभित्र पनि नगरेर कोभिड–१९ को जटिल परिस्थितिलाई कारण देखाउँदै ६ महिना समय थपेर गर्न लागिएको हो । अघिल्लोपटक नेकपा (एमाले)को महाधिवेशन २०७१ असारमा, नेपाली कांग्रेसको २०७२ फागुनमा र माओवादी केन्द्रको भने २०६९ सालमा हेटौंडामा महाधिवेशन भएपछि झण्डै दशकपछि महाधिवेशन हुन लागेको हो । 


२०७५ जेठ ४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुलुकको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनेको थियो । तर यसले एकता महाधिवेशन पनि गर्न पाएन र २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट विघटन भयो । खासगरी सत्तारूढ नेकपा (नेकपा)भित्र देखिएको विग्रहका कारण मुलुकको राजनीति जटिल अवस्थामा पुगेको थियो ।

अन्य दलहरूको महाधिवेशन समयमा नभएको अनि सत्तारूढ दलमा देखिएको विग्रह, संसद् विघटन लगायतका परिघटनाले बहुदलीय लोकतान्त्रिक व्यवस्था नै असफलतातर्फ उन्मुख थियो । तत्कालीन सत्तारूढ दलमा उत्पन्न समस्याको राजनीतिक समाधान खोज्न नसकिरहेको अवस्थामा सर्वोच्च अदालतको एउटा विवादास्पद फैसलाले एमाले र माओवादी केन्द्रलाई पुनः पार्टी एकता अघि २०७५ जेठ ३ को अवस्थामा फर्काइदिएको थियो । 

एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएपछि मुलुक पुनः राजनीतिक सुलहतर्फ अघि बढ्दै गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएर पुनः प्रतिनिधिसभा विघटन गरेका थिए । सर्वोच्च अदालतको फैसलाले पुनः प्रतिनिधिसभा ब्युँताउँदै धारा ७६ (५) अनुसार १४३ सांसदको रिट निवेदनमाथि फैसला दिने क्रममा नेपाली कांग्रेसका सभापति प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । 

सत्ताबाट बाहिर निस्केका ओली जसै पार्टीमा शक्तिशाली भए उनले विधान महाधिवेशन र दशौं महाधिवेशन आह्वान गर्नुका साथै सांगठनिक सुदृढीकरणमा लागे । प्रतिपक्षमा रहँदाभन्दा सत्तामा उक्लेपछि झनै शक्तिशाली भएका देउवाले पनि पार्टीको अधिवेशन प्रक्रियालाई तीव्रता दिँदै महाधिवेशन गराउने भए । २०६९ मा महाधिवेशन गराएपछि एमालेसँग पार्टी एकताका कारण पाँच वर्षमा महाधिवेशन गराउनुपर्ने दबाबबाट उन्मुक्त भएको माओवादीले पनि पार्टीलाई जीवन्तता दिन महाधिवेशनको प्रक्रिया सुरु गरिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निकट भविष्यमा एकता महाधिवेशन गर्दैछ ।
 
दलहरूको महाधिवेशनको मौसम तब आयो, जब दलको नेतृत्व गरिरहेका केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, कमल थापा, सीपी मैनालीहरूका लागि परिस्थिति अनुकूल भयो । यद्यपि, हरेक पार्टीका तल्लो संरचनादेखि नै नयाँ नेतृत्वहरू आएका छन् । महाधिवेशनमा पनि पुराना नेतृत्वहरूलाई चुनौती दिन आकांक्षीहरू अघि सरेका छन् । दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभ्यास ढिलै भए पनि सुरु भएको छ । यसले पार्टीहरूलाई जीवन्त बनाउँछ, सँगै लोकतन्त्रलाई पनि सुदृढ गर्छ । 

हिउँदको यो चिसोलाई दलहरूको महाधिवेशन र नेतृत्व चयनको प्रतिस्पर्धाले तताएको छ । सबै दलहरूले लोकतान्त्रिक विधिबाट महाधिवेशन सम्पन्न गरेर मुलुकको लोकतन्त्र, जनताका आकांक्षा र समृद्धि हासिल गर्ने मार्गमा अघि बढून् । सबै दलहरूलाई शुभकामना !
 


Author

थप समाचार
x