सम्पादकीय

सम्पादकीय

आयातीत ग्यास होइन, बिजुली खपत गर्ने मल कारखाना

इकागज |
पुस २९, २०७८ १७:६ बजे

लगानी बोर्डले आयातीत ग्यास प्रयोग गरी रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने ‘विवादित योजना’ अघि सारेको छ । एकातिर बिजुली जगेडा हुँदैछ भने अर्कातिर ग्यास आयात गरेर मल कारखना खोल्ने योजनाबीच तालमेल खाने ठाउँ कतै भेटिँदैन । यद्यपि निकै लामो समयदेखि नेपालमा ग्यास उपयोग गरी रासायनिक मल बनाउनेतर्फ कमिसन एजेन्टहरूले प्रयास गर्दै आएका थिए । उनीहरूको त्यो प्रयासलाई लगानी बोर्डले सार्थक तुल्याउँदैछ । बोर्डले गठन गरेको समितिले दिएको प्रतिवेदन पारित भई त्यसअनुसार ग्यासबाट मल बनाइयो भने यो मुलुकका लागि अर्काे ठूलो विडम्बना मात्र होइन, देशघात गरेको ठहर्नेछ । 

नेपाल त्यसै पनि भारत निर्भर छ । खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ, रासायनिक मल, हिउँदयामको बिजुली लगायत दाल, चामल, तरकारी, गेडागुडी पनि भारतबाटै आयात हुन्छ । एक खर्बको निर्यात गर्दा सात खर्बको आयात हुने गर्छ । भारतीय निर्भरताबाट राष्ट्रलाई कसरी खुकुलो बनाउने र सकेजतिको पक्षमा कसरी आत्मनिर्भर हुने भन्ने चिन्तन लिनुपर्नेमा कसरी हुन्छ भारतीय निर्भरता बढाइरहने उल्टो बुद्धिमा लगानी बोर्ड पुगेको देखिन्छ ।


नेपालमा वर्षेनि ७० अर्ब रुपैयाँभन्दा बढीको रासायनिक मल आयात हुने गर्छ । १७ लाख मेट्रिक टन देशभर आवश्यक पर्छ, जुन किसानहरूले सहज रुपमा पाउन सक्दैनन् । विश्व बैंकको तथ्यांक अनुसार नेपालमा एक हेक्टर जमिनमा ७४ केजी रासायनिक मल खपत हुन्छ । तीसकै दशकदेखि नेपालमा रासायनिक मल उत्पादन गर्ने प्रसंग उठेको हो । तर नीति–निर्माता र शासकहरू यो विषयमा कहिल्यै गम्भीर बनेनन् । मल खरिद गर्दा आउने मोटो कमिसनको लालचका कारण हाम्रा नेताहरूको ध्यान कारखाना स्थापनामा गएन ।

रासायनिक मल नेपालमा उत्पादन गर्न सकिन्छ । यसका लागि आवश्यक पर्ने कुनै पनि कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्दैन । तर लगानी बोर्डले आयातित ग्यास उपयोग गर्ने गरी ‘मोडालिटी’ तयार गर्दैछ । ग्यासबाट होइन बिजुलीबाट रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने गरी लगानी बोर्डले आफू र आफ्नो नियतलाई सच्याउनुपर्छ ।

रासायनिक मल उत्पादन गर्न पानी, बिजुली र सिमेन्ट उद्योगले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड चाहिन्छ । यी सबै नेपालमै उपलब्ध छन् र आयात गर्नुपर्दैन । बिजुलीबाट भन्दा ग्यासबाट उत्पादन गर्दा सस्तो पर्छ भन्ने देखाएर ग्यासवाला कारखाना भित्र्याउने नियत लगानी बोर्डको देखिन्छ । तर नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा रासायनिक मल कारखानालाई बिजुली दिन सकिने बताइसकेको छ ।

वर्षायामको खेर जाने बिजुली रासायनिक मल उत्पादनमा उपयोग गर्दा देशको अर्थतन्त्र बलियो बन्छ । वर्षेनि ७० अर्ब रुपैयाँको मल आयात गर्नु पर्दैन । एउटा प्लान्टमा चार सयभन्दा बढीले रोजगार पाउँछन् । ग्यासभन्दा बिजुली महँगो पर्ने भएछ भने पनि राज्यले बिजुलीलाई नै जोड दिनुपर्छ । किनभने यो राष्ट्रिय उद्यम हो ।

बिजुलीबाट रासायनिक मल उत्पादन गर्ने प्रक्रियामा आउने सहउत्पादनहरू (हाइड्रोजन, एमोनिया, अक्सिजन ग्यास आदि) को अन्तर्राष्ट्रिय बजारमै माग छ । यहाँ बिजुलीबाटै रासायनिक मल उत्पादन गर्ने हो हाइड्रोजन, एमोनिया र अक्सिजन उत्पादन हुन्छ । फ्रिज, एसी र कुलिङमा एमोनिया ग्यास नभई हुँदैन, जुन हामीले आयात गरिरहेका छौं । पानीलाई इलेक्ट्रोलाइसिस गरी हाइड्रोजन र अक्सिजन निस्कन्छ । वायुमण्डलमा उपलब्ध हुने ७९ प्रतिशत नाइट्रोजन र इलेक्ट्रोलाइसिसबाट उत्पादन हुने हाइड्रोजनलाई मिसाउँदा एमोनिया ग्यास उत्पादन हुन्छ । त्यो एमोनिया ग्यास र सिमेन्ट उद्योगबाट निस्कने कार्बनडाइअक्साइडलाई अन्तरघुलन गर्दा रासायनिक मल उत्पादन हुन्छ ।

नेपाल सिमेन्ट उद्योग संघका अनुसार मुलुकमा प्रतिवर्ष ८५ लाख टन सिमेन्ट उत्पादन हुन्छ । यसबाट वातावरणमा एक करोड ६ लाख टन कार्बनडाइअक्साइड उत्पादन हुन्छ । ४४ ग्राम कार्बनडाइअक्साइडमध्ये २८ ग्राम युरिया मल बनाउन उपयोग हुन्छ । यसले वातावरण स्वच्छ राख्न र हरित ग्यास उत्सर्जन कटौती गर्न ठूलो भूमिका निर्वाह गर्छ ।

नेपालका ५३ वटा सिमेन्ट उद्योगबाट निस्कने कार्बनडाइ–अक्साइडलाई मल बनाउन प्रयोग गर्ने हो भने १ करोड ६ लाख टन कार्बन उत्सर्जन कटौती हुन्छ । वातावरण प्रदूषित हुनबाट जोगाउन बिजुलीवाला कारखाना चाहिनेमा लगानी बोर्डले वातावरण प्रदूषित पार्ने आयातीत ग्यासवाला कारखाना ल्याउन तम्सिनु सिँधै राष्ट्रघात नै हो ।

मुलुकमा गत वर्षदेखि वर्षायाममा बिजुली जगेडा हुन थालेको छ । यो वर्ष ७ सय मेगावाट बिजुली खेर गयो भने आगामी वर्ष एक हजार मेगावाट बिजुली जगेडा रहने देखिन्छ । विद्युत् प्राधिकरणले बिजुलीबाट रासायनिक मल उत्पादन गर्न सकिने दलिल धेरै ठाउँमा गर्दै आइरहेको छ, जुन उचित हो । जब हामीले रासायनिक मल स्वदेशमै उत्पादन गर्छांै, बिजुली यहीँ खपत हुन्छ । अनि जगेडा बिजुली कहाँ लगेर बिसाउँ भन्ने पिरलो सधैंका लागि अन्त हुन्छ ।

एउटा कारखानाले कम्तीमा ३ सय मेगावाट बिजुली खपत गर्न सक्छ । देशका विभिन्न सिमेन्ट उद्योगहरूमा रासायनिक मल कारखाना स्थापना गर्ने हो भने सम्पूर्ण कच्चा पदार्थ स्वदेशी नै हुने हुँदा देशकै अर्थतन्त्रको श्रीवृद्धि हुनेछ । तसर्थ, लगानी बोर्डले तत्काल बिजुलीबाट उत्पादन हुने उपक्रममा लागिहाल्नुपर्छ । 
 



Author

थप समाचार