सम्पादकीय : बडादसैंको शुभकामना
विश्वव्यापी महामारी कोभिड–१९को सन्त्रासबीच नेपालीहरुको महान चाड विजया दशमी सुरु भएको छ । जमघट, ठूलाबडासँग आर्शिवाद लिने र रमाइलो गर्ने पर्व पनि हो । विगतमा जसरी दसैं हर्षाेल्लासमा मनाइयो, त्यसलाई विस्मृतिमा राख्दै यो वर्ष नेपालीहरुले पृथक् तवरबाट मनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
मुख्यतः भीडभाड र भेटघाटका कारण संक्रमण बढ्ने हुँदा विगतभन्दा फरक तवरले यस महान् चाडमा विशेष सजगता र सतर्कता अपनाउनैपर्ने स्थिति छ । अर्थात् हामी जहाँ छौं त्यही बसेर दसैं मनाऔं ।
‘बाँच र बाँच्न देऊ’ सिद्धान्तमा आधारित रहेर ‘जीउ रहे घ्यू खान पाइन्छ’ भनेजस्तै अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण सवाल स्वास्थ्यको हो । दसैं तिहारजस्ता पर्वमा मानिसहरुको आउजाउ हुने, शहर, बजारमा भीडभाड हुने, गाउँदेखि शहरसम्म र शहरदेखि गाउँसम्म टीका थाप्ने, आशिर्वाद लिने पुरानो चलन यसपालिका निम्ति ‘निलम्बन’ गर्नैपर्नेछ ।
कोभिड–१९ कै कारण अर्थतन्त्र संकुचनमा गएको छ राष्ट्रदेखि नागरिकसम्मका । कोभिडका कारण व्यापार–व्यवसाय चौपट छन् । कैयौँ मानिस बेरोजगार भएका छन् । दसैंसँगै जागिरले आकर्षक पेस्की प्राप्त गर्थे । यसपालि सरकारी कर्मचारीबाहेक दसैं पेस्की पाउने थोरै मात्र भाग्यमानी व्यक्ति होलान् । दसैं पेस्की त परैजाओस्, पुरा तलबसमेत नभएको स्थितिबीच दसैं खल्लो हुने निश्चित छ ।
सरकारले कोरोनाको परीक्षण र उपचारमा नागरिकले नै पैसा तिर्नुपर्ने उर्दी जारी गरिसकेको सन्दर्भमा स्वास्थ्यको हेरचाह र सतर्कता थप अपरिहार्य भएको छ । अस्पतालमा त्यसै पनि बेड, अक्सिन र औषधि पाउन छाडिसकेको छ । कोरोना समुदायस्तरमै पैmलिसकेको र पूर्व सतर्कताबाहेक राज्यले केही गर्ला भन्ने अपेक्षा नगरे पनि हुने भइसकेको छ । तसर्थ दसैंलाई घरभित्रै सीमित गरी कोराना संक्रमित हुनबाट जोगिनु नै पहिलो कदम हुन पुगेको छ ।
निश्चय नै हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कृति हामीहरुका अमूल्य निधि हुन् । राष्ट्रका सम्पत्ति हुन् । वर्षदिनभरि दुःखजिलो गरेर दुई छाक आनन्दपूर्वक खान, मान्यजनबाट आशिर्वाद लिने नेपालीहरुको परम्परा हो । यो परम्परालाई युगौँदेखि जीवन्त राखिंदै पनि आएको हो । तर, यसपालि आमनेपालीको प्रथम अभिभारा र दायित्व भएको छ— कोरोनालाई परस्त गर्ने ।
हालसम्म यसको औषधि र खोप नबनिसकेकाले संक्रमित हुन जोगिने र संक्रमण नफैलाउने नै यसको उपचार हो । यो परिवेशमा आमनेपालीले घरमै बसी दसैं मनाउनुको विकल्प देखिँदैन ।
असत्यमाथि सत्यको विजय भएको दिनका रुपमा दसैंलाई लिने गरिन्छ । हाम्रो समाजमा अभैm पनि अन्याय र अत्याचार व्याप्त छ । अन्यायमाथिको विजय नेपाली जनताले अभैm पनि प्राप्त गर्न सकेका छैनन् । नेपाली समाज अझै पनि थिचोमिचो र अन्यायमा पिल्सिन बाध्य छन् । यो अन्यायमाथिको विजय प्राप्त गर्न धेरै नेपालीले शहादत प्राप्त गरिसके ।
समाजभित्र गडेर रहेको अन्यायमाथि विजय प्राप्त गर्न नेपालीले अझै पनि धैर्य गर्नुपर्ने देखिन्छ । यसका लागि नवदुर्गा भवानीले नेतालाई सद्बुद्धि दिउन् र नेपालीहरुलाई धैर्य गर्न सक्ने क्षमता । विजया दशमीको उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदातामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया