शिक्षा

उपेक्षामा शिक्षा: अझै तीन महिनासम्म पाठ्यपुस्तक समाउन पाउने छैनन् विद्यार्थी

इकागज |
जेठ ५, २०७९ बिहिवार १२:८ बजे

फाइल तस्‍बिर

काठमाडौँ - सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचक्राइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीलाई कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । 

कक्षा ४, ७ र ९ मा सरकारले नयाँ पाठ्यपुस्तक लागू गरेको छ । तर अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौल छ । 


सरकार स्थानीय निर्वाचनको तयारीमा लाग्दा र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्दा जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन् । 

अबका ३ महिनासम्म पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको उनीहरूको भनाइ छ । विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्रयाइँ गरेर लाखौँ बालबालिकाहरूको भविष्यमा अन्योलमा पारेको आरोप लगाए । प्रधानाध्यापक कँडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरू नराखिएकोले विद्यार्थीले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए । 

पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरूका पुस्तक मागेर नयाँ विद्यार्थीहरूलाई दिने योजना विद्यालयको योजना छ । तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा 'सफ्ट कपी' डाउनलोड गरी विद्यार्थीहरूलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने उनले बताए । 

शहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरे पनि दूरदराजका क्षेत्रहरूमा यसो गर्न सम्भव छैन । जसकारण पनि शिक्षविद्हरूले आगामी दसैँसम्म दुर्गमका विद्यार्थीहरूले पाठ्यपुस्तकविना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। प्रधानाध्यापक कँडेलले कक्षा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तकहरू लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्यापन गराउन समस्या भएको उनले बताए ।

‘सरकारले जेठ ५ गतेबाट पठनपाठन सुरु गर्न भनेको थियो । हामीले जेठ ५ गतेदेखि नियमित पठनपाठन गर्ने योजना बनाएका थियौँ,' उनले भने ,'कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छैन ।  हामी अन्योलमा छौँ । डेढ/दुई महिना ढिलो हुन्छ भनेर जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भनेको छ भनेर पुस्तक पसलेहरू भन्नुहुन्छ । कक्षा ४, ७ र ९ को भने यसपालि नयाँ किसिमको पाठ्यपुस्तकहरू लागू भएको छ । त्यो बाहेकका अन्य कक्षाहरूमा अगाडि पढेका विद्यार्थीहरूको पुस्तक मागेर पठनपाठन गराउने सोच बनाएका छौँ ।’

सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचेक्रयाइँ गरेको प्रधानाध्यापक कँडेलको आरोप छ। प्रधानाध्यापक कँडेलले सरकारले जनक शिक्षा सामग्रीलाई दबाव दिएर भए पनि पाठ्यपुस्तक चाँडो छपाउने र विद्यार्थीको हातमा पाठ्यपुस्तक पाउने स्थिति सिर्जना गर्न आग्रह गरे । न्युन एजेन्सी नेपाल


Author

थप समाचार
x