शिक्षा

बैतडीमा अझै पुगेनन् पाठ्यपुस्तक

इकागज |
असार ४, २०७९ शनिबार १५:४५ बजे

बैतडी - बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरू भइसकेको भए पनि एक महिना बढी भइसक्दा समेत पाठ्यपुस्तक पुग्‍न सकेको छैन ।    

बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजारमात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीहरूमा विनापुस्तक पढाइ गर्नुपर्ने बाध्यता छ ।  


विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । नयाँ शैक्षिकसत्रको पढाइ सञ्‍चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ । उनले भने, 'विद्यार्थी संख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनु पर्ने बाध्यता छ ।' 

स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्‍ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । उनले भने, 'कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी संख्याका आधारमा आइपुगेको छैन । पाठ्यक्रम हेरेर पठनपाठन सञ्‍चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौँ ।'

बैतडीमा ५४० सामुदायिक विद्यालय छन् । रासस


Author

थप समाचार
x