शिक्षा

उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई चैतन्य एकेडेमीको बधाइ तथा शुभकामना

इकागज |
असार ११, २०७९ शनिवार २१:४७ बजे

काठमाडौँ- चैतन्य एकेडेमीले लोकसेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ ।

एकेडेमीको कार्यालय नयाँ बानेश्वरमा आयोजित एक समारोहबीच उनीहरूलाई शुक्रबार बधाइ तथा शुभकामना प्रदान गरिएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव गोपीनाथ मैनाली र एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले ढाकाटोपी, खादामाला र टीका लगाएर बधाइ ज्ञापन गरेका हुन् ।


चैतन्यले सहसचिव र उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई यसअघि पनि सम्मान गर्दै आएको थियो । आन्तरिक र खुल्ला प्रतिस्पर्धाबाट सहसचिव, उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई बधाइ ज्ञापन गरिएको यो चैतन्यको २८औं श्रृंखला भएको चैतन्यका कार्यकारी अधिकृत जोशीले बताए । उनले विभिन्‍न सेवा समूहबाट सहसचिव र उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई आफूहरूले बधाइ ज्ञापन गर्दै आएको जानकारी दिए ।

सहसचिव, उपसचिव, शाखा अधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङलगायत विभिन्‍न क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउँदै सहभागी उपसचिवहरूले चैतन्यको उक्त कार्यको प्रशंसा गरेका थिए । उनीहरूले चैतन्यले व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको भन्दै तारिफ गरेका हुन् । चैतन्यको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट गुणस्तरले नै उत्कृष्ट नतिजा दिन सफल भएको उनीहरूको भनाइ थियो ।

'तयारी कक्षामा हामीले केवल परीक्षामा लेखिने प्रश्नको उत्तर मात्र नभई सार्वजनिक प्रशासनका बहुआयामिक पक्षहरूलाई स्थानीयदेखि विश्वव्यापीकरण भएका सैद्धान्तिक र व्यावहारिक पक्षहरू बुझ्‍ने अवसर प्राप्त गरेका छौं। चैतन्यले कक्षा सञ्चालन गर्दा यी विभिन्‍न पक्षमा ध्यान दिने गरेको छ', कार्यक्रमका एक सहभागीले भने ।

चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्‍न पेसामा संलग्‍न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत दश वर्षदेखि काम गर्दै आइरहेको छ ।

आयोगका पूर्व अध्यक्ष मैनालीले देशको सार्वजनिक प्रशासनको भावी पुस्तालाई नैतिकवान्, चरित्रवान् र उच्च जिम्मेवारसहित देशको सार्वजनिक प्रशासनको छविलाई उचाइमा पुर्‍याउने काममा सक्रिय रहन सुझाव दिएका थिए । उनले आफ्ना प्रशासनका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव पनि साटेका थिए ।

यस्तै पूर्वसचिव मैनानीले उच्च मर्यादा र नैतिकतामा रहेर सेवा प्रवाह गर्न सुझाव दिएका थिए । चैतन्यले कोरोना महामारीपछि लोकसेवाको तयारी गरिरहेका उम्मेदवारहरूलाई मध्यनजर गर्दै प्रत्येक शनिबार नि:शुल्क रूपमा कक्षाहरू सञ्‍चालन गर्दै आएको छ । असार ११ गते चैतन्यले नि:शुल्क रूपमा १०१ औं शनिवारीय श्रृंखला सञ्‍चालन गर्ने जोशीको भनाइ छ ।


Author

थप समाचार
x