शिक्षा

विपन्न प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा

इकागज |
असार १९, २०७९ आइतबार १५:३२ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन)ले अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । 

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आइतबार एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहबीच हस्ताक्षर भएको हो । 


एन प्याब्सन आबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती संघले सिफारिस गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कार्यक्रममा एन प्याब्सनका सहअध्यक्ष न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको र श्रीमती संघले सिफारिस गर्नुपर्ने बताए ।  

संघका अध्यक्ष सिंहले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताइन् । तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उनले जानकारी दिइन् । 

संघले यसअघि स्वास्थ्य उपचारमा छुट पाउने सम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ । 


Author

थप समाचार
x