हलेसी तुवाचुङमा तिलुङ भाषाको पठनपाठन सुरू
खोटाङ- हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ । कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक-सत्रदेखि कक्षा १ बाट पठनपाठन सुरु गरिएको हो ।
तिलुङ भाषाको पठनपाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्यालयलाई हस्तान्तरण गरेका छन् । तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो ।
पहिलो चरणमा वडा नं ३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीबाट पठनपाठन सुरु गरिएको तिलुङ राई बुगाकिमले जनाएको छ । चालु शैक्षिक-सत्रबाट च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि पठनपाठन सुरु गर्ने तयारी गरिएको जनाइएको छ ।
पिपलटार आधारभूत विद्यालयमा पाठ्यपुस्तक पुर्याउन बाँकी छ । लोपोन्मुख बनेको भाषाको संरक्षण र सम्वर्द्धनका लागि तिलुङभाषी विद्यार्थीको बाहुल्य रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रूपमा समावेश गरिएको हो ।
राईमध्ये कम जनसङ्ख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङभाषी विद्यार्थीको बाहुल्य भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठनपाठन हुने नगरपालिकाले जनाएको छ । विसं २०७० जेठ १३ र १४ गतेको काठमाडौँमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको वर्ण निर्धारण तथा पहिचान गरेको थियो ।
वर्ण निर्धारणका क्रममा तिलुङ भाषाका व्यञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण छ वटा मात्र रहेको पत्ता लागेको थियो । कतिपय एक वर्णले अर्को वर्णको काम गर्ने गरेका कारण वर्ण सङ्ख्या कम पाइएको हो ।
तिलुङ भाषामा त, थ, ढ, ध, ण, श, ष, क्ष, त्र, ज्ञ लगायतका व्यञ्जन वर्ण तथा ई, ऐ, औ, ऋ, अं लगायतका स्वर वर्णहरु प्रयोगमा नआउने गरेको बुगाकिमले जनाएको छ । प्रायः राई भाषामा घ, झ, ढ, भ, श, ष, क्ष, त्र, ज्ञ लगायतका वर्णहरु नभेटिने र प्रयोगमा नआउने भाषाविद् बताउँछन् ।
यस्तै आफ्नो भाषालाई पुस्तकमा दस्तावेजीकरणका लागि २०७१ वैशाख तेस्रो साता च्यास्मिटारका तिलुङभाषी बूढापाकालाई काठमाडौँमा लगेर तिलुङ भाषाको शब्द सङ्कलन गरिएको थियो । तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चाबहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो ।
खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुङ्गाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौँलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ । खोटाङमा बूढापाकाको अन्त्यसँगै तिलुङ राई भाषाको अस्तित्व सङ्कटमा पर्दै गएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया