शिक्षा

प्राध्यापकले अल्छी गरेर पहिलेकै प्रश्नपत्र दिँदा प्रश्नपत्र हुबहु : त्रिवि

इकागज |
असार ३०, २०७९ बिहीबार १६:२४ बजे

फाइल फोटो

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए ।  

`प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए`, उनले भने, `प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।`


उहाँले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको बताए । त्रिविले प्रश्नपत्र हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

सोही छानबिन समितिको सिफारिसमा तीन जना प्राध्यापकलाई कारबाही गरिएको उनले बताए । त्रिविमा मानविकी संकायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

यस्तै व्यवस्थापन संकयको स्नातक तह बिबीए छैटौँं सेमेष्टरको यही असार २२ गते र असार २५ गतेको प्रश्नपत्र पनि हुबहु पाइएको छ । यस्तै मोर्डन नेपाल कलेजको तीन महिनाअघि सोधिएको प्रश्नपत्र असार २२ गतेको परीक्षामा र शंकरदेव क्याम्पसले लिएको प्रिबोर्ड परीक्षामा सोधिएको प्रश्नपत्र यही असार २५ गते बिबीएलाई सोधिएको थियो । 

`ती उपप्राध्यापकलाई प्रश्नपत्र बनाउन दिँदा उहाँले मोर्डन कलेजमा नै सोधिएको प्रश्नपत्र दिनुभयो`, उनले भने, `यसरी तीन महिनाअघि मोर्डन कलेजको आन्तरिक परीक्षामा सोधिएको प्रश्नपत्र त्रिविको परीक्षामा पनि सोधिएको पाइयो ।` 

उनले समाजिक सञ्जालले गर्दा हुबहु प्रश्नपत्रबारे जानकारी प्राप्त भएको भन्दै अबदेखि हस्तलिखित प्रश्नपत्र माग्ने बताए । `प्राध्यापकले प्रश्नपत्र बनाउनुभन्दा अर्काको किताबबाट सार्ने गरेको पाइएको छ`, उनले भने, `अबदेखि हामी हस्तलिखित प्रश्नपत्र माग्ने छौँ ।`

त्रिविका उपकुलपति डा. बास्कोटाले प्रश्नपत्रका हुबहु सम्बन्धमा त्रिविले प्राडा भोजराज अर्यालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको बताए । 

समितिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हुबहु प्रश्नपत्रमा संलग्नलाई कारबाही गरिने बताए । `हुबहु प्रश्नपत्र अल्छीपनाले होइन, गल्ती गरेका हुन्”, उनले भने, `हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्नुपर्दछ ।` रासस
 


Author

थप समाचार
x