शिक्षा

अनेरास्ववियु र त्रिविबीच सहमति, तोडियो आमरण अनसन

इकागज |
साउन २, २०७९ सोमबार २०:५७ बजे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयलाई प्राज्ञिक मर्यादाभित्र राख्न विभिन्न मागहरू राखेर आमरण अनसनमा बसेका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)  र त्रिभुवन विश्वविद्यालयबीच सहमति भएको छ । 

निरन्तरको वार्ता र संवादपछि अनेरास्ववियुले राखेका मागहरू त्रिविले पूरा गर्ने सहमति भएपछि  सोमबार आमरण अनसन तोडिएको हो । उनीहरूका माग त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको रोहवरमा सहमति भएको छ । 


गत असार २८ गतेदेखि त्रिविको प्राज्ञिक मर्यादालाई थप सुदृढ बनाउन अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण अनसनमा बसेका थिए । 

त्रिविले प्राध्यापक पशुपति अधिकारीको संयोजकमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो भने अनेरास्ववियुले महेश श्रेष्ठको संयोजकमा चार सदस्यीय वार्ता टोली बनाएको थियो । 

यस्ता छन् सहमतिका बुँदा

१. उच्चशिक्षा अन्तर्गत स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक श्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन र नियमित तर्फ लैजाने तथा तत्तत् तहको निरन्तर पाठ्यक्रम परिमार्जनकालागि आवश्यक सुझाव दिन पन्ध्र दिन भित्र कार्यदल गठन गरी

उक्त कार्यदलको प्रतिवेदन २०७९ पौष मसान्तसम्म कार्यान्वयन गर्ने ।

२. विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेत्तृत्वसंग स्व.वि.यु. निर्वाचनको सन्दर्भमा भाद्र मसान्तसम्म छलफल गर्ने र नेपाल सरकारसँग समन्वय गरी निर्वाचन गर्ने

३. सेमेस्टर प्रणाली अन्तर्गत स्नातक, स्नातकोत्तर तहको विभिन्न विषयको प्रश्नपत्र निर्माणका सम्वन्धमा देखिएको समस्याबारे सम्बन्धित डीन कार्यालयको परीक्षावोर्ड, केन्द्रीय परीक्षाबोर्ड र त्रि.वि. कार्यकारी परिपदले समेत मौजुदा कानून बमोजिम कार्वाही गरेकोले उक्त कार्वाही तत्काल कार्यान्वयन गर्ने ।

४. हालै मानविकी तथा सामाजिकशास्त्र तथा व्यवस्थापन संकाय लगायतका परीक्षा प्रणालीमा देखिएका कमिकमजोरी हटाउन परीक्षा प्रणालीलाई थप व्यवस्थित र नीतिगत सुधार गर्न तथा परीक्षा व्यवस्थापनलाई मर्यादित बनाउन कसुर अनुसार थप सजायको व्यवस्था गर्न उच्चस्तरीय समिति गठन गरी आवश्यक कार्यविधि तयार गर्ने र त्रि.वि. कार्यकारी परिषदद्वारा मिति २०७९ / ३ / २७ गते गठित समितिको छानविन प्रतिवेदन कार्यान्वयन गर्ने

५. त्रिभुवन विश्वविद्यालयले वार्षिक शैक्षिक कार्य तालिका बनाई सार्वजनिक गर्ने र सोही अनुसार पठन पाठन, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने ६. त्रिभुवन विश्वविद्यालय सेवा आयोगले वार्षिक कार्यतालिका तयार गर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन गरी नियमित रुपमा खुल्ला विज्ञापन गर्ने कार्यकालागि सिफारिस गर्ने

७. परीक्षा नियन्त्रण कार्यालयमा TUEMIS वढीमा ६ महिना भित्र कार्यान्वयन गर्ने साथै विकेन्द्रिकरणको अवधारणा अनुरुप

सम्बन्धित क्षेत्रिय कार्यालयहरु मार्फत रजिष्ट्रेशन, परीक्षा फारम, उत्तर पुस्तिका परीक्षण व्यवस्थापन तथा माइग्रेशन, प्रोभिजनल ट्रान्सकृप्ट, मूल सर्टिफिकेट प्रिन्ट र वितरण लगायतका कार्यहरु बढिमा ६ महिना भित्र कार्यान्वयन गर्ने । ८. कानून संकायतर्फ BA LLB कार्यक्रम सञ्चालन गर्न इच्छुक आंगिक क्याम्पसहरुलाई पठन पाठन गर्न आवश्यक सहजीकरण गर्ने।

९. विश्वविद्यालयका विभिन्न प्रशासनिक पदमा उचित पद उपयुक्त व्यक्ति भन्ने अवधारणा कार्यान्वयन गर्न सम्बन्धित पदको नियुक्ति गर्दा सम्बन्धित इच्छुक व्यक्तिको प्रस्ताव (Need of Interest) प्रस्तुत गर्न लगाई मूल्याइनको आधारमा नियुक्ति दिने व्यवस्था कार्यान्वयन गर्ने ।

१०. त्रिभुवन विश्वविद्यालयको सम्पति माथिको अतिक्रमण रोक्न सरोकारवालासँग समेत छलफलगरी केन्द्रीयकार्यालय सहित सम्पूर्ण निकायहरुले चल, अचल सम्पतिको आवश्यक मुल्याइन र संरक्षण गर्न पन्ध्र दिनभित्र कार्यदल बनाई ६ महिनाभित्र ६ अद्यावधिक र अभिलेखिकरण गर्ने ।
 


Author

थप समाचार
x