शिक्षा

एलकेजीदेखि नै ट्युसन : स्कुल र अभिभावकको मिलेमतोमा बालबालिकालाई ‘कैद’

उपेन्द्र अर्याल |
साउन १०, २०७९ मंगलबार १५:११ बजे

काठमाडौँ– भक्तपुर, गठ्ठाघरका सचिन खड्का (१४) काठमाडौँ मोडेल कलेजका विद्यार्थी हुन् । कक्षा ९ मा अध्ययनरत सचिनलाई दैनिक बिहान ८ बजेबाट स्कुल जाने हतारो हुन्छ । स्कुलमा करिब ४ बजेसम्म पढ्छन् । 

तर, छुट्टी हुनेबित्तिकै उनी घर आउन पाउँदैनन् । छुट्टीपछि एक घण्टाको ट्युसन पढ्ने गरेको उनी बताउँछन् । बेलुका स्कुलबाट फर्केपछि आफ्नो व्यक्तिगत कार्य गर्नेबाहेक उनीसँग अरु समय बाँकी रहँदैन ।


भोलिपल्ट बिहान उठेर चिया/पानी पिउँदा नपिउँदै उनलाई ‘होम ट्युसन’ पढाउन शिक्षक घरमै आइपुग्छन् । ट्युसन सक्दा–नसक्दै उनको स्कुल जाने समय भइसक्छ । दैनिक पढाइको यस्तो बोझले सुरुसुरुमा धेरै तनाव महसुस गरेको उनी बताउँछन् । ‘सुरु सुरुमा धैरै समय पढ्दा प्रेसर फिल भएको थियो,’ उनले भने, ‘अहिले यसरी पढ्ने बानी भयो ।’ तर, ट्युसन पढ्न थालेपछि कुनै पनि विषयको समस्या आफैँ समाधान गर्नु नपरेको उनी बताउँछन् । ‘स्कुलको होमवर्क गर्न नसके घरमा पढाउने सरलाई सोध्छु,’ उनले भने, ‘स्कुल र घर दुवैतिर पढ्दा धेरै सजिलो भएको छ ।’

अहिले उनी कुनै पनि विषय शिक्षकसँग हुँदाबाहेक आफैँपढ्दैनन् । सामान्य समस्या भएमा पनि उनी शिक्षकलाई सोधिहाल्छन् । ‘आफैँ पढ्ने त समय हुँदैन,’ उनले भने, ‘खाली समयमा अलिअलि सरले पढाउनुभएको देहोर्‍याउँछु ।’

काठमाडौं, बानेश्वरका रविन अधिकारी (१५) अहिले स्मृति माध्यमिक विद्यालय, कलंकीमा पढ्छन् । उनी कक्षा १० का विद्यार्थी हुन् । उनको स्कुल समय बिहान ८ बजेदेखि ४ बजेसम्म हो । यसबाहेक उनी विद्यालयमा १ घण्टाको अतिरिक्त कक्षा पनि पढ्छन् ।

घरमा पनि उनका अभिभावकले ट्युसनको व्यवस्था गरिदिएका छन् । स्कुल र घरमा गरेर करिब १० घण्टा पढ्छन् उनी । तर, सबै समय शिक्षकसँग मात्र पढ्ने गरेको उनी बताउछन् । ‘ट्युसन पढ्न थालेपछि खाली समय कम हुन्छ,’ उनले भने, ‘खेल्ने रमाइलो गर्ने समय हुन्न । बचेको समयमा पनि स्कुल र ट्युसनको काम गर्दै ठिक्क हुन्छ ।’ 

भक्तपुर, शंकराचार्य गुरुकुलमा पढ्छन्, पंकज तिमल्सिना (१५) । उनी पनि अहिले कक्षा १० मा पढ्दैछन् । उनले ट्युसन पढ्न थालेको करिब चार वर्ष भयो । उनका बुवा आमाले राम्रो अंक ल्याउनुपर्छ भनेर ट्युसन पढ्न लगाएको उनी बताउँछन् । सुरुमा स्कूल र ट्युसनको पढाइले उनलाई बोझ महसुस भएको थियो । भन्छन्, ‘जति बेलै पढ्दा–पढ्दा दिक्कै हुन्छु । अन्य केही सोच्नै मन लाग्दैन ।’ 

स्कुल र ट्यूसनको पढाइले उनलाई खेल्ने र अन्य सृजनात्मक काम गर्ने फुर्सद छैन । पढाइमा पनि उनी शिक्षकमा पूरै निर्भर भएका छन् । सचिन, रविन र पंकज जस्तै काठमाडौँ बानेश्वरका विवश चापागाईं (१२) पनि विद्यार्थी हुन् । उनी अहिले काभ्रेको मल्पी इन्टरनेसनल स्कुलमा कक्षा ८ मा पढ्छन् । उनी छुट्टीमा केही समयका लागि घर आउँदा पनि आमा–बाबाले ट्युसनको व्यवस्था गरिदिएका छन् । 

उनका आमा–बुबा दुवैजना आ–आफ्नो काममा व्यस्त हुन्छन् । आफूले सधैँ समय दिन नभ्याएका कारणले ट्युसन पढाउनु परेको उनका अभिभावकको भनाइ छ । छुट्टीमा पनि ट्युसन पढ्नुपर्दा उनलाई भने असहज महसुस भइरहेको हुन्छ । ‘छुट्टीको समयमा पनि ट्युसन पढ्नुपर्दा दिक्क लाग्छ,’ उनले भने, ‘छुट्टीमा केही समय अभिभावक समय बिताउन आएको हुन्छु । तर, यहाँ नि बुवा आमा भन्दा बढी शिक्षकसँगै बिताउनुपर्छ ।’ 

सचिन, रविन, पंकज र विवश जस्तै अधिकांश बालबालिका आफ्नो स्कुलको पढाइबाहेक पनि ट्युसनमै व्यस्त हुन्छन् । स्कुलमा दैनिक ६–७ घण्टा पढेपछि पनि उनीहरूले थप ३–४ घण्टाको अतिरिक्त कक्षा लिन्छन् । बालबालिकालाई पढाइको यति धेरै बोझ बोकाउनु उनीहरूको आवश्यकताका हो कि बजारको लहर÷लहड ? 

अभिभावकमा ‘ए प्लस’को आतंक
अहिलेका अधिक विद्यार्थी अभिभावकको ए प्लसको मोहका कारणले ट्युसन पढिरहेको शिक्षकहरू बताउँछन् । बेस्ट ग्रुप भिजन इङलिस स्कुल काठमाडौंका सहायक प्रधानाध्यापक सुनिल केसी अहिलेको पढाइ एउटा प्रमाणपत्रमा मात्र केन्द्रित हुँदै गएकामा चिन्ता व्यक्त गर्छन् । ‘अहिलेका अभिभावकहरूलाई जसरी भए पनि छोरोछोरीको परीक्षामा राम्रो ग्रेड चाहिएको छ,’ उनले भने, ‘बच्चाको व्यवहार कस्तो छ ? साथीसँगको व्यवहार कस्तो छ ? कत्तिको सिर्जनशील छ भन्ने कुरालाई हेर्दैनन् ।’ 

अभिभावकलाई आफ्ना छोराछोरीले जसरी भए पनि ‘ए प्लस’ ल्याएमा सन्तुष्ट हुने उनी बताउँछन् । अभिभावकको यो अंक मोहका कारणले ट्युसनको माग बढेकोे उनको ठम्याइ छ ।

अभिभावक आएर अनुरोध गरेकै कारण स्कुलले पनि ट्युसन राख्न बाध्य हुनुपरेको उनको अनुभव छ । ‘अभिभावकहरू आफ्नो काममा व्यस्त भएर पनि बच्चालाई समय दिन भ्याउँदैनन्,’ उनले भने, ‘त्यस्ता अभिभावकहरू आएर सर ट्युसन राखिदिनुहोस् भन्दै अनुरोध गर्नुहुन्छ ।’ 

अभिभावकले आफ्ना बच्चालाई घरमा केही समय दिने हो भने ट्युसनको आवश्यकता नभएको उनी दाबी गर्छन् । ट्युसन बच्चाका लागि अनावश्यक लोड रहेको उनी स्वीकार गर्छन् । ‘कतिपय अभिभावक सिधै आएर होस्टल हुँदैन सर भन्नुहुन्छ,’ उनले सुनाए, ‘उहाँहरूको उद्देश्य बच्चालाई जिम्मा लगाउन पाए आफू स्वतन्त्र हुन्छु भन्ने हुन्छ ।’ 

यति धेरै समय विद्यार्थीलाई पढाउँदा उसमा अन्तर्निहित क्षमतामा पनि ह्रास आउने उनी बताउँछन् । ट्युसन नपढाउने स्कुललाई अभिभावकले राम्रो मान्न छाडेको उनको भनाइ छ । ‘अभिभावकले फलानो स्कुलले ट्युसन राखेको छ, तपाईंहरूले पनि राख्नुहोस भन्नुहुन्छ,’ उनले भने, ‘ट्युसन नराखेको स्कुलहरूले पनि अहिले अभिभावकको दबाबले राख्न बाध्य छन् ।’  

बेस्ट ग्रुपका सुनिले केसीले भनेजस्तै शंकर नेसनल इङ्लिस स्कुल, ठिमीका प्रधानाध्यापक शरण चौलागाईँ पनि अभिभावकको अंक मोहले विद्यार्थीलाई अनावश्यक ट्युसनको बोझ बोकाइएको बताउँछन् । बच्चालाई ट्युसन पढाउनुपर्छ भन्ने कुराको खुलेरै विरोध गर्छन् उनी । ‘आम अभिभावक आएर फलानाले ९० अंक ल्यायो, मेरोले किन ल्याएन भन्नुहुन्छ,’ उनले भने, ‘छोराछोरीले अलिकति कम अंक ल्याएमा ट्युसन राखिदिन पर्यो भनिहाल्नुहुन्छ ।’

अहिलेका अभिभावकलाई आफ्ना नानीहरूमा निहित  मौलिक क्षमताको कुनै परवाह नरहेको उनी बताउँछन् । अभिभावकहरू बच्चाले नर्सरीदेखि नै पढेन भनेर ट्युसन राख्न तत्पर भएको उनी देख्छन् । ‘विद्यार्थी स्कुलमा पढाएपछि उसलाई आफैँ अभ्यास गर्ने समय दिनुपर्छ,’ उनले भने, ‘विद्यार्थीलाई सधैँ पढाइरहँदा उसको आन्तरिक क्षमतामा ह्रास आउँछ ।’

ट्युसनले गर्दाे शिक्षकप्रति विद्यार्थीको निर्भरता बढ्ने गरेको उनी बताउँछन् । विद्यार्थीहरूलाई सानै कक्षादेखि ट्युसन राख्दा माथिल्लो कक्षामा गएर संघर्ष गर्ने बानी पनि हराउने उनको तर्क छ । 

बजारको लहड

विद्यार्थीलाई आवश्यकताबिना अहिले ट्युसन पढाउने संस्कृति मौलाउँदो छ । पछिल्लो समय ट्युसन पढाउनुपर्ने/पढ्नुपर्ने बजारको एउटा लहड पनि रहेको देखिन्छ । अहिले ट्युसन पढाउने शिक्षकको पनि बजारमा माग अत्यधिक बढिरहेको देखिन्छ । भक्तपुर, मध्यपुरथिमिका शिक्षक कुवेर भुसाल काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा ट्युसन पढाउन पुग्छन् । अभिभावकहरूले एल. के.जी.देखिका विद्यार्थीलाई ट्युसन पढाइदिन अनुरोध गर्ने गरेको उनले बताए । ‘अहिले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई पढाइरहेको छु,’ उनले भने, ‘एक जना अभिभावकले एल.के.जी.को विद्यार्थीलाई पनि पढाउन भन्दै थिए । तर, त्यो बच्चालाई उमेरअनुसारको धेरै बोझ हुने भएकाले मैले पढाइनँ ।’ 

अहिले ट्युसन संस्कृति बढ्नुका दुई–तीनवटा कारण देख्छन् उनी । पहिलो कारण अभिभावकको स्वतन्त्रतालाई मान्छन् । ‘अभिभावक आप्mना नानीहरूलाई समय दिन भ्याउँदैनन्,’ उनले भने, ‘त्यसैले ट्युसन पढाएर आफ्ना छोराछोरीबाट स्वतन्त्र हुन खोज्छन् ।’ अभिभावकले घरमा छोराछोरीलाई समय दिने हो भने ट्युुसनको खासै आवश्यकता नरहेको उनको तर्क छ । 

दोस्रो कारण आफ्ना छोराछोरीले राम्रो अंक ल्याऊन् भन्ने चाहना भएको उनी मान्छन् । तेस्रो कारण भने उनी बजारको लहडलाई मान्छन् । अरुले ट्युसन पढाएको देखेर पनि पढाउनुपर्ने रहेछ भन्ने लहड चलेको उनको भनाइ छ । ‘कतिपयले अभिभावकले ट्युसनलाई अहिले आप्mनो प्रतिष्ठाका रुपमा पनि बुझ्ने गरेका छन्,’ उनले भने, ‘फलानोले त पढाइरहेको छ, म नसक्ने हो र भनेर पनि पढाउँछन् ।’ 

सिर्जनात्मकतामा ह्रास

ट्युसनलाई विद्यार्थीको सिर्जनात्मकतासँग जोडेर हेर्दा यसलाई उचित मान्न नसकिने विज्ञहरू बताउँछन् । ट्युसन पढ्ने संस्कृतिलाई रोगका रुपमा लिन्छन् शिक्षाविद् विद्यानाथ कोइराला । यो रोग नेपालको मात्र नभएर विश्वभरकै समस्याको रुपमा रहेको उनको भनाइ छ । 

नेपालको सन्दर्भमा ट्युसन पढ्ने लहड अभिभावकको स्वतन्त्रता, अभिभावकको प्रतिष्ठा, साथीको संगतसँग जोडिएको अनुमान लगाउँछन् उनी । हाम्रो शिक्षण पद्धतिले पनि विद्यार्थीलाई कक्षा कोठाबाहेक कक्षा लिन बाध्य बनाउने गरेको उनले बताए । तर यो ढंगको पढाइले विद्यार्थीको सिर्जनात्मकता गुमाइदिने उनको तर्क छ । ‘विद्यार्थी भनेका सर्जक हुन्,’ उनले भने, ‘ट्युसन पढ्ने परम्पराले विद्यार्थीलाई सर्जक होइन, घोक्ने बनाइदिन्छ । विद्यार्थीले घोकेर मात्र सीप सिक्दैनन् । हरेक व्यवहारबाट विद्यार्थीले सीप सिक्न सक्छन् भन्ने कुरा शिक्षकले सिकाउन सक्नुपर्छ ।’ 

बालबालिकालाई जति पढाइरहिएको छ, त्यति पढ्नुपर्ने आवश्यकता नरहेको उनको तर्क छ ।  ‘ट्युसनको रोगलाई बदल्न हाम्रो पढाउने शैली बदल्नुपर्छ,’ उनले भने, ‘किताबको पाठ र व्यवहारबाट सिकेको कुरा फरक हो भन्ने बुझाइ छ । त्यो हाम्रो बुझाइ भत्काउन सक्यौं भने हामीले ट्युसनको चिन्ता गर्नुपर्दैन ।’

मानसिक समस्या

विद्यार्थीहरूलाई विद्यालयबाहेक अतिरिक्त समयमा पनि अध्ययन गर्नमा जोड दिँदा धेरै मानसिक समस्या आउन सक्ने मनोविद्हरू बताउँछन् । अरुणिमा माध्यमिक विद्यालय, बौद्धका मनोसामाजिक परामर्शदाता क्षितिज लुंगेली मगरले उनको विद्यालयमा पनि पढाइको अत्यधिक बोझको कारणले गर्दा विद्यार्थीहरूमा विभिन्न मानसिक समस्या आउने गरेको बताए । ‘विद्यार्थीहरूलाई स्कुलबाहेक धेरै पढाइमा मात्रै केन्द्रित गराउँदा उनीहरूमा मानसिक समस्या देखिन सक्छ,’ उनले भने, ‘विद्यार्थीलाई पढ्न मात्र जोड दिनुहुन्न । उनीहरूलाई मनोरञ्जन लगायतका कामहरूमा पनि संलग्न गराउनु पर्छ ।’ 

उनीहरूको उमेर, रुचि र बालमनोविज्ञान नबुझी पढाइमा मात्र जोड लगाउँदा सिकाइ अर्थपूर्ण नहुने उनको दाबी छ । 
मनोविद् गोपाल ढकाल विद्यार्थीलाई पढ्न मात्र दबाब दिँदा उनीहरूलाई बोझ हुने बताउँछन् । ‘पढाइको बोझले उनीहरूले मनोरञ्जन लगायतका अन्य कुरामा उनीहरूको ध्यान जान पाउँदैन,’ उनले भने, ‘यसले गर्दा विद्यार्थीलाई पढाइप्रति बितृष्णा जाग्ने हुन्छ ।’

 विद्यार्थीहरूलाई स्कुल र घरमा धेरै समय पढाइमा केन्द्रित गर्दा उनीहरू निराश हुने, निद्रा नलाग्ने खाना नखाने, परीक्षादेखि डराउने जस्ता समस्याहरू देखापर्ने उनको भनाइ छ । विद्यार्थीलाई स्कुल समयभन्दा बाहिर ट्युसनमा शिक्षकसँगै मात्र पढाउँदा उसको आप्mनो सोच्ने क्षमतामा ह्रास आउने उनले बताए । ‘पढाइमा मात्रै जोड दिँदैमा विद्यार्थीहरूले राम्रो अंक ल्याउन सक्छन् भन्नु भ्रम हो,’ उनले भने, ‘पढाइसँगै अन्य कुराहरूलाई पनि सन्तुलनमा पनि राख्नुपर्छ ।’ 

विद्यार्थीको रुचि नबुझी कमजोर भनेर उसलाई जबर्जस्ती पढाउँदा मानसिक स्वास्थ्यमा असर पर्ने उनको तर्क छ । ‘विद्यार्थीको आवश्यकताअनुसारको मनोरञ्जनलगायतका विषयमा समय दिएर अध्ययन गराउँदा प्रभावकारी सिकाइ हुनसक्छ,’ उनले भने ।
(विद्यार्थीको अनुरोधअनुसार उनीहरूको नाम परिवर्तन गरिएको छ ।)


 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x