शिक्षा

संस्कार सिकाउने ‘अक्षरा स्कुल संस्करण’ सार्वजनिक

इकागज |
भदौ ५, २०७९ आइतबार १५:६ बजे

काठमाडौँ- काठमाडौंस्थित अक्षरा स्कुलले ‘अक्षरा स्कुल संस्करण’ पाठ्यपुस्तक सार्वजनिक गरेको छ । डा. राजु अधिकारीद्वारा लिखित पुस्तकलाई शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, प्रधानाध्यापक अञ्जु भट्टराई र लेखक डा. अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

आयुक्त थपलियाले नेपालका अधिकांश विद्यालयहरू विद्यार्थीलाई संस्कार सिकाउनबाट चुकिरहेकाले राम्रो अंक ल्याएर उत्तीर्ण गरेकाहरू पनि जीवनको परीक्षामा असफल भइरहेको तर्क गरे । ‘संसार बदल्ने हो भने पहिला आफू बदलिनुपर्छ । आफू बदलिन संस्कार जान्नुपर्छ । संस्कारसहितको शिक्षा हुनुपर्छ,’ उनले भने । 


डा. कोइरालाले पछिल्लो समय मानिसहरू आधारभूत मानवीय मूल्य बिर्सँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘विज्ञान छ, प्रविधि छ, भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।’

विद्यालय संस्थापक तथा प्रधानाध्यापक अञ्जु भट्टराईले अक्षराको मुख्य उद्देश्य संस्कारयुक्त शिक्षा दिनु रहेको कुरामा जोड दिइन् । संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएकाले नै आफूहरूले १२ वर्ष अगाडि अक्षरा स्थापना गरेको बताइन् । ‘हाम्रो विद्यालयको मिसनसँग यो पुस्तक मिल्ने रहेछ । त्यसै कारण हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौँ,' पुस्तक स्कुलको पाठ्यक्रममा राख्नुको कारण खुलाउँदै भट्टराईले भनिन्, 'अब संस्कारको बेग्लै पाठ्यक्रमसमेत बनाउने तयारी भइरहेको छ ।’

लेखक डा. अधिकारीले संस्कारसहितको शिक्षाले मात्र जीवन अर्थपूर्ण हुने उल्लेख गरे । आफ्ना सन्तानलाई राम्रो संस्कार दिनेबारे हरेक अभिभावक सचेत हुनुपर्ने उनको भनाइ छ । ‘जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिं दिनैपर्छ,’ उनले भने । 

संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौँ संस्कारी जस्ता विषय पुस्तकमा समेटिएका छन् । 


Author

थप समाचार
x