अनलाइन संस्कार कक्षालय शुभारम्भ
काठमाडौँ- बालबालिकालाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’ को शुभारम्भ गरिएको छ । सुसंस्कार र योगका अभियन्ता डा राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रान्सेली लेखक एवं विश्वकै खुसी व्यक्ति डा म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो ।
हरेक शनिबार र आइतबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म र दिउँसो २ः३० देखि ४ः३० बजेसम्म अनलाइनमार्फत बालबालिकाका लागि संस्कार कक्षालय सञ्चालन हुनेछ ।
शुभारम्भ कार्यक्रममा डा रिचार्डले शिक्षा लिनुको मुख्य उद्देश्य नै असल मानव बन्नुरहेको भन्दै असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्दत पुग्ने बताए ।
उनले आफ्ना मानिस र आफ्नै स्वार्थका लागि मात्र सोच्ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै अरुको खुसीमा आफ्नो खुसी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने बताए ।
गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागू गरेर मात्र संस्कार सिकेको अर्थ रहने बताए। संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सधैँका लागि अत्यावश्यक रहेको भन्दै डा महतोले संस्कार कक्षालयबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिए।
कार्यक्रममा अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै सुरु हुनुपर्ने बताइन् ।
शनिबारबाट सुरु भएको संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल–योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरु, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी व्यवहारलगायत विषयहरु समेटिने डा राजु अधिकारीले बताए । आधुनिक शिक्षा प्रणालीले कुनै पनि व्यक्तिलाई पेशागत सफलतामा पु¥याए पनि सुसंस्कार सिकाउन नसक्दा मानवीय मूल्य–मान्यताहरु नै सङ्कटग्रस्त बन्दै गएको उनको भनाइ छ ।
अभिभावकले आफ्ना छोराछोरीहरुलाई सानै उमेरदेखि असल संस्कार दिलाउन आवश्यक रहेको र त्यसका लागि संस्कार कक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
संस्कार प्रशिक्षक विमल कोइरालाले विषयगत ज्ञानले दिमागलाई शिक्षित गर्ने र संस्कारयुक्त ज्ञानले हृदयलाइ प्रशिक्षित गर्ने बताए ।
पहिलो चरणमा पाँचदेखि नौ वर्षसम्म, नौ वर्षदेखि १२ वर्षसम्म र १२ वर्षभन्दा माथिका गरी तीन समूहमा विभाजन गरी संस्कार शिक्षा, योग विज्ञान, जीवन व्यवस्थापन तथा वैज्ञानिक आध्यात्मिकता जस्ता विषयका विषेशज्ञहरुमार्फत नेपाली भाषी बालबालिकालाई अनलाइनबाट संस्कार कक्षा प्रदान गरिनेछ ।
यस कक्षालयमा विश्वका जुनसुकै स्थानमा वसोबास गर्ने नेपालीभाषी बालबालिकालाई अनलाइन कक्षामा समेटिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया