शिक्षा

एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सिन्धु अमेरिका सोसाइटीको नगदसहित सम्मान

इकागज |
भदौ २५, २०७९ शनिबार २०:४० बजे

खाडीचौर- सिन्धुपाल्चोक जिल्लामा जन्मिएर अमेरिकामा बसोवास गर्नेहरूको संस्था हो, सिन्धु युएसए वेलफेयर सोसाइटी अमेरिका । जसले सिन्धुपाल्चोकका विभिन्न भेगका अतिविपन्न १६ विद्यार्थीलाई निजी विद्यालयमा नि:शुल्क पढाउने व्यवस्था गरेको छ ।

युद्धका बेला पीडित बनेका तथा असहाय विद्यार्थी मध्ये तीन जनाले कक्षा १२ उत्तीर्ण गरिसकेका छन् । शैक्षिक विकासका साथै विपत्तिमा पनि सोसाइटीको योगदान छ । जुरेपहिरोमा परेका वनसाँघू माविको विद्यालय भवन निर्माण गरिदिएको सोसाइटी सिन्धुपाल्चोक जिल्लाबाट २०७८ मा एसईई परीक्षामा सामेल भएर उत्कृष्ट अंक ल्याउने एक छात्र र छात्रालाई नगदसहित सम्मान गरेको छ । जनही ५१ हजार रुपैयाँसहित उत्कृष्ट अंक ल्याउने बाल शिक्षा माध्यमिक विद्यालयका छात्रा दिक्षिका पराजुली र सदावहार एकेडेमीका रामकृष्ण  विकलाई सम्मान गरिएको हो । उनीहरूलाई एक कार्यक्रमका बीच सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत ( राजकुमार ) को हातबाट सम्मान गरिएको हो ।


विद्यार्थीलाई सम्मान गर्दै अध्यक्ष बस्नेतले लगनशीलताले विद्यार्थीलाई सही नतिजा ल्याउन सहयोग गर्ने बताउँदै सम्मान गर्ने संस्थाप्रति विपन्न परिवारको आस्था बढेको बताए । सोही अवसरमा सोसाइटीको छात्रवृत्तिमा अध्ययन गरेर १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीकाे प्रशंसा पनि गरिएको थियो । १२ कक्षा उत्तीर्ण भएकी बिन्दा विकले सोसाइटीको सहयोगमा स्तरीय शिक्षा प्राप्त गर्न पाएकाले आफू सक्षम बनेको बताइन् । 

सोसाइटीका संस्थापक अध्यक्ष बंशलाल तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख कृष्णप्रसाद सुवेदीले यस किसिमको कामले विद्यार्थीको हौसला बढ्ने बताए । आफू जन्मेको ठाउँ छोडेर अन्यत्र पुगे पनि जन्मस्थानको सेवा गर्ने पनि उद्देश्य हो । साथै संस्थामा आवद्ध सदस्यहरूको लागि परेको समस्या पनि यसले पहिचान गरेर सहयोग गर्दै आएको अध्यक्ष सूर्यबहादुर खड्काको भनाइ छ ।

सिन्धुपाल्चोक जिल्लाबाट अमेरिका पुगेका सन् २०१० मा यो संस्था स्थापना भएको हो ।


Author

थप समाचार
x