भत्केका भौतिक संरचनामा अध्ययन गर्न बाध्य विद्यार्थी
काठमाडौँ - बाँकेको बैजनाथ गाँउपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरूको अवस्था दयनीय बनेको छ ।
बाँकेको बैजनाथ गाँउपालिका-८ गुरदयालपुरको लक्ष्मी प्रथामिक विद्यालयको अवस्था दयनीय बनेको हो ।
भौतिक संरचनाहरू जीर्ण अवस्थामा छन् । वि.सं. २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि विद्यालयको भौतिक अवस्था जीर्ण बनेको हो । बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको सुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भए पनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरू बर्सेनि घटिरहेका छन् ।
विद्यार्थीहरू भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरूको गुनासो छ । अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरू नै बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरू नै बताउँछन् ।
गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरू निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको बताउँछन् बैजनाथ गाँउपालिका वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावत । उनका अनुसार पाँच वर्षमा विद्यालयमा १ लाख मात्र बजेट विनियोजित भएको छ । विद्यालय फर्निचरको लागि वडा कार्यालयले पाँच वर्षमा मात्र एक लाख रुपैयाँ दिएको बताए।
विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रध्यानध्यापक सुरेशकुमार थारूले बताए । उनका अनुसार विद्यालयमा पाँच कक्षासम्म पढाइ हुन्छ । सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ विद्यार्थी रहेको बताए। स्थानीय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको उनको भनाइ छ ।
स्कुल विकास समितिका सदस्य राधेश्याम थारूले विद्यालय विकास समितिले विद्यालयको मर्मतसम्भारका लागि वडाबाट अहिलेसम्म १ लाख रुपैयाँ मात्र उपलब्ध भएको बताए । यसअघिको विकास समितिले केही नगरे पनि पछिल्लो विद्यालय विकास समितिले निरन्तर विद्यालयको रेखदेखका लागि आवश्यक पहल थालेको बताए ।
उनले विद्यालय स्थापना भएको ४ दशक पुग्दासमेत कुनै भौतिक संरचना र विद्यालयको कुनै विकास निर्माण हुन नसक्नु भनेको देशकै लागि लज्जाजनक विषय भएको बताए । विद्यालयका सबै भवनहरू भत्केर जीर्ण छन् तर मर्मत् हुने छाँटकाँट देखिँदैन ।
आवश्यक सामग्रहरू पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरूको भनाइ छ । भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छानोहरू नै उडाउने जस्ता समस्या रहेको उनीहरू बताउँछन् ।
विद्यालयको पूर्वाधार जीर्ण भएको छ भने गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयहरूको भनाइ छ । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्य जस्तै छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया