गणित–विज्ञान शिक्षकमा मागभन्दा दरखास्त कम, पास हुने १५ प्रतिशत मात्र
काठमाडौँ- मंसिर १० र ११ गते शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह विज्ञान र गणित–विज्ञान विषयको लिखित परिक्षाको नतिजा सार्वजनिक गर्यो । आयोगको नतिजाअनुसार ७ वटै प्रदेशमा माग गरेको संख्यामा परीक्षार्थी उत्तीर्ण हुन सकेनन् । निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको शिक्षकका लागि आयोगले मधेश प्रदेशमा २० जनाको विज्ञापन खुलाएको थियो । उक्त पदका लागि आठ जनाले मात्रै परीक्षा दिए । अर्थात् माग गरिएको संख्या जति पनि परीक्षामा सामेल भएनन् । परीक्षा पास गरेको खण्डमा सबै परीक्षार्थीले जागिर पाउने पक्का थियो । तर, परीक्षा दिएकामध्ये कोही पनि उक्त परीक्षामा उत्तीर्ण हुन सकेनन् ।
प्रदेश १ मा १६१ जना विज्ञान–गणित शिक्षक माग गरिएको थियो । उक्त परीक्षामा माग गरिएको भन्दा ३० जना कम अर्थात् १३१ जनाले मात्रै परीक्षा दिए । परीक्षा दिएकामध्ये २४ जना मात्रै पास भए । बागमती प्रदेशमा पनि ३८ जनाको विज्ञापन गरिएकामा २ जना मात्रै उत्तीर्ण भए । उक्त परीक्षामा ३५ जनाले परीक्षा दिएका थिए । अर्थात् ३३ जनाले पास अंक पनि ल्याउन सकेनन् । यस्तै गण्डकी प्रदेशमा ४३ जना मागिएकामा ५ जना, लुम्बिनीमा ३३ जना मागिएकामा ५ जना, कर्णालीमा १७ जना मागिएकोमा ७ जना र सुदूरपश्चिममा ४७ जना माग गरिएकामा १७ जना मात्रै उत्तीर्र्ण भएका छन् ।
गणित–विज्ञान विषयमा मात्रै परीक्षार्थी अनुत्तीर्ण भएका भने होइनन् । निम्न माध्यमिक तहको विज्ञान विषयमा पनि नतिजा उस्तै छ । मधेश प्रदेशमा निम्न माध्यमिक विज्ञान विषयको शिक्षकका लागि ३५ जनाको माग गरिएको थियो । तर उक्त विषयको परीक्षामा माग संख्या जतिले पनि परीक्षामा सहभागिता जनाएनन् । ३२ जनाले मात्रै परीक्षा दिए । उक्त परीक्षामा ३२ मध्ये ७ जना परीक्षार्थी मात्रै उत्तीर्ण भए । उक्त नतिजाअनुसार अर्को विज्ञापन नभएसम्म माग गरिएका शिक्षकको कोटा खाली नै हुने भएको छ । यो समस्या मधेश प्रदेशको मात्रै होइन, ७ वटै प्रदेशमा विज्ञान शिक्षकको अभाव हुने देखिएको छ ।
प्रदेश १ मा १०१ ओटा पदका लागि माग गरिएको थियो । उक्त पदका लागि २ सय १५ जनाले परीक्षा दिएका थिए । तर, परीक्षामा ४१ जना मात्रै उत्तीर्ण भए । बागमती प्रदेशमा लागि १०० जनाका लागि विज्ञापन गरिएको थियो । उक्त परीक्षामा २ सय ४५ जना परीक्षार्थी सहभागी भएका थिए । उक्त परीक्षामा पनि ५७ परीक्षार्थी मात्रै पास भए । ४३ जना शिक्षकको पद भने खाली नै हुने निश्चित भएको छ ।
गण्डकी प्रदेशमा १०१ वटा पदका लागि गरिएको विज्ञापनमा ३ सय ३७ जनाले परीक्षा दिए तापनि ७३ जना मात्रै पास हुन सफल भएका छन् । यस्तै लुम्बिनी प्रदेशमा ६० जना माग गरिएकामा ४७ जना उत्तीर्ण भएका छन् । लुम्बिनी प्रदेशबाट १ सय ९३ जनाले परीक्षा दिएका थिए । कर्णाली प्रदेशमा २९ जना जनाका लागि विज्ञापन गरिएकोमा २१ जना र सुदूर पश्चिम प्रदेशमा १४ जना माग गरिएको ११ जना मात्रै उत्तीर्ण भएका छन् ।
देशभरको संख्यालाई हेर्ने हो भने शिक्षकको माग गरिएको संख्या बराबर पनि उम्मेदवारले दरखास्त दिएका छैनन् । बेरोजगारीको यत्रो समस्या भएको देशमा सरकारी रोजगार खुलाउँदा पनि किन शिक्षण पेसामा मानिसहरू आकर्षित हुँदैनन् ? प्रश्न उब्जिएको छ ।
शिक्षण पेसाको परीक्षामा परीक्षार्थी कम हुनु यस पेसामा मानिसको आकर्षण कम भएकाले हुनसक्ने त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा बताउँछन् । ‘योग्य मान्छे शिक्षण पेसामा आकर्षित हुन सकेका छैनन्,’ उनले भने, ‘जस्तो फिनलेन्ड, डेनमार्क जस्ता देशहरूमा शिक्षणमा आकर्षण होस् भनेर प्रशस्त सुविधा दिएको हुन्छ । त्यो नेपालमा छैन । विदेशमा इन्जिनियरीङ गर्नेहरू शिक्षण पेसामा जान रुचाउँछन् । किनकि त्यहाँ धेरै सुविधा हुन्छ । ‘पेड भ्याकेसन’हरू दिन्छन् । उनीहरूले शिक्षण पेसालाई त्यसरी महत्व दिएका हुन्छन् ।’
राम्रो योग्यता भएका मानिसहरूले अन्य पेसा अपनाएकाले पनि शिक्षण पेसामा कम मानिसको प्रतिस्पर्धा भएको हुन सक्ने उनको तर्क छ । बाह्य देशमा राम्रो अवसर पाएकाले यहाँको रोजगारीमा मानिसको आकर्षण कम भएको हुन सक्ने प्राध्यापक माथेमाले बताए । ‘हाम्रोमा रोजगारीमा आकर्षित गर्न नसक्दा धेरै विदेशिएका पनि छन्,’ उनले भने, ‘यो पनि एउटा कारण हुन सक्छ ।’
शिक्षण पेसालाई आकर्षित बनाउन उनीहरूको सेवा सुविधा पनि राम्रो बनाउनुपर्ने शिक्षाविद् माथेमा बताउँछन् । शिक्षा पढेकाले मात्रै पाउने बन्देज लगाइरहनु नहुने उनको भनाइ छ ।
‘शिक्षण पेसामा हामीले भिन्न क्षेत्रका मान्छेलाई शिक्षणमा आकर्षित गर्नुपर्छ,’ उनले भने, ‘शिक्षा पढेको मात्रै शिक्षक बन्न पाउने बन्देज राखिरहनु हुँदैन । राम्रो अध्ययन गरेका मानिसलाई अध्यापन अनुमतिपत्र अनेक झमेलामा अल्झाएर रोक्नु हुँदैन । राम्रो ज्ञान भएका मान्छेलाई शिक्षकको तालिम नभए तापनि अवसर दिएपछि तालिम दिने व्यवस्था गर्नुपर्छ । मुख्य विषयवस्तुमा राम्रो भएन र पढाउने तरिका मात्रै जानेर त हुँदैन ।’
शिक्षकका लागि आवेदन दिनेको संख्या त कम छ नै । परीक्षा दिएकामा उत्तीर्ण हुने दर पनि कम देखिएको छ । यो समस्या भने शिक्षक सेवा आयोगमा मात्रै होइन, त्रिवि सेवा आयोग र लोक सेवा आयोगले लिने निजामती सेवा र विभिन्न संस्थानको परीक्षामा समेत देखिएको छ । विज्ञापन गरिएको जति पदमा पनि परीक्षार्थी पास हुन सकेका छैनन् ।
तर, देशमा यत्तिका पदहरू रिक्त रहिरहँदा पनि हजारौँ मानिस श्रमिकका रुपमा काम गर्न बाह्य देश जान बाध्य छन् । सरकारको पन्ध्रौँ योजनाअनुसार नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् । तर, स्वदेशमा रोजगारको अभावका कारण धेरै श्रमशक्ति बाहिरिन्छन् ।
सरकारकै तथ्यांकअनुसार दैनिक करिब १ हजार युवा विदेशिने गरेका छन् । तिनीहरूको कमाइले देशको कुल गार्हस्थ उत्पादनमा २५.४ प्रतिशत सहयोग गर्छ । नेपालमा वर्तमान श्रमशक्तिको ३६.५ प्रतिशतले मात्रै रोजगारी पाएका छन् । सरकारकै तथ्यांकअनुसार नेपालमा ११.४ प्रतिशत श्रम योग्य मानिस बेरोजगार छन् ।
पन्ध्रौँ योजनामा सरकारले स्वदेशी रोजगारलाई ३६.५ प्रतिशतबाट ५० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । तर, सरकारले नै रोजगारीका लागि खुलाएको पद भने वर्षेनि रिक्त रहँदा सरकारको योजना पूरा हुने देखिँदैन । देशमा यति धेरै बेरोजगार हुँदा रोजगारका लागि खुलाएको पदम परीक्षार्थी उत्तीर्ण हुन नसक्दा हाम्रो शिक्षा प्रणालीमाथि प्रश्न उठ्ने गरेका छ । विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी सेवा अयोगले रोजगारका लागि खुलाएका पदमा अनुत्तीर्ण हुँदा हाम्रा विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ ? भन्ने प्रश्न उठाइरहेको माथेमा बताउँछन् । यस्ता महत्वपूर्ण विषयमा सरकारले अनुसन्धान गर्नुपर्ने उनले बताए ।
‘विश्वविद्यालयकै पढाइ जुन किसिमको हुनुपथ्र्यो त्यो भएन कि भन्ने तथ्यांकले देखाउँछ,’ उनले भने, ‘यो एउटा रोग हो भन्ने बुझेर सरकारले अनुसन्धान गर्नुपर्ने महत्वपूर्ण विषय हो । त्रिभूवन विश्वविद्यालयको स्नातकको विद्यार्थी उत्र्तीण प्रतिशत ४१ मात्रै छ । तर, त्यही पास भएको विद्यार्थी पनि शिक्षक बन्न योग्य हुन सकेन भने एकदमै गम्भीर विषय हो । अनुसन्धानको विषय हो ।’
आयोगले खुलाएका गणित, विज्ञान लगायतका कतिपय विषयमा दरखास्त दिन आउने आवेदक नै कम भएकाले आयोगको नतिजामा उत्तीर्ण संख्या पनि कम भएको शिक्षक सेवा आयोगका प्रवक्ता मरहठ्ठाको भनाइ छ । ‘शिक्षक सेवा अयोगको परीक्षामा परीक्षार्थी नै कम हुन्छन्, त्यसो भएपछि नतिजा पनि कम नै आउने भयो,’ उनले भने, ‘गणित–विज्ञान विषयमा ३ सय ६४ जना शिक्षक माग गरेकोमा सातै प्रदेशबाट जम्मा ३ सय ६३ जनाले मात्रै परीक्षा दिए । परीक्षामै जम्मा ३ सय ६३ जना सहभागी भएपछि उत्तीर्ण प्रतिशत पनि कम हुनु स्वाभाविक हो ।’
शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमलाई गहिराइसँग अध्ययन नगरेको लेखाइमा पनि सन्तुलित कुरा नलेखेका कारणले परीक्षर्थी फेल भएको भन्ने आयोगको बुझाइ छ । उनी भन्छन्, ‘सबैले विषयगत ज्ञान उत्तिकै हासिल गरेको हुँदैन । त्यसैले विद्यार्थी फेल हुन्छन् । आयोगको परीक्षा विश्वविद्यालयको भन्दा अलि भिन्न पनि हुन्छ ।’
शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण दर बढ्दै गएकाले आयोगले अनुसन्धानका लागि नीति अनुसन्धान प्रतिष्ठानलाई पत्र लेखिसकेको समेत प्रवक्ता मरठ्ठाले बताए । ‘विश्वविद्यालयबाट कस्तो जनशक्ति उत्पादन भइरहेको छ भन्नेमा पनि शंका उत्पादन भइरहेको छ,’ उनले भने, ‘यस विषयमा विश्वविद्यालयको पाठ्यक्रमहरूबारे पनि छलफल गर्नुपर्छ । माध्यमिक तहको पनि नतिजामा पास हुने दर कम भएकाले नीति अनुसन्धान प्रतिष्ठानमा अध्ययन गरेर सुझाव दिनु भनेर आयोगले पत्र लेखेको छ ।’ यो गम्भीर विषय भएकाले यसमा सबैले छलफल गर्नुपर्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया