शिक्षा

शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्याे : शिक्षाविद्

इकागज |
पुस १४, २०७९ बिहीबार १८:२ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- शिक्षाविद्हरूले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयाेजित शिक्षा नीति संवाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरूले यस्तो बताएका हुन् । उनीहरूले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरूको कमी भइरहेको र शिक्षकहरूमा पनि उपयुक्त योग्यता भएको नपाइएको उल्लेख गरे ।


विज्ञहरूले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार नपाएको बताए । उनले खोजेजति योग्य शिक्षकहरू पाउन नसकेको भन्दै सरकारले यसप्रति गम्भीर बन्नुपर्ने भनाइ राखे । उनले सामान्य परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरू पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभइ एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालय स्तरमा शिक्षा प्रणालीको सुधार अति आवश्यक भइसकेको बताए । विद्यालय स्तरको शिक्षालाई आवश्यक सुधार र परिमार्जन गरी योग्यता पुगेका शिक्षकहरूबाट गुणस्तरीय शिक्षा दिन आवश्यक देख्छन् भुसाल ।

विद्यालय स्तरमा गुणस्तरयुक्त शिक्षा दिन नसके एउटा युग नै नष्ट हुने उनकाे धारणा छ । रेक्टर भुसालले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रूपमा लिन आवश्यक रहेको बताए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकहरूलाई प्रशिक्षण दिन आवश्यक भएको बताए । उनले विकाससील देशहरूमा शिक्षकहरूलाई योग्य बनाउनका लागि सरकारले विभिन्न शैक्षिक तालिमहरू दिने गरेको तर नेपालमा भने आवश्यक तालिमहरू हुन नसकेको गुनासो गरे ।

उनले तालिम दिँदा पनि विषयगत वा सामान्य तालिमका बारेमा सरकारले चासो राख्न आवश्यक रहेको जिकिर गरे ।

यस्तै त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गरे । उनले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकहरूमा गुणस्तर हुन नसकेको बताए ।

कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयहरूले गर्ने कामहरूमा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने उल्लेख गरे । उनले विश्वविद्यालयका पदाधिकारीहरूले नै गर्नसक्ने कामलाई नगरेर अरूको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताए ।

शिक्षकहरूमा आवश्यक तलवमान नहुनु, शिक्षण पेसालाई गाउँ र समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक नदेखिनुले शिक्षण पेसामा आकर्षण घटेको देख्छन् नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारी । उनले युवा पुस्तामा शिक्षण पेसामा आकर्षण नहुनु, शिक्षामा राजनीति हुनु, नेपालमा शिक्षाको सही पहिचान हुन नसक्दा पनि शिक्षा क्षेत्रमा समस्या बढ्दै गइरहेको बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालमा शिक्षक नभएको, भएका शिक्षकहरूमा गुणस्तर नभएको र गुणस्तर शिक्षकहरूलाई आवश्यक पहिचान र संवर्द्धन हुन नसक्ने समस्या प्रचुर रहेको बता​ए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले सरकारले बनाएका नीति कार्यान्वयनको चुनौती रहेकाले सबैले कार्यान्वयनको पक्षमा अघि बढ्न आवश्यक रहेको बताए । उनले उच्च शिक्षालाई कसरी गुणस्तर बनाउने भन्ने सन्दर्भमा देशको करिकुलम लगायतका विषयवस्तुमा ध्यान दिनुपर्ने भनाइ राखे ।

उनले शिक्षकहरूले पनि आफू शिक्षक भइसकेपछि समाजलाई परिवर्तन गर्नसक्ने भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरालाई आफ्नो दायित्व सम्झेर अघि बढ्न सक्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी अन्य शिक्षाविद्हरूले शिक्षक बन्नका लागि न्यूनतम् शैक्षिक ज्ञान हुन आवश्यक रहेको बताए । उनीहरूले शिक्षकहरू छनोट गर्ने प्रक्रिया प्राकृतिक नभएको गुनासो गरे । उनीहरूले अभिभावक र विद्यालयबीचको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तो देखिएकाले अभिभावक संघले यसमा आफ्नो भूमिकाप्रति उत्तरदायी बन्न आग्रह गरे । 
 


Author

थप समाचार
x