शिक्षा

कामपाको नमुना विद्यालय : ऐतिहासिक सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन

के पढाइन्छ नमुना विद्यालयमा

इकागज |
पुस १७, २०७९ आइतबार २१:४१ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनकै लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र  सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ ।  
 
नमुना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक दरबार हाई स्कुल, भानु, संस्कृत र कन्या माविलाई नमुना विद्यालयका रूपमा घोषणा गरेको छ । कामपाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यी विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको हो । 

उक्त विद्यालयलाई थप गुणस्तर र अन्य विद्यालयभन्दा अतिरिक्त कार्यक्रम सञ्चालनका लागि यस वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ । घोषणा गरिएका ती नमुना विद्यालयमा विशेषगरी ऐतिहासिक सम्पदा, सहरी कृषि र  कलाको आवश्यकता र महत्वका बारेमा विद्यार्थीलाई अतिरिक्त समय मिलाएर पठनपाठन गराइने कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिइन् । सल्लाहकार अर्यालले भनिन्, 'नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ, त्यसका लागि कामपा प्रयासरत छ ।'


के पढाइन्छ नमुना विद्यालयमा 

कामपाका नमुना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाका बारेमा पठनपाठन गराइने कामपाको योजना रहेको छ । नमुना विद्यालयअन्तर्गत कन्या माविमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्न सकिन्छ भन्नेबारे विद्यार्थीलाई ज्ञान दिइनेछ ।  

ऐतिहासिक सम्पदाको संरक्षणले समाज व्यवस्थापनका लागि कसरी सहयोग पुग्छ । दैनिक जीवनमा प्राकृतिक सम्पदाको स्रोतहरूले कसरी प्रभाव पार्छ, त्यसलाई बचाउन किन आवश्यक छ भन्नेबारे अध्यापन गराइनेछ ।  
 
त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ । जुन हाम्रो दैनिक जीवनमा उपयोगी हुन सक्छ । सहरमा प्रशस्त खुला स्थान छैन थोरै ठाउँमा पनि कसरी कृषि कार्य गर्न सकिन्छ भन्नेबारे सिकाइन्छ । 

त्यस्तै भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी रहेको छ । पछिल्लो समय कलाको आवश्यकता यसको संरक्षण जस्ता विषय यसमा समावेश हुनेछन् । जसका लागि ललितकलासँग समन्वय गरेर अघि बढ्ने तयारी कामपाको रहेको छ  । हेर्दा सामान्य लागे पनि तीनवटै विद्यालयमा पठनपाठन गर्ने शिक्षा व्यावहारिक रहने विश्वास कामपाले लिएको छ । उक्त शिक्षा अतिरिक्त समयमा अध्ययन गराइनेछ ।  

कस्तो हुनुपर्छ नमुना विद्यालय 

नमुना विद्यालय अन्य विद्यालयभन्दा फरक हुन्छ । जहाँ विद्यार्थीलाई फरक किसिमको क्रियाकलापमा सहभागी गराइन्छ । जुन विद्यालय नमुना हो त्यहाँ प्रविधिको सहज पहुँच, गुणस्तरीय शिक्षा, आन्तरिक  कार्यक्रम, विद्यार्थी सङ्ख्याका आधारमा आवश्यक विषयगत शिक्षक दरबन्दीजस्ता विषय अनिवार्य समावेश हुनुपर्छ । आधुनिक पुस्तकालयको व्यवस्था  जसको कारण नमुना विद्यालयहरू अन्य विद्यालयभन्दा गुणस्तरीय बन्न सक्नेछन् । रासस


Author

थप समाचार
x