पाठ्यपुस्तक छपाईका लागि कागज खरिद गर्नसक्ने अधिकार दिन माग
काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले निर्वाचन आयोगलाई जस्तै जनक शिक्षा सामग्री लिमिटेडलाई पनि सार्वजनिक खरिद नियमावलीमा कागज खरिद गर्नसक्ने अधिकार दिन माग गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको देशभर समयमा नै पाठ्यपुस्तक पुर्याउने विषयक छलफलमा बोल्दै प्रबन्ध सञ्चालक झाले निर्वाचन आयोगलाई सार्वजनिक खरिद ऐनमा नै अत्यावश्यक सामग्री खरिद गर्दा सूचना निकालेर खरिद गर्ने अधिकार जस्तै पाठ्यपुस्तकका लागि कागज खरिद गर्नसक्ने अधिकार दिन माग गरेका हुन् ।
उनले मतपत्र छपाइका लागि निर्वाचन आयोगलाई सार्वजनिक खरिद नियमावलीले सम्पूर्ण अधिकार दिएकाले आयोगले सार्वजनिक खरिद नगरी सोझै खरिद गर्न व्यवस्था रहेको बताए । उनले सार्वजनिक खरिद ऐनमा नै छुट्टै व्यवस्था भएकाले मतपत्र छपाईमा छिटो, छरितो भएको जिकिर गरे ।
मतपत्र छपाई गर्दा जनक शिक्षालाई पनि सार्वजनिक खरिद अनुसार भन्दा पनि सूचना निकालेर कच्चा पदार्थ खरिद गर्नसक्ने अधिकार दिए अनुसार पाठ्यपुस्तक छपाईको कागज खरिदमा पनि अधिकार दिनेगरी ऐन परिमार्जन गर्नुपर्ने उनकाे भनाइ छ । सरकारले सार्वजनिक खरिद नियमावलीमा नै व्यवस्था गरेर अधिकार दिए पाठ्यपुस्तक छपाईमा कुनै समस्या नआउने उनले उल्लेख गरे ।
प्रबन्ध सञ्चालक झाले यस वर्ष कागज आयातमा समस्या नभएकाले समयमा नै विद्यालयहरूमा पाठ्यपुस्तक पुग्ने प्रतिबद्धता जनाए । उनले गत वर्ष कागज अभावका कारण समयमा नै सामग्री केन्द्रले पाठ्यपुस्तक दिन नसकेको स्वीकार गरे । अहिले पाठ्यपुस्तक छपाई समस्या नभएकाले दैनिक २ लाख पाठ्यपुस्तक छपाईको काम जारी रहेको पनि उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया