शिक्षा

धनुषाको जनता माध्यमिकले एसईई परीक्षा शुल्क तोकिएको भन्दा तेब्बर असुल्यो

सुभाष कर्ण |
माघ ९, २०७९ सोमबार १७:४३ बजे

जनकपुरधाम - धनुषाको कमला नगरपालिकास्थित एक विद्यालयले मनपरी रुपमा कक्षा १० को एसईई परीक्षा फाराम बापतको शुल्क लिएको पाइएको छ ।

कमला नगरपालिका- १ स्थित श्री जनता माध्यमिक विद्यालय मंगराहा ईश्वरवाडाले एसईई कक्षा १० को परीक्षा फाराम दस्तुर बापत राष्ट्रिय परीक्षा बोर्डले तोकेको दस्तुर भन्दा तेब्बर रकम लिएको हो ।


राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन हुने एसईई कक्षा १० को परीक्षाका लागि ५ सय रूपैयाँ शुल्क तोकेकोमा सो विद्यालयले विद्यार्थीहरूसँग एक हजार ५ सय रुपैयाँ  लिएको स्थानीय अभिभावक गंगा मण्डलले बताएका छन् ।

उनले भने, 'सो विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार पासवानको निर्देशनमा तोकिएको भन्दा तेब्बर रकम लिएपनि सो बापतको रसिद दिइएको छैन ।'

हुन त, विद्यालयका प्रधानाध्यापक पासवानले कानुनको धज्जी उडाउँदै मनपरी रुपमा परीक्षा दस्तुर र ग्रेडसिट शुल्क निर्धारण गरी तोकिएको भन्दा दोब्बर रकम लिने गरी मंसिर १५ गतेका दिन सार्वजनिक सूचना नै प्रकाशन गरेका छन् । परीक्षा शुल्कमा मात्रै होइन अन्यमा समेत प्रधानाध्यापकले मनपरी गर्दै आएको आरोप अभिभावकहरूको रहेको छ ।

यति मात्र होइन राष्ट्रिय परीक्षा बोर्डले फाराम भर्ने समयावधि पुस १० गतेसम्मको मिति तोकेको थियो । तर प्रधानाध्यापक पासवानले मंसिर २९ गतेसम्मको म्याद तोकेको थियो । ती म्यादभित्र फारम भर्न नसकेका विद्यार्थीहरूसँग विलम्ब शुल्क भनेर पुस १० गतेसम्म दोब्बर शुल्क अर्थात् दुईदेखि तीन हजार रूपैयाँसम्म लिएको अभिभावक रामहृदय कापरले गुनासो गरेका छन् ।

विद्यार्थीहरुले शूल्क वापतको बिल रसिद माग्दा, तिमीहरुलाई परीक्षा दिनेसम्म मतलब छ कि बिल रसिदसँग किन भनी फर्काएको एक विद्यार्थीले बताएका छन् ।

सम्बन्धित निकाय पन्छिदैं 

मनपरी रुपमा विद्यालयले विद्यार्थीहरूसँग लिएको एसईई परीक्षा शुल्क बारे कमला नगरपालिकाका शिक्षा समितिका अमित जयसवालले यस सम्बन्धमा आफूलाई केही जानकारी नभएको बताए । यदि त्यस्तो छ भने कसैले सप्रमाण उजुरी दिएको खण्डमा कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । उनले भने, 'राष्ट्रिय परीक्षा बोर्डले यदि ५ सय रुपैयाँ  शुल्क निर्धारण गरेको छ भने विद्यालयले पनि सोही अनुसार शुल्क लिनुपर्ने हो ।'

त्यस्तै शिक्षा समन्वय एकाइ समिति धनुषाका प्रमुख युक्तप्रसाद शर्माले तोकिएको शुल्कभन्दा बढी रकम कुनै पनि विद्यालयले लिन नपाउने बताए । 'यदि त्यस्तो छ भने कुनै अभिभावकले प्रमाणसहित उजुरी दिए, विद्यालयलाई यस्तो नगर्न सचेत गराउँदै बढि लिइएको रकम विद्यार्थीको फिर्ता गराउनेछौं', उनले भने ।

उजुरीकै कानुनी झमेलाले गर्दा प्रधानाध्यापक पासवानको मात्रै होइन जिल्लाका अन्य विद्यालयका प्रधानाध्यापकहरूको पनि मनपरी बढेको छ । प्रधानाध्यापकहरूले विद्यार्थी भर्ना नामाङ्‍कन र परीक्षा दस्तुरको नाममा अवैध रुपमा रकम असुली गरे पनि सम्बन्धित निकाय उजुरीकै बहानामा संरक्षण दिँदै आएका छन् ।

यता मनपरी रुपमा लिइएको परीक्षा शुल्कबारे प्रधानाध्यापक पासवानलाई पटक पटक फोन सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । दुई दिन लगातार मोबाइलमा फोन गर्दा पनि उनको मोबाइल स्विच अफ नै थियो ।  


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x