शिक्षा

प्रअ र जनप्रतिनिधिको विवादले कन्या माविमा तालाबन्दी

सुभाष कर्ण |
माघ २२, २०७९ आइतबार २०:२१ बजे

जनकपुरधाम - विद्यालय भवन निर्माणको रकम फिर्ता गराएको आरोपमा मधेश प्रदेशका राजधानी जनकपुरधामका एकमात्र कन्या माध्यमिक विद्यालयमा जनप्रतिनिधिले लगाएको ताल्चा स्थानीयले फोडेका छन् । 

जनकपुरधाम वडा नम्बर ११ स्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा वडाध्यक्षले विद्यालय भवनको रकम फिर्ता पठाएको भन्दै ताल्चा लगाउँदा सो विद्यालयको पाँच दिनदेखि पठनपाठन अवरुद्ध रहेको थियो । 


वडाध्यक्ष अर्जुन चौधरीले सिटीईभीटीबाट प्राविधिक शिक्षाको भवन निर्माणको लागि आएका बजेट प्रधानाध्यापक मोदनारायण राउतले फिर्ता पठाएको र भ्रष्टाचारको अखडा बनाएको भन्दै गत पाँच दिनअघि उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए । 

उनले भने, विद्यालयको विकासका लागि आएको भवन निर्माणको १५ लाख रुपैयाँ के कति कारणले फिर्ता पठाएको पटक पटक भन्दा बेवास्ता गरिँदै आएको कारण बाध्य भएर तालाबन्दी गरेका थियौं । 

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडाअध्यक्ष चौधरीले प्राविधिक शिक्षाको भवनको लागि आएको प्रदेश सरकारले सिटीईभीटी कक्षा संचालनका लागि भवन निर्माण गर्न १५ लाख रुपैयाँ फिर्ता मात्र पठाएको होइन, विद्यार्थीहरूको निशुल्क शिक्षाका लागि अनुदान विभिन्न निकायबाट आएपनि प्रधानाध्यापक राउतले विद्यार्थीको नाम लेखाई, स्थानान्तरण प्रमाण पत्र र विभिन्न बहानामा रकम असुलेर भ्रष्टाचार गर्दै आएको आरोप समेत लगाए । 

प्रधानाध्यापक राउतले विभिन्न कारणवश सो भवन समयमा निर्माण गराउन नसक्दा रकम फिर्ता पठाउनु परेको बताए । उनले भने विद्यालय भवन बन्नुमा मेरो एकल गलती मात्र नभइ व्यवस्थापन समितिले समयमा उपभोक्ता समिति गठन गर्न नसक्दा पनि भवन निर्माण हुन सकेन । 

गत पाँच दिनदेखि प्रधानाध्यापक मोदनारायण राउतको कार्यकक्षमा तालाबन्दी रहेको कारण सो विद्यालयका पठनपाठन प्रभावित हुँदै गएपछि स्थानीयले प्रहरीको रोहबरमा सो ताल्चा फुटाएर पठन पाठन सुचारु गराएका छन् । 

यता प्रहरीको रोहबरमा ताला फुटाएका स्थानीय महेन्द्र साहले वडाअध्यक्ष र प्रधानाध्यापकको आपसी विवादका कारण पठनपाठनमा विद्यार्थीहरूलाई असर परेकाले सहज रुपमा अध्ययनको वातावरण बनाउन ताला फुटाएको प्रतिक्रिया दिएका छन् । 

उनले भने, व्यवस्थापन समिति र प्रधानाध्यापक बीच कुनै विवाद थियो भने अभिभावक र स्थानीयलाई विवाद समाधान गर्न सक्नु पथ्र्यो । तर त्यसरी नगरी एक्कासि ताल्चा लगाउनु उचित होइन । यसले विद्यार्थीको पठन पाठनमा समेत असर पर्न जाँदा ताल्चा फुटाएको छु । 

यतिमात्र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रवण चौधरीले एक क्लबको नाममा विद्यालयको एउटा कोठा कब्जा गरेर राखेकोमा स्थानीयले समेत आवाज उठाएका थिए । 

स्थानीयले वर्षौदेखि चौधरीले क्लबको नाममा कब्जा गरेको विद्यालयको कोठा खाली गराउन माग प्रधानाध्यापक सँग गरेका थिए । स्थानीयवासीले प्रधानाध्यापक राउत विद्यालय र वडाअध्यक्ष चौधरी पठन पाठनमा ध्यान नदिई राजनीतिकरण गर्न खोजेको आरोप समेत लगाएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x