शिक्षा

सहयोगी माविमा चार वर्षदेखि छैन विद्यालय व्यवस्थापन समिति

इकागज |
माघ २६, २०७९ बिहीबार १९:७ बजे

फाइल फोटो

काठमाडौँ - राज्य पुनःसंरचना अनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भएपछि एक विद्यालयमा चार वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन नभएको पाइएको छ । राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा विसं २०७६ देखि नै विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । 

केन्द्र र स्थानीय तहले बनाएका शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न खोज्दा स्थानीय राजनीतिक दलको रुचि नमिलेर चार वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको प्रधानाध्यापक निर्माण न्यौपानेले बताए । राज्य पुनःसंरचनासँगै नगरपालिकाले बनाएको शिक्षा ऐनमा छ महिनाभित्रमा विद्यालय व्यवस्थापन समिति गठन गरिसक्ने व्यवस्था गरेको छ तर यो व्यवस्था पनि कार्यान्वयन हुन सकेको छैन । 


 ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार अभिभावकको भेलाबाट चार जना व्यवस्थापन समिति सदस्य छनोट गर्न पनि  स्थगित गरिएको हो । नगरपालिका–४ का अध्यक्ष जयराम महत भने लामो समयदेखि विवादका कारण व्यवस्थापन समिति गठन हुन नसकेको स्वीकार गर्दै केही दिनमै समिति गठनको तयारी अन्तिम चरणमा पुगेको बताउँछन् । नयाँ बन्ने समितिले विद्यालयमा आवश्यक सुधारका काम गर्ने जानकारी पनि उनले दिए । 
 
विद्यालयमा हाल नौ सय २० विद्यार्थी अध्ययनरत छन् । स्थानीयवासीका बालबालिका विद्यालयमा अध्ययन नगर्ने भएकाले गुणस्तर सुधारमा स्थानीय समुदायको ध्यान जान सकेको छैन । हाल विद्यालयमा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लाबाट आएर बसोबास गर्ने तामाङ समुदायका विद्यार्थीको बाहुल्यता छ । 


Author

थप समाचार
x