चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाइने
फाइल फोटो
काठमाडौँ - विस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने सोँचका साथ नगरपालिका अगाडि बढेको जानकारी दिए ।
स्थानीय ऋचा सह शिक्षा सदनको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकाभित्र शैक्षिक केन्द्रका रुपमा नगर क्षेत्रलाई विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको बताए । शैक्षिक क्षेत्रलाई जनउपयोगी एवं बहुउपयोगी बनाउनका लागि यस क्षेत्रमा आबद्ध भएका सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग जरुरी रहेको भन्दै नगर प्रमुख गिरीले कोरा शैक्षिक ज्ञानभन्दा पनि विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने बताए ।
नगरप्रमुख गिरीले शिक्षक, अभिभावकको सार्थक साथ र सहयोग रहेमात्रै मुलुकले अपेक्षा गरेको जनशक्ति उत्पादन हुनसक्ने उल्लेख गरे । कार्यक्रममा नगरका उपप्रमुख वसन्ती श्रेष्ठले नगरपालिकाभित्र रहेका आर्थिकरुपमा कमजोर छोरी बुहारीलाई उच्च शिक्षाका लागि सहयोग उपलब्ध गराइने बताइन् । उनले कुनै पनि छोरीबुहारी पढ्न पाइएन भनेर बस्नु नपर्ने भन्दै नगरपालिकाकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने उल्लेख गरे ।
यस्तै शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट चरणबद्धरुपमा योजना अगाडि सारिएको र त्यसलाई व्यावहारिक कार्यान्वयन गरिने बताइन् । सो विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज खड्काले ठूलो मेहनतका साथ शैक्षिक क्षेत्रमा केही गरौँ भन्ने सोच राखेर आफूहरू ज्ञान बाँड्न अग्रसर रहेको बताए ।
उनले आफ्नो सानो प्रयासलाई यस क्षेत्रका अभिभावक र विद्यार्थीले साथ दिएकामा प्रसन्नता व्यक्त गरे । सो अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगरप्रमुख गिरीले सम्मान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया