शिक्षा

पहिलो दिनको एसईई शान्तिपूर्ण

इकागज |
चैत १७, २०७९ शुक्रबार १७:५ बजे

भक्तपुर- आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए । यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक किरियापुत्रीले परीक्षा दिएका छन् ।


जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसईई परीक्षा दिएका हुन् ।

यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसईईमा सहभागी भएका छन् । उनीहरूलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधार गृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन् । देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन् ।

यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गते सम्पन्न हुनेछ ।


Author

थप समाचार
x