उपकुलपतिले ‘मेरो कुलपति केपी ओली’ भनेपछि...
सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कुलपति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति बोलेको अभिव्यक्ति विवादित बनेको छ । सिंहले तीन दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट विद्यार्थीहरूसँगको कार्यक्रममा दिएको मन्तव्य विवादित बनेको हो ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘संसदीय भाषामा मात्रै’ कुलपति मान्ने भनि दिएको अभिव्यक्ति अहिले सर्वत्र आलोचित बनेको छ । उपकुलपति सिंहले बोलेको अभिव्यक्ति सामाजिक संजालमा तीव्र आलोचना भइरहेको छ । त्यसैगरी विभिन्न प्रध्यापक संघहरूले उक्त अभिव्यक्तिको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।
उक्त रेकर्डमा आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएकाले प्रधानमन्त्री देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्ने बताएका छन् । ‘संसदीय भाषामा भन्दा शेरबहादुर देउवालाई कुलपति भनौंला’ सार्वजनिक भएको अडियोमा उपकुलपति प्रा.डा. सिंहले भनेका छन्, ‘तर, मेरो कुलपति केपी ओली हो।’
यतिमात्रै होइन दलविहीन सार्वजनिक पदधारण गरेका उपकुलपति सिंहले आफ्ना लागि एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएको दाबी गरेका छन्। उनले केपी ओलीले लिएको तीन वर्षको राष्ट्रवादी आन्दोलन, त्यसको एकीकृत मनोभावनालाई लिएर जनताको बीचमा जानु आवश्यक रहेको औल्याएका छन् । त्यसका लागि सडकमा जानुको विकल्प नभएको उनको भनाइ छ ।
‘हामी शसक्त भएनौ भने हामीसँग लागेका मानिसहरू भड्किन सक्छन्, आगामी चुनावका लागि त्यो खतरा हुनसक्छ,’ उनले भनेका छन्, ‘हामी संघर्षशील छौं, संगठनको झण्डा लिएर सडकमा जानु आवश्यक छ, अखिल, युवा संघ, शिक्षक, विद्यार्थी, मजदूरलगायतका पार्टीका संगठन एक–एक महिना सडकमा आउँदा ९–१० महिनासम्म सबैको ध्यान तान्न सक्छौं, जनता हाम्रो पक्षमा रहिरहन्छन्।’
उपकुलपति सिंहले सामाजिक सञ्जालमा आफू र विश्वविद्यालयले गरेका राम्रा कामहरूको प्रचार गर्न पनि अखिलका विद्यार्थी नेताहरूलाई निर्देशन दिएका छन्। ‘अहिले ममाथि आक्रमण भइरहेको छ, ममाथि आक्रमण हुनु भनेको सिंगो पार्टीपंति माथिको आक्रमण हो ।’ बाहिरिएको अडियोमा भनिएको छ ।
उक्त अडियो सार्वजनिक भएपछि उपकुलपति सिंहले पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएको अडियोलाई ‘एनिमेटेड’ भनेका छन् । विश्वविद्यालयमा आँच आउने गरी गिरोह लागिपरेको भन्दै एनिमेटेड अडियोप्रति आपत्ति जनाएका छन् । त्यसमा संलग्न गिरोहलाई कारबाही हुनुपर्ने उपकुलपति सिंहको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया