विवादमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय
विद्यार्थी भन्छन्, उपकुलपतिको हुकुमी शासन, उपकुलपति भन्छन्, एकेडेमी क्षेत्रको विकास गर्न दिइएन
मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिसरमा आन्दोलन गर्दै विद्यार्थीहरू ।
सुर्खेत - स्थापनाकालदेखि नै विवादमा मुछिँदै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय फेरि विवादमा तानिएको छ । विश्वविद्यालय एक सतादेखि तनावग्रस्त छ । विद्यार्थी, प्राध्यापक र विश्वविद्यालय प्रशासनबीचको असमजादारकिा कारण तनाव बढेको हो । शैक्षिक, प्रशासनिक क्षेत्र र उपकुलपति निवास प्रहरीको सुरक्षा घेरामा छ ।
विस २०६९ सालमा स्थापना भएको विश्वविद्यालयमा पटक–पटक उपकुलपति फेरिए पनि हालसम्म विश्वविद्यालय प्रशासन, प्राध्यापक तथा विद्यार्थीहरूबीच विवाद छ । हालका उपकुलपति प्रा.डा. नन्दबहादुर सिहंको हुकुमी शासनका कारण विवाद उत्सर्गमा पुगेको विद्यार्थी र प्राध्यापकहरूको आरोप छ । एकेडेमिक क्षेत्रको अब्बल संस्थाको रूपमा विकास गर्न खोज्दा असफल बनाउन खोजिएको आरोप उपकुलपति सिंहको छ ।
विश्वविद्यालयमा भएको यही विवाद र आन्दोलनकै कारणलले गत शुक्रबारदेखि हुने विभिन्न संकायका परीक्षा स्थगित गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको छ । परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले मानविकी र सामाजिकशास्त्र संकाय व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय अन्तर्गतका स्नातक तह आठौँ सेमेष्टरको मौका परीक्षा शुक्रबारदेखि प्रारम्भ हुनुपर्नेमा विशेष प्रतिकूल परिस्थितिका कारण सञ्चालन हुन नसकेको बताए ।
विश्वविद्यालय प्रशासनलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिन विद्यार्थीहरू कडा आन्दोलनमा लागेका छन् । उनीहरू कहिले विश्वविद्यालयका सबै संकायहरूमा ताला बन्द गर्ने त कहिले आगोको राँको लिएर आन्दोलनमा उत्रिएका छन् । यतिबेलो विद्यार्थी संगठनहरूले कोरोनाको जोखिम कायमै भएकाले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने माग राखेका छन् । वैकल्पिक माध्यमबाट सञ्चालन भइरहेका कक्षाका सवालमा विद्यार्थी आफैले डाटा प्याक खरिद गरेर अध्ययन गरेकाले कोरोना अवधिको शुल्क पूर्णरूपमा मिनाहा गर्नुुपर्ने, २० प्रतिशत छात्रवृत्ति कायम गरिनुुपर्ने, रोकिएका छात्रवृत्तिहरू प्रदान गर्नुपर्ने छन् ।
यस्तै ई–लाइबे्ररीको व्यवस्था हुुनुपर्ने, दीक्षान्त समारोह तत्काल आयोजना गर्नुपर्नेलगायतका माग विश्वविद्यालय प्रशासन समक्ष राखेर आन्दोलनमा होमिएको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सहसंयोजक तिर्सना हमालले जानकारी दिइन् । उनले विश्वविद्यालयमा उपकुलपतिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।
विश्वविद्यालयका स्ववियू सभापति झक्कबहादुर शाहीले विश्वविद्यालयले विद्यार्थीहरूको स्वास्थ्यमाथि खेलबाड गरेको बताए । कोरोनाको अहिलेको समयमा अनलाइनबाटै परीक्षा हुनुपर्ने प्रमुख माग रहेको बताए । आन्दोलन गर्न थालेको चार दिन भइसक्दा पनि आफ्ना मागहरू कुनै सुनुवाइ हुने संकेत नदेखिएको उनले बताए । मागहरू सुनुवाइ नभए उपकुलपतिको राजीनामासमेत माग्ने शाहीले बताए । ‘हाम्रो अन्तिम विकल्प भनेको उपकुलपतिको राजीनामा माग्ने हो तर, उहाँले सायद दिनुहुन्न होला’ उनले भने, ‘अब हामी नेपाल सरकारसँग विश्वविद्यालय सञ्चालनका लागि राम्रो टिम पठाउन अनुरोध गर्ने तयारीमा छौ ।’
विद्यार्थी मात्र होइन प्रध्यापकहरू समेत आफ्ना विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । तीन दिनयता नेपाल राष्ट्रिय प्राध्यापक संगठनले १५ बुँदे माग राख्दै अनिश्चित कालका लागि तालाबन्दी गरेको छ । विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुुक्त भएदेखि नै आफन्तको भर्ती केन्द्र बनाउने काम गरेकाले नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तालाबन्दी गरेको हो ।
यता विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालय सुधार गर्न खोज्दा पनि आफूलाई असफल बनाउन आन्दोलन भैरहेको बताएका छन् । आफू शैक्षिक गुणस्तर सुधारमा लागेको विगतदेखि नै विश्वविद्यालय एकेडेमिक क्षेत्रका रुपमा विकास गर्न लागेको उनको भनाइ छ ।
‘विश्वविद्यालयलाई अब्बल शैक्षिक संस्था बनाउन खोजेको छु ।’ उपकुलपति सिंहले भने, ‘त्यसमा लाग्दा मलाई असफल बनाउनका लागि बिभिन्न संघ संस्था तथा विद्यार्थी र प्राध्यापकहरू लागेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया