शिक्षा

कक्षा सञ्चालनको माग गर्दै राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित

सुभाष कर्ण |
असोज ८, २०७८ शुक्रबार २०:१२ बजे

जनकपुरधाम - भौतिक उपस्थितिमा कक्षा सञ्चालनको माग गर्दै जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । व्यवस्थापन, विज्ञान र मानविकी संकायका डिनको कार्यालयमा तालाबन्दी गरेका उनीहरूले स्थानीय रामानन्द चोकमा चक्काजामसमेत गरेका छन् ।

देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन सुरु भइसकेको अवस्थामा राजर्षि जनक विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्नुको तात्पर्य नभएको आन्दोलनरत विद्यार्थीको भनाइ छ । ‘अरूतिरका शैक्षिक संस्थाले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन्,’ सोही विश्वविद्यालयमा अध्ययन श्रीराम साहले भने, ‘हाम्रोमा चाहिँ उपकुलपति प्राध्यापक भरत झा, कार्यवाहक क्याम्पस प्रमुख विनोदकुमार कर्ण र रजिष्ट्रार महेन्द्रप्रसाद यादवले अनलाइन कक्षाका नाममा विद्यार्थीलाई कोर्षको तयारी नगराई समय बर्बाद गराइरहनु भएको छ ।’


विश्वविद्यालयमा अध्यापन गर्ने शिक्षकहरू विद्यार्थीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै धर्नामा रहेकाले उनीहरूलाई बाइकट गरेर आन्दोलनलाई बेवास्ता नगर्न पनि विश्वविद्यालय प्रशासनलाई विद्यार्थीले चेतावनी दिएका छन् । ‘यहींका शिक्षकहरूलाई बेवास्ता गरेर बाहिरका शिक्षकहरू भित्र्याउनु हामीलाई मान्य छैन । जबसम्म विश्वविद्यालयका शिक्षकबाटै भौतिक रूपमा पठन पाठनको वातावरण मिलाइँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ साहले भने ।  

विश्वविद्यालयमा कोर्ष कन्ट्रयाक्टमा कार्यरत शिक्षकहरू करार नियुक्तिको माग गर्दै एक महिनादेखि आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले विश्वविद्यालयको मुख्य गेटअगाडि धर्ना दिँदै आएका छन् । ‘स्थापनाकालदेखि नै व्यवस्थापनले हामीलाई करार नियुक्त गर्ने आश्वासनसहित काममा लगाइरहेको छ । तर अहिलेसम्म आश्वासन पुरा नभएपपछि आन्दोलनमा उत्रिनु परेको हो,’ कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले भने ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x