शिक्षा

सीपयुक्त तालिमलाई रोजगारसँग जोडौं : शिक्षामन्त्री पौडेल

इकागज |
कात्तिक १०, २०७८ बुधबार ७:१९ बजे

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा परिणामूखी काम हुनुपर्ने बताएका छन् । मंगलबार व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको निरीक्षण गर्दै उनले गुणस्तरीय तालिमको पहुँच बढाइ सीपयुक्त र रोजगारसँग जोडेर काम गर्न निर्देशन दिए। 

नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम क्षेत्रको सेवा प्रवाहलाई सुद्दढ गर्दै जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह उनले आग्रह गरे । ‘तालिम प्राप्त जनशक्ति उत्पादनमा लक्ष्यअनुसार कामगरी परिणाम निकाल्ने गरी काम गर्नुहोस्’, मन्त्री पौडेलले भने, ‘काम गर्न नीतिगत समस्या छन् भने छलफल गरेर समाधान गरौं ।’


विश्व बैंकको ऋण सहयोगमा सञ्चालित व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको दोस्रो चरणको कार्यक्रमले असार मसान्तसम्ममा १ लाख १५ हजार जनालाई सीपयुक्त तालिम दिँदै छ । अबको ९ महिनामा मेहनत गरी जनशक्ति उत्पादनमा गम्भीरतापूर्वक लाग्नुपर्ने बताउँदै मन्त्री पौडेलले दलित, महिला, तथा एकल महिला, लोपोन्मुख जनजातीलगायतको समूहलाई समेटि काम गर्नुपर्नेमा जोड दिए। 

मन्त्री पौडेलले कोभिडका कारणले काम रोकियो भन्न नपाइने बताउँदै विश्वबैंकले तेस्रो चरणको परियोजनमा सहयोग गर्ने गरी काम गर्न निर्देशन दिए । ‘जनताको पक्षमा राम्रो काम गर्नेलाई पुरस्कृत र प्रोत्साहन गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘काम गर्ने कर्मचारीको पछिसम्म पनि सम्झन योग्य काम होस् ।’ कर्मचारीले प्राप्त गरेको जिम्मेवारी १० देखि ५ बजेसम्म मात्र नभइ २४ घण्टा खटेर नतिजा आउने तरिकाले काम गर्न मन्त्रीले निर्देशन दिए । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको दोस्रो चरणमा ६ अर्ब रुपैयाँ बजेट छुट्टिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिए ।


Author

थप समाचार
x