शिक्षा

राष्ट्रिय पुस्तकालय जमलमै बन्‍ने

इकागज |
कात्तिक २२, २०७८ सोमबार ११:५७ बजे

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल । फाइल तस्‍बिर

काठमाडौँ - राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंस्थित जमलमै बन्ने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयपछि पुस्तकालयको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले त्यहाँ त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो । व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए । 

२०७२ को भूकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । ‘भवन निर्माणको डिजाइन तयार भइसकेको छ, ठेक्का प्रक्रियामा जान्छ’ उनले भने । 


प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ओली सरकारले निर्माणमा रोक लगाएको पुस्तकालय भवन जमलमा नै निर्माण गर्न चासो देखाएका थिए । शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जमलस्थित कित्ता नं. १२७० मा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसारका काम अघि बढाउन स्वीकृति दिएको हो ।

अब त्यहाँको ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुनेछ । भवनको डीपीआर सकेर टेन्डर प्रक्रिया सुरु गर्ने बेला ओली नेतृत्वको सरकारले २०७७ साउन ५ मा ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा राष्ट्रिय पुस्तकालयको भवन निर्माण नगर्ने/नगराउने’ निर्णय गरेपछि काम रोकिएको थियो ।

पुस्तकालय निर्माणको प्रस्तावित जमलको जग्गामा त्यतिबेलै राखिएको ‘राष्ट्रिय पुस्तकालय भवन निर्माण स्थल’ लेखिएको साइनबोर्ड अहिले पनि छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्न त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सार्ने र राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो । २०७२ वैशाखको भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि जग्गा खोजी भएको थियो । 


Author

थप समाचार
x