शिक्षा

हलेसी तुवाचुङ नगरपालिकाद्वारा चाम्लिङ भाषा शिक्षकको व्यवस्था

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १५:२९ बजे

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चाम्लिङ भाषा श्रोत शिक्षकको दरबन्दी सिर्जना गरेको छ । नगरपालिकाले तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविमा चाम्लिङ भाषा श्रोत शिक्षकको एक दरबन्दी सिर्जना गरेको हो ।

नगरपालिकाले चाम्लिङ भाषा पठन पाठन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्चसमेत उपलब्ध गराउँदै आएको  छ । नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकका रुपमा कामकाज गर्न व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आव्हान गरेको छ ।


कम्तीमा आइएड उत्तिर्ण गरेका उम्मेद्वाले चाम्लिङ भाषा श्रोत शिक्षकका लागि आवेदन दिन सक्नेछन् । श्रोत शिक्षकले मासिक १३ हजार पाँच सय तलब सुविधा पाउने विद्यालयले जनाएको छ । चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकको रुपमा कामकाज गर्न नगर शिक्षक कार्यविधि बमोजिम प्राथमिक तहको नगर शिक्षक सरह हुने गरी श्रोत शिक्षकको दरबन्दी राखिएको मेयर इवन राईले बताए ।  

सो नगरपालिकाको वडा नम्बर –८ धितुङका सात विद्यालयमा ०६५ सालदेखि चाम्लिङ राई भाषामा पठन–पाठन हुँदै आएको छ ।
 


Author

थप समाचार
x