शिक्षा

छात्रवृत्ति तथा सहयोग सामग्री प्रदान

इकागज |
मंसिर १८, २०७८ शनिबार १२:२१ बजे

कास्की - अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सहयोगी सामग्री वितरण गरिएको छ । 

पोखरा–१५ नयाँ गाउँमा रहेको सगोल कास्कीले अपांगता भएका १६ छात्रा र १४ छात्रलाई झोला, कापी, कलम, विद्यालय पोशाक र फेस मास्क सहयोग प्रदान गरेको हो ।  सस्थाका सिबिआर अधिकृत विमला केसीले छात्रबृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाइका लागि ५०० प्रदान गरिएको बताइन् । 


त्यस्तै अपांगता भएका १५ जना नागरिकका लागि आवश्यकताअनुसारका सहयोगी सामग्री प्रदान गरिएको छ । अपांगताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैशाखी प्रदान गरिएको उनले जानकारी दिए । 

कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघसंस्थाको पनि उत्तिकै सहयोग मिलेको बताए ।  

गाउँपालिकाले अपांगता भएका व्यक्तिको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालनलगायत बेलाबेलामा विभिन्न सीपमूलक तालिमसमेत आयोजना गर्दै आएको छ ।

गाउँपालिकाकी उपप्रमुख लालसुवा गुरुङले अपांगता भएका व्यक्तिका लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नति र विकासमा ध्यान दिइएको जानकारी दिइन् । 

सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले सार्वजनिकस्थलको भौतिक पूर्वाधार निर्माणका क्रममा अपांगमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिएको जानकारी दिए । 

रुपा अपांगता संरक्षण समितिका अध्यक्ष सन्तबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपा – ५ का वडाध्यक्ष टेकबहादुर गुरुङ, गोनेसाका प्रज्वल पङ्गेनी, रुपा गाउँपालिका सामाजिक विकास शाखाका सीता सापकोटा सुवेदी, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल लगायतले अपांगता भएका व्यक्तिको अधिकारका लागि सरकारले ध्यान दिनुपर्छ भने । रासस


Author

थप समाचार
x