शिक्षा

पेसागत मर्यादा पालना नगरेको भन्दै शिक्षक र कर्मचारी हटाउने निर्णय

इकागज |
मंसिर १९, २०७८ आइतबार १३:२ बजे

खोटाङ - विना जानकारी लामाे समयसम्म विद्यालयमा अनुपस्थित भएको भन्दै हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेस्थित लक्ष्मी निमावि खोक्सेलीमा कार्यरत शिक्षक लोमस निरौलालाई पदबाट हटाइएको छ । १४ कात्तिकदेखि विद्यालयमा विना जानकारी अनुपस्थित रहेपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले निमावि तहका अंग्रेजी शिक्षक निरौलालाई पदबाट अवकाश दिने निर्णय गरेको हो ।

विद्यालयमा अनुपस्थित हुनुपर्ने कारण खुलाएर स्पष्टिकरण दिन र विद्यालयमा हाजिर हुन ५ मंसिरमा २४ घण्टे पत्र काट्दा पनि सम्पर्कविहिन रहेकाले निरौलालाई शिक्षा ऐन २०२८ अनुसार पदबाट हटाएको व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौडेलले बताए । 


तिहार, छठ र फाल्गुनन्द जयन्तीलाई लक्षित गर्दै विद्यालयमा १६ कात्तिकदेखि २८ कात्तिकसम्म विदा थियो । शिक्षक निरौला भने दुई दिनअगावै विदामा घर गएका थिए । तर उनी विदा सकिएपछि पनि सम्पर्कमा नरहेको प्रअ नयनकुमार राईले बताए ।

नगरपालिकाको शिक्षा शाखाले भने शिक्षक निरौलालाई नगरपालिकाले १ मंसिरदेखि काजमा राखेको जनाएको छ। विद्यालयमा फर्कने वातावरण बिग्रँदै गएपछि शिक्षक निरौलालाई नगरपालिकामा काजमा राखिएको जनाइएको छ । उनलाई काजमा राखिएको पत्र भने १३ मंसिरमा आएको विव्यास अध्यक्ष पौडेलले जनाए । शिक्षक निरौलामाथि कांग्रेसको जिल्ला अधिवेशनमा मत गणनालगायतमा खटिएको आरोप छ । उसो त प्रअ राई र शिक्षक निरौला क्रमशः एमाले र कांग्रेस निकट शिक्षक संगठनका नेता हुन् । राजनैतिक हिसाबले पनि उनीहरूबीचमा द्वन्द्व रहेको अभिभावकहरू बताउँछन् । 

विव्यास, विद्यालय प्रशासन र शिक्षकको लडाईँले विद्यालयको पठन-पाठन भने प्रभावित भएको छ । शिक्षक निरौलालाई व्यक्तिगत रिसइबी राखेर हटाउने निर्णय गरिएको पाइएकाले काज फिर्ता गरेर सोही विद्यालयमा हाजिर गराइने नगर शिक्षा शाखाका संयोजक पदम कार्कीले बताए । 

विद्यालयमा उत्पन्न समस्या, भवन निर्माणमा भएको अनियमिततालगायतका विषयमा छानबिनका लागि नगरपालिकाले रविकिरण आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । शिक्षकलाई जागिरबाट हटाउनुअघि अपनाइने विधि र प्रकृयालाई मिचेर निर्णय गरिएको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए । ‘सबै शिक्षकलाई समान व्यवहार गर्नुपर्छ । मन परेका शिक्षकलाई पछि हाजिर गर्न दिनु, मन नपर्ने शिक्षकलाई सजाय गर्नु उचित होईन,’ वडाध्यक्ष बस्नेतले भने, ‘अल्टिमेटम पनि एकैचोटी २४ घण्टे सोधिएको छ । जागीर नै खाइदिनेभन्दा पनि सुधार गर्नमा ध्यान दिनु पर्थ्याे ।’ 

यस्तै, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित शिवसिद्ध प्रावि कात्तिकेमा कार्यरत कर्मचारी (कास) रेगिन्द्र राईलाई पनि अवकाश दिने निर्णय गरिएको छ । १२ मंसिरमा बसेको व्यवस्थापन समितिको बैठकले विद्यालय कर्मचारी राईलाई शिक्षा ऐन २०२८ अनुसार अवकाश दिने निर्णय गरेको हो । छानबिन गर्दा विधि र प्रकृया पुगेको पाइए अवकाशको निर्णय स्वीकृत हुने शिक्षा शाखा संयोजक कार्कीले बताए । 

शिक्षा (नवौं संशोधन) ऐन, २०७४ मा पदीय दायित्व पूरा नगरेमा, विना सूचना लगातार १५ दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा, विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा, शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउन सकिने व्यवस्था छ । शैक्षिक-सत्र २०७६ देखि ‘शैक्षिक सुधार वर्ष’ अभियान थालेको नगरपालिकाले सोही वर्ष पेशागत मर्यादा विपरित काम गरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित रातमाटे प्राविका दुई शिक्षकलाई अवकाश दिएको थियो ।


Author

थप समाचार
x