शिक्षा

बढी शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजमा तालाबन्दी (भिडियाेसहित)

बाबुराम भण्डारी |
पुस २१, २०७८ बुधबार १५:४६ बजे

विराटनगर - आन्दोलनरत विद्यार्थीहरुले विराटनगरको नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुबाट गैरकानुनी रुपमा २० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुल्न खोजेपछि विद्यार्थी र अभिभावकहरुले एक सातायता नोबेल प्रशासनको ध्यानाकर्षण गराउँदै स्थानीय प्रशासनमा समेत ज्ञापन पत्र बुझाएका थिए । तर नोबेल प्रशासनले चिकित्सा सेवा आयोगले तोकेको शुल्कबाहेक अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरुलाई कक्षा कोठामै प्रवेश गर्न नदिएपछि बुधबार अपरान्ह आन्दोलनरत मेडिकल कलेजका विद्यार्थी र विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।


तालाबन्दीका क्रममा प्रहरी र सुरक्षागार्डहरुले अवरोध गरेपछि भएको घम्साघम्सीमा केही विद्यार्थीहरु समेत घाइते भएको अनेरास्ववियू मोरङका नेता तुलसी घिमिरेले जानकारी दिए ।

नोबेलले साविकमा कक्षा संचालन गर्दै आएको कक्षा कोठा बन्द गरेर बिरामीहरु राख्ने वार्डको पाँचौं तलामा छात्रवृत्ति, विदेशी विद्यार्थी र दबाबमा भर्ना भएका केही विद्यार्थीहरुलाई मात्रै राखेर कक्षा सञ्चाल गरेको थियो ।

अतिरिक्त शुल्क नतिर्ने ७५ जना बढी विद्यार्थीहरुलाई भने सुरक्षागार्ड लगाएर कक्षा कोठा पुग्नबाटै रोक्दै आएको थियो । विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क उठाएका विद्यार्थीहरुलाई तत्काल बढी लिएको रकम फिर्ता गर्न समेत माग गरेका छन् ।

मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले आयोगले तोकेको भन्दाबढी शुल्क लिएरै छाड्ने रणनीतिका साथ विद्यार्थीहरुको पठनपाठन नै रोकेपछि बुधबारदेखि अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरुले समेत मेडिकल विद्यार्थीहरुको आन्दोलनमा समर्थन जनाएका छन् ।

उनीहरुले मंगलबार नै कलेज प्रशासनलाई ज्ञापन पत्र बुझाएर विद्यार्थीहरुको पठनपाठन सूचारु गर्न र अतिरिक्त शुल्कका लागि दिइँदै आएको दबाब बन्द गरी चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा एमबीबीएस पढाउन माग गरेका थिए । चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक मनिष भट्टराईले विद्यार्थीहरुमाथि भइरहेको अन्यायविरुद्ध देशव्यापी आन्दोलन सुरु गरेको बताए । नोबेलले विभिन्न शीर्षकमा अतिरिक्त शुल्कका साथै होस्टल अनिवार्यका नाममा विद्यार्थीहरुमाथि आर्थिक शोषण गरेको उनले दाबी गरे । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x