शिक्षा

नोबेलमा शान्तिपूर्ण रिले अनसन बस्न गएका विद्यार्थीमाथि आक्रमण

आक्रमणबाट विद्यार्थी घाइते !

बाबुराम भण्डारी |
पुस २५, २०७८ आइतवार १५:३१ बजे

विराटनगर - जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सहमति विपरीत सिमित विद्यार्थीहरूलाई मात्रै सहभागी गराएर कक्षा संचालन गरेको विरोधमा विराटनगरस्थित नोबेला मेडिकल कलेज अगाडि रिले अनसन बस्न गएका विद्यार्थीमाथि त्यहाँ कार्यरत सुरक्षागार्डहरूले आक्रमण गरेका छन् । सुरक्षागार्डहरूको आक्रमणबाट नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगत घाइते भएका छन् । 

आन्दोलनरत मेडिकल विद्यार्थीसहित विभिन्न पार्टी सम्वद्ध विद्यार्थी संगठनहरू आइतबार अनसनका लागि नोबेलाको मुलगेट अगाडी पुग्दा हातमा मोटो लाठ्ठी बोकेर बसेका सुरक्षागार्डहरूले विद्यार्थीहरूमाथि आक्रमण गरेका हुन् । सुरक्षागार्डको आक्रमणबाट आधा दर्जन विद्यार्थीहरू घाइते भएको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला नेता नविन पहाडीले जानकारी दिए । नोबेलाले सामान्य सुरक्षाका लागि खटाइएका सुरक्षागार्डलाई हातमा लाठी बोकाएर विद्यार्थीहरूमाथि आक्रमण गराएको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाएका छन् । 


चिकित्सा शिक्षा आयोगले उपत्यका बाहिरका मेडिकल कलेजलाई एमबीबीएसतर्फ ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोके पनि नोबेलाले विद्यार्थीहरूसँग इन्टर्नशिप शुल्क भन्दै प्रति विद्यार्थी २ लाख ४० लाख हजार, अनिवार्य होस्टल बापत वार्षिक अग्रिम १ लाख ४४ हजार, केयू सम्बन्धन वापत थप ९५ हजार लगायत विभिन्न शिर्षकमा २० लाखसम्म अतिरिक्त शुल्क असुल्न खोज्दै आएको छ । 

सुरुमा अभिभावक र विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरेर शुल्कविरुद्ध आवाज उठाएका थिए । त्यसपछि भएका पटक–पटकका छलफल र वार्ताबाट गरिएका सहमतिहरू कार्यन्वयन गर्न आग्रह गरिएपनि नोबेला मेडिकल कलेजका संचालक सुनिल शर्माले विद्यार्थीहरूलाई उल्टै गालीगलौज र धम्की दिंदै आएका छन् ।

पछिल्लो पटक गत बुधबारमात्रै नोबेला मेडिकल कलेजका प्राचार्य प्राडा रामहरि घिमिरे र नोबेला मेडिकल कलेजका इन्टरनेशलन डाइरेक्टर भनिएका निरञ्जन कुमारले अतिरिक्त शुल्क नलिन सहमत भएको सम्झौतामा विद्यार्थी र अभिभावकहरूलाई साक्षी राखेर जिल्ला प्रशासनको रोहबरमा हस्ताक्षर गरेका थिए । सम्झौतामा पुस २५ अर्थात आज आइतबारदेखि सवै विद्यार्थीलाई कक्षामा प्रवेश गराई नियमित पठनपाठनको व्यवस्था मिलाउने र पठनपाठनको व्यवस्था मिलाउन नसक्दा उत्पन्न हुने परिस्थितिबाट शान्ति सुरक्षामा खलल् पार्नसक्ने अवस्थालाई मध्यनजर गरी चालु शैक्षिक सत्रको एमबीबीएसको १५औं ब्याचको पठनपाठन अर्को निर्णय नभएसम्म स्थगन गर्न नोबेला मेडिकल कलेजलाई निर्देशन दिने सहमति भएको हो ।

तर सम्झौता विपरित नोबेलाले छात्रबृत्तितर्फका १०, विदेशी ९ र करकापमा भर्ना भइसकेका थप केही विद्यार्थीहरूलाई मात्रै गोप्यरुपमा पठनपाठन गराएको विद्यार्थीहरूले दाबी गरेका छन् । त्यसैको विरोधमा उनीहरूले आइतबार रिले अनसन सुरु गरेका थिए । नोबेला प्रशासनले भने मेडिकल कलेजको परिसर बाहिर सटरमा रहेका केही औषधी व्यवसायीहरूलाई समेत प्रयोग गरेर विद्यार्थीविरुद्ध प्रदर्शनमा उतारेको छ । औषधी व्यवसायीहरूले विद्यार्थीहरूको आन्दोलनका कारण आफुहरूले गरि खान नपाएको भन्दै नोबेला प्रशासनलाई पक्षपोषण गर्दै विद्यार्थीहरूलाई गालीगलौज समेत गरेका थिए । 

नोबेलामा सगरमाथा र विराट गोर्खा सेक्यूरिटी कम्पनिका करीव एक सय जना सुरक्षागार्ड कार्यरत रहेका छन् । बाँसको लौरो बोकेर मेडिकल कलेजको गेटमा बसेका सुरक्षागार्डहरूले विद्यार्थीहरूमाथि निर्ममपूर्वक प्रहार गरेका छन् । सुरक्षागार्डबाट विद्यार्थी कुटिएपछि पुगेको प्रहरीले सुरक्षागार्डहरूलाई पछि सारेर प्रदर्शनलाई रोक्ने प्रयास गरेको थियो । सुरक्षागार्डहरूको आक्रमणबाट घाइते भएपछि आक्रोशित भएका विद्यार्थीहरूले मेडिकल कलेजमा ढुंगामुडा प्रहार गरेका छन् । ढुंगामुडाबाट मेडिकल कलेजको अगाडिको भागमा रहेका सिसा फुटेका छन् । 

मेडिकलतर्फका विद्यार्थीहरू अहिलेपनि अनसनमै रहेका छन् भने दलनिकटका विद्यार्थी संगठनका प्रतिनिधिहरू भने मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष ज्ञापन पत्र बुझाउन प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन् । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x