शिक्षा

‘विद्यालय बन्द हुनेबारे शिक्षा मन्त्रालयले निर्णय गर्छ’

सीसीएमसीको निर्णय सुरुदेखि मान्दै आएका छौँ : प्रवक्ता शर्मा

इकागज |
पुस २५, २०७८ आइतबार १९:४६ बजे

फाइल फोटो

काठमाडौँ : माघ १५ गतेसम्मलाई विद्यालय बन्द गर्ने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्णयबारे शिक्षा मन्त्रालयले साेमबार  मात्रै निर्णय गर्ने भएको छ । सीसीएमसीको आइतबार बेलूकी बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गने निर्णय गरेको छ । जुन निर्णय सिफारिसका रुपमा मन्त्रिपरिषद्मा जान्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि देशभर लागू हुने गरेको छ । 

तर अलिकति पनि छलफल नगरी सीसीएमसीले विद्यालय बन्द गर्ने निर्णय गरेपछि शिक्षक र विद्यार्थी अन्यौलमा परेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीले गरेको निर्णयबारे मन्त्रालयले सोमबार मात्रै निर्णय गर्ने बताए । सीसीएमसीले गरेको निर्णय यसअघिदेखि नै लागू हुँदै आएपनि अहिल्यै मन्त्रालयले धारणा सार्वजनिक गर्न नमिल्ने शर्माले बताए ।


‘मैले पनि भर्खरै सीसीएमसीले विद्यालय बन्द गर्ने निर्णय गरेको सुनेँ,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले इकागजसँग भने, ‘तर सीसीएमसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे साेमबार विस्तृत रुपमा छलफल गरेर निर्णय गर्छौ ।’

यसअघि २०७६ साल चैत ५ गते नै सीसीएमसीले नै एसईई स्थगित गर्ने निर्णय गरेको थियो । त्यतिबेला परीक्षा केन्द्र पुगिसकेका विद्यार्थी परीक्षा नदिएरै फर्किएका थिए । त्यसपछि सीसीएमसीले सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै लागू हुने गरेको छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि सीसीएमसी निर्देशक समितिको बैठकले गरेका निर्णय सोझै लागू हुने वा नहुनेबारे एकिन छैन । यद्यपी आइतबारको बैठकले ‘स्मार्ट लकडाउन’को रुपमा विद्यालयदेखि सार्वजनिक ठाउँमा स्वास्थ्य मापदण्ड लागू गर्ने निर्णय गरिसकेको छ ।

 


Author

थप समाचार
x