शिक्षा

सुनिल शर्मा कालोमोसो प्रकरण

'विद्यार्थीमाथिको लुट'विरुद्ध सिंहदरबारमै पोखिएको आक्रोश

कारबाहीका लागि गृह गुहार्ने शिक्षा मन्त्रालयको तयारी

विष्णु विवेक |
माघ २, २०७८ आइतबार ७:४० बजे

काठमाठौँ : शुक्रबार सरकारी निर्णय नमान्ने र विद्यार्थीबाट अतिरिक्त शुल्क असुलिरहने नोबेल मेडिकल र काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि विद्यार्थीले सिंहदरबारमै कालोमोसो दले । कांग्रेस राजनीतिमासमेत सक्रिय शर्मामाथि संयुक्त विद्यार्थी संगठनका तर्फबाट महेश मास्के र अमर पुनलगायत पाँच जना विद्यार्थीले शिक्षा मन्त्रालयमै मोसो दलेका हुन् । 

शर्मामाथि मोसो दलेलगत्तै सात विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति निकालेर ‘संयुक्त विद्यार्थी संगठनका तर्फबाट सञ्चालक शर्मामाथि कालोमोसो दलेको’ पुष्टि गर्दै पक्राउ परेका मास्के र पुनको रिहाईको मागसमेत गरेका थिए ।


नोबेल र केएमसी (काठमाडौँ मेडिकल कलेज)मा चरणबद्ध आन्दोलन गरेका एमबीबीएस विद्यार्थीका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयसमेत असफल भएपछि विद्यार्थीले सिंहदरबारमै कालोमोसो दलेर उनको लुट शैलीविरुद्ध अराजक नै भए पनि आक्रोश व्यक्त गरेका हुन् । संयुक्त विद्यार्थी संगठनमा कांग्रेस, एमाले र माओवादीलगायत दलका ७ भ्रातृ विद्यार्थी संगठन आबद्ध छन् । उनीहरू मेडिकल शिक्षाको मनोमानीविरुद्ध चरणबद्ध संघर्षमा थिए ।

कतिपयले सिंहदरबारमै शर्मामाथि कालोमोसो दल्ने विद्यार्थी संगठनको क्रियाकलाप गैरराजनीतिक भएको टिप्पणी गरेका छन् । सरकारले वार्तामा बोलाएर छलफल र सहमतिबाट विद्यार्थीका माग सम्बोधन गराउने विषयमा शर्मा पछि हट्दै उल्टै धम्कीपूर्ण शैलीमा प्रस्तुत भएपछि विद्यार्थीले कालोमोसो दलेको प्रतिक्रिया दिएका छन् ।

‘विद्यार्थीका माग सम्बोधन गराउने हाम्रो एउटै शर्त थियो । शिक्षा मन्त्रालयले त्यहीअनुसार वार्तामा बोलाएर छलफल पनि गरायो,’ नेत्रविक्रम चन्द नेकपा निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र विश्वकर्माले इकागजसँग भने, ‘तर उल्टै सरकारका निर्णय नमान्ने धम्की दिएर विद्यार्थी नेतामाथि दुर्व्यवहार गरेपछि कालोमोसो दल्न बाध्य भएका हौँ ।’

सिंहदरबारको सुरक्षा घेरामै कालोमोसो 

सञ्चालक शर्माले नोबेल र केएमसीमा एमबिबिएसका विद्यार्थीबाट ६ देखि १० लाखसम्म अतिरिक्त शुल्क उठाएको विद्यार्थीको गुनासो छ । अतिरिक्त शुल्क नबुझाए कक्षाकोठामै प्रवेश नै नदिने गरेपछि बाध्य भएर विद्यार्थी सडक आन्दोलनमा उत्रिएका हुन् ।

सिनामंगलमा रहेको केएमसी सडकमै विद्यार्थी आन्दोलित भएपछि शिक्षामन्त्री देवेन्द्र पौडेल आफैँ त्यहाँ पुगेर सर्वपक्षीय बैठकबाट माग सम्बोधन गर्ने वचन दिएका थिए । सोहीअनुसार शुक्रबार मन्त्रालयमा सर्वपक्षीय बैठकको आयोजना गरिएको हो । बैठकमा शिक्षामन्त्री पौडेल, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षा मन्त्रालयका कर्मचारी, मेडिकल कलेज सञ्चालक र विद्यार्थी लगायत सरोकारवालाको उपस्थिति थियो । 

खासगरी नोबेल र केएमसीमा चर्किएको विद्यार्थी आन्दोलनमा केन्दित छलफलमा सञ्चालक शर्माले खुलेआम अतिरिक्त शुल्क उठाउन पाउनुपर्ने माग गरे । यसका पछाडि उनले चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार निर्धारण गरिएको शुल्क वैज्ञानिक नभएको तर्क पेश गरे ।

आयोगले एमबिबिएसका लागि बढीमा ४० लाख र बिडिएसका लागि बढीमा २० लाख रुपैयाँसम्मको शुल्क तोकेको छ । तर मेडिकल कलेज सञ्चालक भने वर्षेनि अतिरिक्त शुल्क लिँदै आएका छन् ।

सबै सरोकारवालाले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउन नमिल्ने भन्दै निर्णय गरे । सर्वपक्षीय बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर मुर्मुरिँदै शर्मा बाहिरिए । उनीसँग प्रहरी पनि थिए । विद्यार्थी नेताको निशानामा परेका उनलाई प्रहरीले सुरक्षित रुपमा बाहिर निकाल्ने प्रयास गरेको थियो ।

तर शिक्षा मन्त्रालयको चौथो तलामा रहेको सभाहलबाट निस्केर तल ढोकाबाट बाहिर निस्कन नपाउँदै पाँच जना विद्यार्थीले शर्मामाथि कालोमोसो दले । मन्त्रालय परिसरमै रहेका पत्रकारबाट तत्कालै सञ्चारमाध्यममा समाचार सम्प्रेषण भयो ।

सरकारका निर्णय नमान्ने र आफुखुशी शुल्क लिन पाउनुपर्छ भन्ने ज्यादतीविरुद्ध शर्मालाई कालोमोसो दलेको विद्यार्थी नेताहरूको दाबी थियो । शिक्षा मन्त्रालयको सर्वपक्षीय बैठकका निर्णय नबाहिरिदैँ शर्मालाई कालोमोसो दलेको समाचार बाहिरिएपछि उनको ‘विस्तृत बखेडा’ एकपछि अर्को गरि बाहिर आएको हो । तर पनि शर्माले आफ्नो मनलाग्दी छाडेका छैनन् ।

उनले सर्वपक्षीय बैठकले अतिरिक्त शुल्क लिन नपाउने निर्णय नमान्ने बताइसकेका छन् । उनको त्यो प्रतिक्रियाविरुद्ध शिक्षा मन्त्रालय बोल्न चाहेको छैन । उल्टै मन्त्रालयको निर्णयमा शर्मा सहमत भएको सहसचिव हरि लम्सालले दाबी गरे ।

‘सर्वपक्षीय बैठकमा उहाँले वैज्ञानिक शुल्क निर्धारण हुनुपर्छ भन्नु भएको थियो । जुन कुरा जायज पनि हो,’ बैठकका निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका शिक्षाका सहसचिव लम्सालले भने, ‘मेडिकल सञ्चालकसँग एक किसिमको सहमति भएकाले अब सहज हुन्छ । निर्णयमा नोट अफ डिसेन्ट लेखेको र विद्यार्थीले कालोमोसो दलेको जानकारी मलाई छैन ।’

कारबाहीका लागि गृहमन्त्री गुहार्ने तयारी 

सरकारले वार्तामा बोलाएर विद्यार्थीका माग सम्बोधन गराउने प्रयास गरे पनि सञ्चालक शर्माले ठाडै अस्वीकार गरेपछि शिक्षामन्त्री पौडेल थप तनावमा परेका छन् । विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाउन सिनामंगल सडकमै पुगेका उनलाई शर्माले झस्काएपछि अब के गर्ने भन्ने तनाव थपिएको छ ।

‘हामीले सहज रूपमा छलफल गरेर उहाँलाई सहमतिमा ल्याउने प्रयास गरेका छौँ,’ मन्त्री पौडेल निकट स्रोतले भन्यो, ‘तर उहाँले ठाडै हाम्रो कुरा अस्वीकार गर्नुभयो । विद्यार्थीको माग सुन्न अस्वीकार गर्ने र सरकारको निर्णय नमान्ने भनेपछि अब कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

अतिरिक्त शुल्क नदिएसम्म विद्यार्थीलाई कक्षाकोठामा प्रवेश नदिने शर्माको ज्यादती नरोकिए गृहमन्त्रालयलाई कारबाहीका लागि पत्र लेख्ने तयारी शिक्षा मन्त्रालयको छ । यदि यसबीचमा विद्यार्थीलाई सहज वातावरणमा पढ्ने वातावरण दिए मौन रहने पनि मन्त्री पौडेलको मनसाय छ ।

‘यदि उहाँले सरकारको निर्णय नमानेर फेरि एमबिबिएसका विद्यार्थीलाई सडक आन्दोलनमा जान बाध्य पारेपछि कारबाहीको विकल्प हुँदैन,’ मन्त्रीनिकट स्रोतले भन्यो, ‘गृह मन्त्रालयलाई आवश्यक कारबाहीका लागि पत्र लेख्दा सम्बन्धन खारेजसम्म हुन सक्छ ।’

मेडिकल कलेजको साँचो बुझाउने धम्की !

नोबेल र केएमसीका सञ्चालक शर्मालाई विद्यार्थीले कालोमोसो दलेको घटनालाई मेडिकल कलेज सञ्चालक संस्थाले ‘आक्रमण’को संज्ञा दिएको छ । निजी मेडिकल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले शर्मामाथि कालोमोसो दलिनु ‘राज्यकै संरक्षणमा आक्रमण भइरहेको’ जनाएको हो ।

शनिबार एसोसिएनका अध्यक्ष बसरुद्दीन अन्सारीले विज्ञप्ति निकालेर मेडिकल कलेज सञ्चालकमाथिको आक्रमण नरोकिए कलेजको साँचो सरकारलाई बुझाउने धम्की समेत  दिएका छन् ।

‘निजी मेडिकल कलेज र त्यहाँका सञ्चालकहरूमाथि विभिन्न तवरबाट आक्रमण हुने, भौतिक कारबाहीको धम्की दिने, गाली बेइज्यती गर्नेक्रम भइरहेकोमा निजी क्षेत्रबाट सञ्चालित कुनै पनि मेडिकल कलेज, अस्पतालहरूमा क्षति पुगेको खण्डमा तथा मेडिकल कलेज व्यवसायीहरूमाथि भएका आक्रमणहरूको जिम्मेवारी राज्यले लिनुपर्दछ भन्ने हाम्रो माग छ’ अध्यक्ष अन्सारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

लगातार मेडिकल कलेज सञ्चालकमाथि आक्रमण गर्ने सरकारको कदमले आफूहरूको धैर्यताको बाँघ टुटेको भन्दै अब ताला लगाउनुको विकल्प नभएको अन्सारीले विज्ञप्तिमा लेखेका छन् । 

‘अब हाम्रा सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन । तसर्थ, कोरोना भाइरसको तेस्रो चरणको महामारी सन्निकट रहेको समयमा हामीले हाम्रा स्वास्थ्य संस्थाहरूमा ताला लगाएर चाबी सरकारलाई बुझाउने परिस्थिति सिर्जना नहोस्,’ विज्ञप्तिमा लेखिएको छ ।

यसबारे प्रतिक्रिया लिन खोज्दा अहिले आफूले नबोल्ने शर्माले बताए । उनले आफ्ना मेडिकल कलेज कर्मचारीसँग कुरा गर्न भनेपनि उनीहरु सम्पर्कमा आउन चाहेनन् । 

‘अहिले म बोल्न चाहन्न । बोल्नुको अर्थ पनि छैन,’ उनले इकागजसँग भने, ‘तपाईहरूलाई कुरा गर्न मन भए मेरा कर्मचारीसँग कुरा गर्नुस । मलाई डिस्टर्ब नगर्नुस ।’
अन्सारी, शर्मा लगायत मेडिकल कलेज सञ्चालकले अतिरिक्त शुल्क लिन नछाड्दा एमबिबिएस र बीडिएसका विद्यार्थी वर्षेनी आन्दोलित हुँदै आएका छन् । 


 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x