शिक्षा

इलाम सामुदायिक कृषि क्याम्पसले पायो सम्बन्धन

इकागज |
माघ ४, २०७८ मगलवार २१:६ बजे

इलाम - मुलुक मानै स्थानीय तहले सञ्चालन गर्न लागेको पहिलो सामुदायिक कृषि क्याम्पसले सम्बन्धन पाएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक कृषि क्याम्पसले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको हो । इलाम सामुदायिक कृषि क्याम्पसले सोमबार कृषि स्नातक सञ्चालनको लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सोमबार अनुमति पाएको हो । 

सम्बन्धन पाएसँगै सामुदायिक कृषि क्याम्पसले विद्यार्थीको भर्ना प्रक्रिया सुरु गरेको छ । भर्नाको लागि अनलाइन आवेदन खुलाएको क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । 


पूर्वाञ्चल विश्वविद्यालय र कृषि क्याम्पसको वेबसाइटबाट आवेदन भर्न सकिनेछ । १२ माघसम्म आवेदन पेस गर्न पाइने क्याम्पसले जनाएको छ । आवेदन पेस गरेकामध्ये इन्ट्रान्स उत्तीर्ण विद्यार्थीले क्याम्पसमा भर्ना हुन पाउने छन् । इन्ट्रान्स परीक्षा पनि इलाममा नै हुने बताइएको छ । 

इलाम सामुदायिक कृषि क्याम्पसमा बिएस्सी एजी अध्ययनको लागि विज्ञान विषय लिई प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । तर, उनीहरूले प्लसटुमा जीव विज्ञान र गणित विषय अध्ययन गरेको हुनुपर्नेछ । त्यस्तै आइएस्सी एजी गरेकाहरू र प्लसटुमा कृषि विज्ञान गरेका र सिटिइभिटिईमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएस्सी एजी पढ्न पाउनेछन् ।

चार वर्षमा पुरा हुने आठ सेमेस्टरको कोर्स पुरा एक जना विद्यार्थीले चार लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पहिलो र दोस्रो सेमेस्टरमा ७०/७० हजार रुपैयाँ बुझाउनुपर्नेछ । बाँकी रकम छ सेमेस्टरमा भुक्तानी गर्नुपर्नेछ । तेस्रो सेमेस्टरदेखि ४३ हजार रुपैयाँ हाराहारी शुल्क बुझाउनुपर्नेछ ।

क्याम्पसले कक्षा सञ्चालनको लागि तयारी पुरा गरेको छ । दुई वटा ल्याब, स्मार्ट क्लास रुम, अभ्यासको लागि फिल्ड तयार भएको क्याम्पस प्रमुख डा. योगन्द्रमान श्रेष्ठले जानकारी दिए । सामुदायिक कृषि क्याम्पसमा फागुनदेखि पठन पाठन सुरु हुने जनाइएको छ । 

इलाम नगरपालिका–९ मा स्थापना गरिएको कृषि क्याम्पस अन्य क्याम्पसहरूको तुलनामा सस्तो, अनुकूल वातावरणमा भएकाले दिगो रूपमा सञ्चालन हुने क्याम्पस सञ्चालक समितिका सदस्य सचिव ठाकुर नारायण श्रेष्ठ बताउँछन् । ‘अरूतिर साढे छ लाख देखि १५ लाख सम्म लाग्दो रहेछ, त्यसको तुलनामा इलाम सामुदायिक कृषि क्याम्पस सस्तो छ’, श्रेष्ठले भने,‘इलाम कृषिको जिल्ला हो, अध्ययनको लागि समेत इलामको वातावरण अनुकूल छ त्यसैले क्याम्पस दिगो रूपमा चल्छ भन्नेमा हामी ढुक्क छौ ।’

इलाम सामुदायिक कृषि क्याम्पस नेपाल मानै स्थानीय तहले स्थापना गरेको पहिलो सामुदायिक कृषि क्याम्पस हो । यो पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने समेत पहिलो कृषि क्याम्पस भएको क्याम्पस प्रमुख योगेन्द्रमान श्रेष्ठले बताए । क्याम्पस सञ्चालनको लागि इलाम नगरपालिकाले कार्यविधि बनाएको छ । 

कार्यविधि अनुसार महेन्द्र रन्त बहुमुखी क्याम्पसका पूर्व प्रमुख जसबहादुर लुङ्गेलीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । सञ्चालक समितिले अहिले दुई जना उपप्राद्यापक नियुक्त गरेको छ । अरू आवश्यक जनशक्ति करारमा लिइने बताइएको छ । 

 


Author

थप समाचार
x