शिक्षा

जनक शिक्षाको कागज खरिदमा करोडाैँ घोटाला

कागज परीक्षणको किर्ते रिपोर्ट बनाई भुक्तानी

विकास थापा |
माघ ५, २०७८ बुधबार १९:२५ बजे

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्रले किर्ते ल्याब रिपोर्ट खडा गरी गुणस्तरहीन कागज आपूर्ति गर्ने ठेकेदारलाई ६४ करोड आठ लाख रुपैयाँको अवैध ठेक्का दिएको पाइएको छ । यसमध्ये तीन करोड १६ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।

केन्द्र आफैले तयार गरेको ‘स्पेसिफिकेसन’ विपरीत कम गुणस्तरको कागज ल्याएको हो । इकागजलाई प्राप्त सबुद प्रमाणका कागजातअनुसार पाठ्यपुस्तक छापिने कागजको ‘ब्राइटनेस’ (सेतोपना) ९० प्रतिशतभन्दा बढी हुनुपर्छ । यो क्राइटेरिया जनक शिक्षा आफैले बनाएको हो ।


भारतको पेपर टेस्टिङ लेब्रोटरीले यही जनवरी ४ तारिखमा पठाएको कागजको गुणस्तरसम्बन्धी ल्याब रिपोर्टमा जनक शिक्षाले खरिद गरेको कागजको गुणस्तर ब्राइटनेस ८५.२ प्रतिशत मात्र छ । ९० र ८५.२ प्रतिशतबीच भएको मूल्यको फरक प्रतिमेट्रिक टन १० हजार रुपैयाँ हुन्छ ।

यसअनुसार ठेकेदार कम्पनीले ८५.२ प्रतिशत ब्राइटनेस भएको कागज आपूर्ति गरेर ६ करोड रुपैयाँ घोटाला गरेको इकागजलाई प्राप्त कागजातले देखाएको छ । ८५ प्रतिशतसम्म ब्राइटनेस भएको कागज उत्पादन नेपालमै हुन्छ । ९० प्रतिशत ब्राइटनेसको कागज नेपालमा उत्पादन हुँदैन । नेपाली उत्पादकलाई बोलपत्र प्रक्रियाबाटै रोकेर कागज आपूर्ति चाहिं नेपालमै उत्पादन हुने बराबरको गरियो । 

ठेकेदारलाई कागज आपूर्तिबापत भुक्तानी गर्दा जनक शिक्षाले गरेको माइन्यूट 

जनक शिक्षाले ठेकेदार विध म्यानेजमेन्ट, म्याप र सीभीसी जेभीलाई भुक्तानी दिंदा गरेको माइन्यूटमा १६ डिसेम्बरमा भारतको उक्त ल्याबले प्रतिवेदन दिएको उल्लेख छ । जबकि उक्त ल्याबले यही ४ तारिखमा आफ्नो प्रतिवेदन पठाएको थियो । अहिले जनक शिक्षाले भारतीय ल्याबको प्रतिवेदन गायब तुल्याएको छ ।

जनक शिक्षाले आगामी चैत १० गतेसम्म ६ हजार मेट्रिक टन कागज आपूर्ति सुनिश्चित हुने गरी उक्त जेभीलाई ठेक्का दिएको थियो । हालसम्म यो ठेकेदारले एक हजार टन कागज समेत आपूर्ति गरेको छैन । आपूर्ति गरेको कागजको चाहिं जनक शिक्षाले भुक्तानी दिइसकेको छ ।

कागज आपूर्ति ठेक्का पाएको विध म्यानेजमेन्ट नेपालमा कोरोना भाइरसको पीसीआर टेस्ट गर्ने ल्याब हो । त्यसैगरी म्याप इन्टरप्राइजेज विभिन्न मेसिन तथा औजार आपूर्ति गर्ने कम्पनी हो भने सीबीसीचाहिं निर्माण कार्य गर्ने कम्पनी हो । 

यिनीहरुको यो संयुक्त कम्पनीलाई कागज आपूर्तिको ठेक्का दिनुअघि जनक शिक्षाले सुदीपा ट्रेडिङ कम्पनीले प्रतिमेट्रिक टन एक लाख एक हजार चार सय ६५ रुपैयाँ (सबैभन्दा न्यून) प्रस्ताव गरेको थियो । सबैभन्दा कम दरमा हाल्ने उक्त कम्पनीलाई ठेक्का नदिई दोस्रोपटक टेण्डर आव्हान गरिएको थियो । पहिलो ठेक्का रद्द गर्ने बेला ‘कागज उत्पादन गर्ने मिलको अनुभवको प्रमाणपत्र नभएको’ कारण देखाइएको थियो ।

भारतीय ल्याबमा कागजको गुणस्तर परीक्षण रिर्पोट 

हाल ठेक्का पाएको संयुक्त उद्यम (जेभी) ले प्रतिमेट्रिक एक लाख ६ हजार आठ सय रुपैयाँमा हालेको छ । यो कम्पनीलाई ठेक्का दिंदा जनक शिक्षालाई ३ करोड ६२ लाख रुपैयाँ ठाडै घाटा परेको छ । 

जनक शिक्षाले यो कागज कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक छाप्नका लागि टेण्डर गरेको हो । तर ठेकेदारले ठेक्का सम्झौतामा उल्लेख भएको समयमा आपूर्ति गर्न नसक्ने निश्चित छ । उसले कात्तिक १० देखि हरेक महिना एक, एक हजार मेट्रिक टन आपूर्ति गरी चैत १० गतेभित्र सबै परिमाणको कागज उपलब्ध गराइसक्नुपर्ने सम्झौता छ । हालसम्म ४ हजार मेट्रिक टन कागज आपूर्ति भइसक्नुपर्ने थियो । तर एक हजार मेट्रिक टन पनि आपूर्ति गरेको छैन । यसले गर्दा सदाभैंm यसपालि पनि समयमै पाठ्यपुस्तक विद्यार्थी नपाउने भएका छन् ।

जनक शिक्षाले तयार पारेको कागजको ‘टेक्निकल स्पेशिफिकेशन’ 

यस सम्बन्धमा केन्द्रका प्रबन्ध निर्दशक अनिलकुमार झा सम्पर्कमा आउन चाहेनन् । झालाई अघिल्लो केपी ओलीको सरकारका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले दोहो¥याएर प्रबन्ध निर्देशकमा नियुक्ति गरेका थिए ।

झाको पहिलो कार्यकाल विवादित थियो । उनी प्रबन्धक निर्देशकबाट निवृत्त हुँदा केन्द्रलाई एक अर्ब ३० करोड रुपैयाँ ऋणको भार बोकाएका थिए । हाल केन्द्रको अचल सम्पत्ति (जग्गाजमिन) को लालपूर्जा जति सबै बैंकहरुले राखेका छन् । झाको पहिलो प्रबन्ध निर्देशकको अवधिभर केन्द्र घाटामा गएको थियो । 
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x