शिक्षा

चार वर्षसम्म तलब नपाएपछि विद्यालयविरुद्ध उजुरी

इकागज |
चैत १८, २०७८ शुक्रवार १४:४९ बजे

काठमाडाैँ – कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलब नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र  व्यवस्थापनविरुद्ध उजुरी गरेकी छन् । 

आफूलाई चार वर्षसम्म तलब नदिएर श्रम शोषण गरेको भन्दै प्रधानाध्यापक र विद्यालय व्यवस्थापनविरुद्ध उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी हुन् । 


शेर्पा २०६४ देखि उक्त विद्यालयको कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन् । शुरूमा एक हजार तलब सुविधा पाउँदै आएकी उनको तलब पछि ५०० रूपैयाँले वृद्धि भएर मासिक एक हजार ५०० पुगेको थियो ।

२०७२ सालको साउन महिनासम्म शेर्पाले नियमितरुपमा तलब पाइरहेकी थिइन् । पछि २०७२ भदाै ४ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेर उनलाई वार्षिक ५० हजार तलब दिने निर्णय गरिएको थियो । उक्त निर्णयपछिका चार वर्षसम्म भने उनले तलब पाएकी छैनन् । विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग  पटक–पटक ताकेता गर्दा पनि तलब नदिएकाले आफूले बाध्य भएर उजुरी दिनु परेको शेर्पाले बताइन् । 

विद्यालयमा पटक–पटक आफूले पाउनुपर्ने तलबबारे ताकेता गर्दा प्रधानध्यापक होमराज तामाङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कामी शेर्पाले विभिन्न बाहना गर्दै आलटाल गरेर तलब नदिएको उनको गुनासो छ ।  

'जति तोकता गर्दा पनि प्रधानाध्यापक र  अध्यक्षले कुनै चासो नदिएपछि २०७६ असार महिनामा जागिर छोडिदिएँ, त्यो बेला नै उजुरी दिने सोचमा थिएँ । उहाँहरु गाउँठाउँकै व्यक्ति भएकाले मुद्दा मामिला बिना नै तलब दिनुहुन्छ भन्ने लागेको थियो,' उनले भने, 'कतै उजुरी गर्नु पर्दैन चाँडै तलव दिलाइदिन्छौ भनेकै कारण यो बेलासम्म कुरेको पनि थिएँ तर जति आग्रह गरेपनि तलब नपाएपछि आखिरमा उजुरी गर्न बाध्य भएकी हुँ ।' 

शेर्पाले विद्यालयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा यही चैत १३ गते उजुरी दर्ता गराएकी हुन् । 

कार्यालय सहयोगी शेर्पाको तलबको विषयमा आफू जिम्मेवार नहुने प्रधानध्यापक होमराज तामाङ बताउँछन् । यो विषय विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीभित्र पर्ने उनले प्रतिक्रिया दिए । 

'समितिका अध्यक्षले आफैं तलब दिलाउँछु भनेर कार्यालय सहयोगीको रुपमा उहाँलाई राख्नुभएको हो, प्रायः आर्थिक कारोबार पनि उनले नै गर्नुहुन्छ, कार्यालय सहयोगीलाई तलब दिने कुरा पनि उहाँकै जिम्मेवारी भएकाले यसबारे म धेरै बोल्दिनँ,' प्रधानाध्यापक तामाङले  भने । 

अध्यक्ष शेर्पाले भने प्रधानाध्यापक  तामाङले आफूलाई जानकारी नै नदिई बैंकबाट रकम  निकासा गर्ने गरेकाले यो समस्या भएको बताए । 

'प्रधानाध्यापकले मनोमानी ढंगले बैंकबाट पैसा निकालेकाले कार्यालय सहयोगी शेर्पालाई तलब दिलाउने विषयमा पहिल्यैदेखि नै विवाद हुँदै आएको थियो,' उनले भने, 'शेर्पाले पनि जागिर छाडेपछि तलब दिलाउन झनै समस्या भयो ।'

मुद्दा परिसकेकाले सरसल्लाहमा टुंगोमा पुग्ने उनको भनाइ छ । 

उक्त गाउँपालिकाको शिक्षा शाखाले विद्यालयमा अनियमितता भएको गुनासो आएपछि स्पष्टीकरण सोधेको छ । 

कर्मचारीले तलब नपाएको र प्रधानाध्यापक र अध्यक्षबीच विवाद भएको विषयमा प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको शिक्षा शाखाका निमित्त प्रमुख बुद्धिराज मुलिचाले बताए । 

जिल्ला प्रशासन कार्यालयले भने उजुरी परेको र यो विषय छानबिनकै क्रममा रहेको जनाएको छ । 

उजुरीमाथि छानबिन शुरू भएको बताउँदै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भने, 'चार वर्षसम्म तलब नपाउँदा पनि उहाँले किन उजुरी दिनुभएन ? यो अलि असामान्य विषय भएकाले हामी छानबिन गर्छौं ।' 

उनले सम्बन्धित पक्षलाई झिकाएर छलफल गरी कार्यालय सहयोगी शेर्पा आर्थिक शोषणमै परेको पुष्टि भए दोषीउपर कारबाही र पीडितलाई न्याय दिलाउने उनको भनाइ छ । 

पीडित डोमा शेर्पाले प्रधानाध्यापक र अध्यक्षले पाउने जति सबै तलब चाँडै दिलाउने आश्वासन दिएकै कारण उजुरी दिन ढिलाइ भएको बताइन् । 

गत भदौ ३१ गते रामेछापको मन्थलीस्थित कुनौरीमा भएको बोलेरो दुर्घटनामा श्रीमानलाई गुमाएपछि उनलाई थप आर्थिक संकट झेल्नुपरेको थियो । 

बालबालिकाको शिक्षादीक्षामा सहयोग पुग्ने भएकाले आफूले पाउनुपर्ने तलबबापतको रकम माग गरेको शेर्पाको भनाइ छ । रासस


Author

थप समाचार
x