स्थानीय तह निर्वाचन २०७९

पार्टीले हारेपछि लेकबेशी एमाले नेतृत्वले दिए राजीनामा

इकागज |
जेठ ४, २०७९ बुधवार ११:१८ बजे

सुर्खेत– २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले वर्चश्व जमाएको सुर्खेतको लेकबेशी नगरपालिकामा एमालेले नराम्रोसँग पराजय भोग्नु परेको भन्दै पार्टीका नगरका नेतृत्वहरूले राजीनामा दिएका छन् । एमालेले पालिकामा पराजय भोगेको भन्दै पार्टीका नगर इन्जार्ज र सह इन्चार्जले पदबाट राजीनामा दिएका हुन् । 

लेकबेशी नगरपालिकाका उपप्रमुख समेत रहेकी शान्ति छन्तेलले एमालेको पालिकाको सह–इञ्चार्ज र टीकाराम सोमैले इञ्चार्जबाट राजीनामा दिएका छन् । आज विज्ञप्ति जारी गर्दै उनीहरूले राजीनामा दिएको जानकारी गराएका हुन् । ‘०७४ मा प्रमुख, उपप्रमुख सहित ६ वटा वडामा बहुमतसहित सफलता हात पारेका थियौँ  । यो पटक उपप्रमुख र दुई वटा वडामा मात्रै उपस्थिति भयो’ पत्रमा भनिएको छ, ‘बाँकी सबैमा पराजय हुनु परेकाले हामी पार्टी संगठनका जिम्मेवारीमा रहेकाहरूले आजकै मितिबाट जिम्मेवारीमा नरहने गरी राजीनामा पेस गरेका छौँ ।’


अघिल्लो निर्वाचनमा प्रमुख,उपप्रमुखसहित ६ वटा वडा जितेको एमालेले यसपटक उपप्रमुख र दुई वटा वडा मात्र जितेको छ । यो पटक नेपाली कांग्रेसले ८ वटा वडासहित पालिका प्रमुख आफ्नो पोल्टामा पारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका उमेशकुमार पौडेल ६ हजार ६ सय ३९ मत ल्याएर एमालेका देवबहादुर रानालाई २६५ मतान्तरले पराजित गरेका हुन् ।  एमालेबाट मेयर उठेका रानाले ६ हजार ३ सय ७४ मत पाए । 

यस्तै माओवादीबाट उम्मेदवार बनेका रामबहादुर चपाइँले ८०४ मत पाएका छन्  । उपप्रमुखमा भने एमालेकी विमला खड्लुक निर्वाचित भएकी छन् । उनले ६ हजार १०९ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देउकली थापा मगरले ५ हजार ४४० मत प्राप्त गरिन् । 

०७४ मा यो नगरपालिकामा प्रमुखरउपप्रमुख दुवै एमालेले हात पारेको थियो । एमालेका गगनसिंह सुनारले ५ हजार ७५३ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । 

यस्तै दोस्रोमा नेपाली काँग्रेसका उमेश कुमार पौडेलले ४ हजार तीन सय ९९,  माओवादी केन्द्रका खड्ग घर्तीले २ हजार एक सय ५८ मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी शान्ति कुमारी छन्तेलले ५ हजार ७४० मत ल्याएकी थिइन् । नेपाली कांग्रेसकी लिलमती विकले ४ हजार ४३८ र माओवादी केन्द्रकी आरती विकले १ हजार ९५७ मत ल्याएकी थिइन् ।


Author

थप समाचार
x