स्थानीय तह निर्वाचन २०७९

मुख्यमन्त्री पत्नी खातुन गाउँपालिका उपाध्यक्षमा पराजित

इकागज |
जेठ ६, २०७९ शुक्रवार १६:२७ बजे

वीरगञ्ज - मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा पराजित भएकी छिन् ।  गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी हुन् ।

बबिताले ५ हजार ५ सय ३१ मत पाउदा , उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीरा देवीले भने ३ हजार ३ सय ४५ मत पाएकी छन् । मुख्यमन्त्री पत्नी खातुनले तीन हजार एक सय २३ मत पाइन् ।


जसपाबाटै उपाध्यक्षमा निर्वाचित भएकी बिस्मिल्लाह खातुनलाई टिकट नदिइ जसपाले मुख्यमन्त्री राउतको जोडबलमा उनकी श्रीमती जलेखालाई उम्मेदवार बनाउने तयारी गरेपछि मनोनयनको अन्तिम समयमा बिस्मिल्लाह जसपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

यता वीरगन्ज महानगरपालिकाका ३२ वटा वडामध्ये अहिलेसम्म १६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले निरन्तर अग्रता कायम राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान र नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी बीच ११ हजारभन्दा बढी मतको फराकिलो अन्तर देखिएको छ । 

अहिले सम्म ४४ हजार ४ सय ७७ मत गणना हुदा राजेशमानले २२ हजार ५ सय ९६ मत पाएका छन् । एमालेका विजयकुमार सरावगीले ११ हजार ७ सय ८५ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले १६१३९ मत पाउँदा पुरुषोत्तमलाल झाले हालसम्म ३३५६ मत मात्रै पाएका छन् । 

वीरगन्ज महानगरपालिकाका ३२ वटा वडा मध्ये अहिले सम्म १६ वटा वडाको अन्ति मत परिणाम सार्वजनिक हुँदा जस मध्ये काँग्रेसले ७ , जसपाले ६ , एमालेले  २ र लोसपाले १ वटा वडामा वडा अध्यक्ष जितेको छ । 

महानगरपालिकाको वडा १, २ , ३ , ४ , ५ , ६ , ७ , ९ , २५ , २६, २७ , २८ , २९ , ३० , ३१ र ३२ को नतिजा आइसकेको हो । 
त्यस्तै पर्साको १४ पालिका मध्ये १३ पालिकाको नतीजा शुक्रबारसम्ममा सार्वजनिक भएको छ । जसमध्ये काँग्रेसले ४ , एमालेले ५ , जसपाले ३ र लोसपाले १ पालिका प्रमुख जितेको छ । 

यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जसवन्त यादव निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष एंव जसपाका उम्मेदवार प्रदीप जयसवाललाई एक हजार ८ सय ३१ मतको फराकिलो अन्तरले पराजित गर्दै एमालेका उम्मेदवार ३२ वर्षीय यादव अध्यक्षमा निर्वाचित भएका हुन् । 

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन् । नेकपा एमालेकी उम्मेदवार एंव निवर्तमान उपाध्यक्ष फुलमति कुमारी थरुनीलाई २१२ मतान्तरले पछि पार्दै बिष्ट विजयी भएकी हुन् । बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाएकी छिन् । 

त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिकामा दुवै पदमा नेपाली काँग्रेस विजयी भएको छ । गाँउपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि काँग्रेसकी बबीता सिंह निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित यादवले ५७४९ मत पाउदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार महम्मद सलिम मन्सुर भने ३९२६ मत मात्रै पाएका छन् । त्यसैगरी गाँउपालिका उपाध्यक्षमा पनि काँग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् । 

पर्साको जगरनाथपुरमा एमाले नेता रहेका जालीम मिया अन्सारीको विरासत भने नेपाली काँग्रेसले ढालेको छ । जालीम मुखीयाका नामले समेत परिचित जालीम मिया, निवर्तमान गाँउपालिका अध्यक्ष पनि हुन् । आफु संघीय संसदमा चुनाव लड्ने तयारीमा रहेका निवर्तमान अध्यक्ष जालीमले स्थानीय तह निर्वाचनमा भने आफना भाइ महम्मद सलिम मन्सुरलाई एमालेबाट गाँउपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए । तर यसपालि भने आफनै पालिकामा आफनो विरासत जोगाउन असफल भएका छन् ।

यस्तै पर्साको छिपहरमाइ गाँउपालिकाको अध्यक्षमा पुन नेकपा एमालेका मनोज गुप्ता विजयी भएका छन् । शुक्रबार सकिएको मगणनाको अन्तिम परिणामअनुसार गाँउपालिका अध्यक्षमा एमालेका उम्मेदवार तथा निवर्तमान अध्यक्ष गुप्ता विजयी भएका हुन्  । 

निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार इन्द्रासन कलवारलाई ३२० मत अन्तरले हराउदै एमालेका गुप्ता पुन अध्यक्षमा निर्वाचित भएका हुन् । गुप्ताले ४१८८ मत पाउदा कलवारले भने ३८६८ मत पाएका छन् ।

यस्तै छिपहरमाइ गाँउपालिकाको उपाध्यक्ष भने नेपाली काँग्रेसले जितेको छ । उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार लीलावती देवी कानु निर्वाचित भएकी छन् । लीलावती देवी ३८०१ मतका साथ निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मोदीना खातुनले भने ३५९० मत पाएकी छन् ।


Author

थप समाचार
x