स्थानीय तह निर्वाचन २०७९

धरान उपमहानगरलाई ब्युँझाउने साम्पाङको त्यो जागरण

अतिन आचार्य |
जेठ ८, २०७९ आइतवार १८:३८ बजे

काठमाडौँ– ‘पार्टीको चुनाव चिन्ह भनेको निर्जीव नक्सा मात्र हो । नक्साले काम गर्ने हो र ? बारम्बार भन्ने गर्छु नक्साले काम गर्ने भए चौबाटोमा सूर्य र रुखको चिन्ह बनाउनुहोस्,’ धरान उपमहानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारका क्रममा मतदाताको घरआँगनमा भन्दै थिए ।

उनले निर्वाचनबाट काम गर्ने असल व्यक्तिलाई चुन्नुपर्ने भनाइ राख्थे । साङपाङ अटोरिक्सामा लाउडस्पीकर राखेर माइकिङ गर्दै निर्वाचन प्रचारप्रसारमा खटिएका थिए । दलका उम्मेदवारहरूले जस्तो उनले सभाजुलुस गरेनन् । उनी भन्थे, ‘यो पटक हर्क साम्पाङलाई जिताउनुहोस । यहाँको समस्या के हो भनेर पहिचान गरेको छु, काम गरेर देखाउँछु ।’ 


धरानवासीको खानेपानीको समस्या समाधान गर्ने उनले प्रण नै गरेका थिए । 

धरानलाई प्रदेश १ को कुलीन र सम्भ्रान्तहरूको सहरको रुपमा चिनिन्छ ।  यहाँ भारतीय र ब्रिटिश लाहुरेको बस्ती छ ।  यहाँका स्थानीय लाहुरे बनेर हङकङ र बेलायतमा बसोबास गर्छन् । कुनै समय धरानलाई लाहुरेको सहर भनिन्थ्यो । तर, अहिले भने धरानमा बाहिरी जिल्लाबाट बसाइसराइँ आउने मानिसको संख्या बढेको छ ।

गएको पाँच वर्षमा धरान उपमहानगरमा दुई ठूला दलको सरकार बन्यो । पहिलो निर्वाचनमा नेकपा एमालेका तारा सुब्बा र उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले धरान उपमहानगरलाई नेतृत्व गरे । ठूला दलका उम्मेदवारहरू कुर्सीमा बसे पनि कुर्सीमा पुर्‍याउनेको समस्या सुनेनन् । जसका विरुद्ध धरानका जनताले स्वतन्त्र उम्मेदवार साम्पाङलाई चुने । त्यसो त साम्पाङ तीन वर्षअघिको उपनिर्वाचनमा पनि मेयरको उम्मेदवार बनेका थिए, त्यतिबेला उनले चार सय २२ मात्र मत प्राप्त गरेकाले ठूला दलले उनलाई गम्भीरतापूर्वक लिएका थिएनन् । 

धरानमा कुनै सार्वजनिक सम्पत्ति, स्थल वा सरोकारका विषयमा आवाज उठाउने पहिलो व्यक्ति उनै साम्पाङ हुन्थे । उपमहानगर भित्रको प्राकृतिक क्षेत्र दोहन भएमा पनि उनी पहिले पुग्थे । धरानको वर्षौदेखि समस्याको रुपमा परिचित खानेपानीको अभाव । खानेपानीको अभाव टार्ने नै उनको सबैभन्दा प्रमुख चुनावी नारा थियो ।

सप्तकोशीको छेउमा रहेको धरानको मुख्य समस्या खानेपानी हो । स्थानीयलाई सहजै खानेपानीको उपलब्धता छैन । ठूला–ठूला भवनको छतमा निला र काला पानीको टयांकी छन् । रित्ता ट्यांकी र नजिकबाट सुसाउँदै बगेको सप्तकोशीले काकाकुल धरानवासीलाई सधैं जिस्काइरहन्छ ।

उनी धारामा रित्तो गाग्री थापिरहेको स्थानमा पुग्थे । साम्पाङ पानी भरिरहेकालाई धरानको दुःख सुनाउँदै भन्थे,’ खानेपानी पाइदैन । यहाँको मुख्य समस्या भनेको खानेपानी हो । तपाइहरूको लागि चतराबाट पानी ल्याएर खुवाउँछु ।’

जेठको गर्मीमा जसरी धरान तातिएको  छ, एकपटक स्थानीय तह निर्वाचनको परिणामले धरानलाई तताएको छ । धरानलाई मात्र तताएन देशको नजरतर्फ परेको छ । गफ गर्ने माध्यम धरान बनेको छ । ‘धरानको सचेत जनताले चुनाव चिन्ह हेरेनन् । मानिस हेरेर मत दिएका छन् ।’

धरानको समाजले उनलाई ढिलो चिनेको छ । अर्थात्, साम्पाङको जागरणले धरान ब्युँझिएको छ । कवि स्वप्नील स्मृतिले उनलाई हर्क साम्पाङलाई एउटा भुइँ मान्छे, एक विद्रोहीको  एक प्रतिरोधीको संज्ञा दिएका छन् । उनले शुभकामना दिदैं भनेका पनि छन्,’ एक जोधाहा जबर्जस्त इच्छाशक्तिका धनी, धरान मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भए, शुभकामना !’

धरानका तत्कालीन नेतृत्वको कार्यशैलीप्रति विरोधको स्वर गुञ्जयमान गराउँदै सडकमा निस्कँदा सधैं सेतो सर्ट र कालो पाइन्टमा देखिने साम्पाङ एक्लै चोकमा बसेर भाषण गर्दा धरानका सम्भ्रान्तलाई गिज्याइरहेझैं लाग्थ्यो । नागरिकको घरमा पुगेर नगरको समस्या सुन्ने र नागरिकको समस्याप्रति सचेत र गम्भीर बन्ने उनले जनताका समस्यालाई सबैभन्दा राम्रोसँग बुझेका थिए ।  

खोटाङ खार्तम्छा चोखने ९ मा जन्मेका उनले धरानमा बाल्यकाल बिताए । बाबु ब्रिटिश लाहुरेमा काम गरेकाले उनी घोपा क्याम्पमा बसे । ब्रिटिशको क्याम्प पोखरामा सरेपछि केही समय गाउँ गएका थिए, उनको परिवार । 

साम्पाङले राजनीति र समाज शास्त्रमा स्नातक गरेका छन् । उनले राजनीति र समाज मात्र बुझेका छैनन् । पेशागत र व्यवसायिक जीवन कस्तो हुन्छ भनी बुझेका छन् । उनी १० वर्ष शिक्षण पेशामा सक्रिय थिए । 

त्यसो त वैदेशिक रोजगारीमा पनि गएका थिए, साम्पाङ । विदेश भूमिमा गरेको कर्म र सिकेको ज्ञान नेपालमा बाँड्न उनले समाजसेवा र राजनीतिक जागरण शुरु गरेका थिए । 

धरानको वास्तविक अवस्था देखेर करिब एक दशक देखि उनले राष्ट्रिय एकता र चेतनामूलक आवाज उठाउँदै आएका छन् । उनले भ्रष्ट्राचार र बेथितिविरुद्ध बोल्दाबोल्दै उनी आफैंले सुशासन र कार्यसम्पादन गरेर देखाउने कार्यकारिणीको अधिकार पाएका छन् ।

धरान सम्पन्न मानिसहरू बसोबास गर्ने सहर भएपनि त्यहाँ अरु धेरै मानिसहरू सम्पन्न र सुखी बन्ने सपना साँचेर बसेका छन्  । काम गरेर देखाउने ठाउँमा पुगेका साम्पाङको काँधमा अब जनताको त्यो सपना पूरा गर्ने जिम्मेवारी आएको छ । 

‘मेरो कार्यकालमा प्रत्येक धरानवासीको घरमा खानेपानी पुर्‍याउँछु, यो मेरो पहिलो प्राथमिकता हुनेछ’ उनी भन्छन, ‘काकाकुल धरानलाई खानेपानीसँगै अरु सार्वजनिक सेवा पनि सहज, गुणस्तरीय र प्रभावकारी ढंगले उपभोग गर्न सक्ने बनाउँछु ।’

‘समाज के हो धरानले बुझेन असल समाज कस्तो हुन्छ त्यो बुझाउने अवसर पाएको छु,’ उनले थपे,’ पार्टीवाद, जातिवाद र बेवास्तावादले धरानलाई गाँजेको छ ।’
सत्य र न्याय भन्दा ठूलो अरु केही नहुने साम्पाङले बताए । साम्पाङ धरानको एक्लो प्रतिपक्ष थिए । जनताको पक्षमा निरन्तर काम गरेकाले साथ पाएको ठान्छन्, उनी । 

जनताको कुरा उठाउँदा उनको हातमा हतकडी परेको थियो । एक्लो भएपनि आफूबाट राम्रो कामको सुरुवात हुने उनको विश्वास छ । ‘महात्मा गान्धी, गौतम बुद्ध, मार्क्स र माओ सबै शुरुवातमा एक्लै थिए,’ कुराकानी टुंग्याउँदै उनले भने । 

यो पनि पढ्नुहोस् :

पानी अभियन्ता हर्कराज साम्पाङ राई बने धरानको मेयर, पाए २०८२१ मत


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x