स्थानीय तह निर्वाचन २०७९

पोखरामा एमालेको विरासत खोस्ने धनराज को हुन् ?

इकागज |
जेठ ११, २०७९ बुधबार ८:१ बजे

गण्डकी - पोखरा महानगरपालिकामा नेकपा एमालेको विरासत भत्काउँदै नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य मेयरमा निर्वाचित भएका छन् । आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरे । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए । उपमेयरमा भने नेकपा (एमाले) की  मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । 

अघिल्लो निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भएका थिए । पोखरामा सत्ता गठबन्धनले चुनावी तालमेल गरेको थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो।


पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिएका आचार्य नेकपा (एकीकृत समाजवादी)को कास्की अध्यक्ष हुन् । पार्टीका केन्द्रीय सदस्य समेत हुन् । विसं २०३९ मा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । 

विद्यालयबाट आरम्भ भएको उनको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि थप गति लियो । देशकै ठूलो र प्रतिष्ठित मानिने पोखराको पृथ्वीनारायण क्याम्पसमा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमार्फत सक्रिय बने । 

एमालेसम्वद्ध विद्यार्थी सङ्गठनमा २०४४ सालमा आवद्ध भएपश्चात उनले अनेरास्ववियुको विभिन्न जिम्मेवारी सम्हालेका थिए । विसं २०४५ मा अनेरास्ववियुको कास्की जिल्ला सदस्य रहेका आचार्य त्यसपछि सङ्गठनको सचिव र अध्यक्षका रूपमा सक्रिय बने । विसं २०४८ मा अनेरास्ववियुको गण्डकी अध्यक्ष बनेका उनी २०४९ मा सो सङ्गठनको केन्द्रीय सदस्य बने।

पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विभिन्न पदमा निर्वाचित भई जिम्मेवारी सम्हालेका उनी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुको कोषाध्यक्ष बने भने २०५१ मा स्ववियुको सभापति निर्वाचित भए ।

विसं २०५१ देखि २०५३ सम्म स्ववियु काउन्सिलको महासचिव बनेका आचार्यले अनेरास्ववियुमा २०५० देखि २०५४ सम्म पश्चिमाञ्चल प्रमुख र २०५४ देखि २०५८ सम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

विद्यार्थी राजनीतिमा जस्तै पार्टी जीवनमा पनि उनी कलिलै उमेरमा लागेका थिए। चौध वर्षको उमेरमा नै उनी तत्कालीन नेकपा (माले)को युवा लिगमा आवद्ध भए । 

विसं २०४५ मा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याह्वानविरुद्धको आन्दोलनमा घाइते र गिरफ्तार आचार्य दुई वर्ष निरन्तर जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहे । उनले विसं २०४७ मा मालेको सङ्गठित सदस्यता प्राप्त गरेका थिए । तत्पश्चात उनले २०४६ सालदेखि पाँच वर्षसम्म पार्टी विद्यार्थी इलाका कमिटीमा सदस्य र सचिवको जिम्मेवारी निर्वाह गरे ।

नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्यका रूपमा २०५२ सालमा जिम्मेवारीमा रहेका नेता आचार्य २०५४ मा पार्टी विभाजनका बेला नेकपा (माले)मा आवद्ध भए । विसं २०५४ मा मालेको कास्की जिल्ला कमिटीको सचिवालय सदस्य रहे । 

पार्टीको विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेका आचार्यले व्यावसायिक सङ्गठनहरूको नेतृत्वमा रहेर पनि कार्य गरे । विसं २०६० मा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमुख रहेका उनी २०६४ देखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवका रूपमा रहे ।

त्यसैगरी विसं २०६९ देखि २०७६ सम्म नेपाल उद्योग व्यवसायी महासङ्घको स्थायी कमिटी सदस्य र २०७१ देखि चार वर्षसम्म एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य बने । विसं २०७५ देखि २०७८ सम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहेका आचार्य पार्टीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधिमा सामेल भए। एमालेभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन उनले नेतृत्व लिए ।

विसं २०७८ मा एमाले जिल्ला कमिटी कास्कीको समानान्तर अध्यक्ष बने। एमालेभित्र नेता माधवकुमार नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उनी पार्टी विभाजनसँगै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)को जिल्ला नेतृत्वमा रहे ।

राजनीतिबाहेक उनी विभिन्न व्यावसायिक र सामाजिक संस्थामा पनि अध्यक्ष, सञ्चालक र प्रमोटरका रूपमा आवद्ध रहँदै आएका छन् । उनको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज सञ्चालन, रासायनिक मल उद्योग र हाइड्रोपावरजस्ता व्यावसायिक क्षेत्रमा संलग्नता छ । त्यसैगरी कृषि, पर्यटन, बैंकिङ र हस्पिटालिटीलगायत दुई दर्जन व्यावसायिक प्रतिष्ठानमा आचार्य संग्लन छन् ।

नेपाल पुस्तक तथा व्यवसायी महासङ्घको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घको कार्यकारी सदस्य, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्यपुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रूपमा उनले कार्य गरिसकेका छन्।

पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी–१ को क्याबिनेट सेक्रेटरी र गभर्नर रहेका उनी स्व रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव हुन् । पढाऔँ अभियान नेपालका सूत्रधार उनले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौँ कार्यपत्र प्रस्तुत गरेका छन्। 

विभिन्न तालिम र अध्ययनका सिलसिलामा आचार्यले विश्वका ४५ देशको भ्रमण गरिसकेका छन् । भरतपोखरीको शान्ति उदय मावि हुँदै शैक्षिक यात्रा सुरु गरेका उनले एमबीए र एमएडसम्मको अध्ययन गरेका छन् ।


Author

थप समाचार
x