धुलिखेल अब ‘आत्मनिर्भर सहर’
काठमाडौँबाट नजिक रहेको नगरपालिकाहरू मध्ये धुलिखेल नगरपालिकाको विकास जति र जुन गतिमा हुनुपर्ने हो त्यति हुन नसकेको दयासागर श्रेष्ठको बुझाई छ । अब, धुलिखेल एउटा सपनाको सहर बनाउने लक्ष्यमा छन् उनी । किनकी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उनी यसै नगरपालिकाको मेयर पदका लागि चुनावी मैदानमा छन् ।
काभ्रेपलाञ्चोकका एक प्रमुख नगरपालिका धुलिखेल दीर्घकालीन तवरले विकास हुने नदेखेपछि आफै उम्मेदवारी दिएर नेतृत्व लिने विचार गरेका हुन् एकिकृत समाजवादीका दयासागरले । धुलिखेलका जनताले सही नेतृत्व नपाउँदा उपत्यकानजिक रहेरपनि जुन रूपले विकास हुनुपर्ने हो त्यो हुन नसकेपछि यसमा श्रेष्ठ आफैं होमिएका हुन् ।
पदीय लोभ नभएका श्रेष्ठ यसअघि सकेसम्म आफू पदबाट पन्छिदै अन्यलाई सहयोग गर्दै आएका व्यक्ति हुन । यसपटक किन आफैँ भन्ने प्रश्नमा श्रेष्ठ भन्छन् ’मैले यसअगाडि जसजसलाई सहयोग गरे उहाँहरूले यस नगरलाई जुन हिसावले विकास गर्नुहोला भन्ने सोच थियो त्यो पूरा नभएपछि आफै चुनावमा होमिनुपरेको हो’ ।
२०४३ सालमा राजनीति प्रवेश गरेका श्रेष्ठ सो क्षेत्रमा लोकप्रिय व्यक्तिको रूपमा रहेका छन्। यसअघि नेतृत्वमा नपुगेका हुँदा जनताले अनुभूति हुने गरि भने केही गर्न पाएका छैनन् श्रेष्ठले। यसकारण अब नेतृत्वमा आएर उनले गर्ने कार्यक्रमपनि जनतामाझ पु¥याउँदै हिँडेका श्रेष्ठ जनताले उच्च मतले जिताएर नेतृत्वमा पु¥याउने बताउँछन्।
आफ्नो अजेण्डाका बारेमा प्रश्न गर्दा श्रेष्ठ भन्छन् ’मैले जनतासँग काम गर्नसक्ने कुराहरूको मात्र अजेण्डा तयार गरेको छु। गर्न नसक्ने कुराहरू गरेर किन आलोचित बन्ने’
नेकपा एमाले विघटनसँगै समाजवादीमा लागेका श्रेष्ठ यसले अन्य जस्तो हावा कुरा गरेर जनतालाई भ्रममा नपार्ने बताउँछन्। भित्र जे हो बाहिर पनि त्यही देखाउने हाम्रो पार्टीको सिद्दान्त रहेको श्रेष्ठ बताउँछन् । उनले प्रादेशिक विकास योजना तथा ब्यवस्थापन स्नातकोत्तर गरेका छन् ।
विषयगत विज्ञतामा पनि श्रेष्ठसँग निकै अनुभव छ । उनको स्थानीय विकास शासन, दिगो विकास लक्ष्य तथा विकास योजना तर्जुमा तथा ब्यवस्थापनमा समेत लामो अनुभव रहेको छ।
यस्ता छन् श्रेष्ठका अजेण्डा
जनतामाझ उनले आगामी पाँच वर्षका लागि गर्ने विकासको अजेण्डाहरूमा आफूले गर्न सक्ने प्रकारका मात्र सार्वजनिक गरेका छन् ।
‘मलाई यहाँका सबै दाजुभाइले चिनेका छन् । मैले कस्तो काम गर्नु सक्छु उहाँहरूलाई राम्ररी थाहा छ ।’ उनको दाबी छ । हावा गफ गरेर मात्र अजेण्डा लेख्दा भोलि काम गर्न नसकेपछि कसरी मुख देखाउने भनेरै गर्न सकिने कार्यक्रमको मात्रै सूची तयार गरेको श्रेष्ठ बताउँछन्। कृषि पर्यटन, सांस्कृतिक धरोहरको संरक्षण, आर्थिक विकास नगर भित्र गरिबीको अन्त्य पशुजन्य, फलफूल तरकारीको उत्पादकत्व वृद्धिका लागि स्थानीय युवाहरुको सीप विकास कृषिको आधुनिकीकरण निर्माण गरिएका पोखरीमा सामूहिक माछापालन गरी कृषकको आयस्रोत बृद्धि गरिने कार्यक्रम आफ्नो प्रतिबद्धता पत्रमा राखेका छन्।
यस्तै कृषकहरुलाई वर्गीकृत गरी परिचय पत्र नगर भित्रै कृषि तथा गैरकृषि क्षेत्रमा ग्राम उद्योगहरु खोल्न प्रोत्साहन गर्ने र रोजगारी सृजना र बिस्तार गर्दै मर्यादित कामको प्रवर्धन, नगरभित्रै रोजगारी र पेशा व्यवसाय गर्ने र लगानी गर्न सक्ने वातावरण निर्माण गरिने यसको लागि पर्यटन उद्योगलाई प्रोत्साहन गरिने जस्ता कार्यक्रम समावेश छन् ।
कृषिबाट समृद्धिको खाका कोर्न सकिने उनको विश्वास छ । कृषि र पर्यटनलाई जोडेर धुलिखेललाई अर्थतन्त्रमा अब्बल बनाउने उनको अर्काे योजना हो । धुलिखेल काठमाडौंबाट नजिकै पर्ने प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ आइपुग्ने पर्यटकलाई धुलिखेलमै उत्पादित अर्गानिक खानेकुरा खुवाउने उनको लक्ष्य छ ।
धुलिखेललाई प्राकृतिक सौन्दर्यको अध्ययन अवलोकन गर्ने प्रमुख गन्तव्यको रुपमा विकास गरिने उद्घोषका साथ उनी चुनावी मैदानमा छन् । पर्यटन व्यवसायमा लगाएको दोहोरो तथा तेहोरो कर खारेज गरी पर्यटन व्यवसायी र होटल व्यवसायीहहरुको सल्लाहमा नयाँ कर नीति लागूलगायतका कार्यक्रम समावेश छन् ।
प्राकृतिक श्रोत वातावरण संरक्षण र विपद् व्यवस्थापन सबैलाई आवासको व्यवस्था गर्दै मानव बसोबासलाई ब्यवस्थित, उत्थानशील र सुरक्षित बनाउने, विपद् न्यूनीकरण तथा व्यवस्थापन योजना बनाइ कार्यान्वयन गरिने, होटलहरुमा पर्याप्त पानी र नियमित विद्युत आपूर्ति हुने व्यवस्था गरिने, साथै आर्थिक विकासको लागि दिगो औद्योगीकरण र नवप्रवर्तनलाई प्रोत्साहन गरिने र धुलिखेललाई आत्मनिर्भर सहरको रुपमा विकास गर्दै लगिने योजना पनि छ श्रेष्ठको ।
‘यहाँ थुप्रै सम्भावनाका अवसरहरु छन्,’ उनी भन्छन्, ‘तर प्रयोग गरिएका छैनन् ।’ उनले स्थानीय सक्रिय बनेर आफ्नो गाउँलाई आत्मनिर्भर बनाउनतिर लाग्नुपर्ने बताए ।
व्यापारको दृष्टिले केन्द्रविन्दु हो धुलिखेल । पर्यटकीय हब पनि हो । जिल्लाको सदरमुकामसमेत भएकाले धुलिखेलको गौरव थप उचाईंमा छ । देशका विभिन्न स्थानमा पुग्नका लागि धुलिखेल केन्द्रविन्दु पनि हो ।
धुलिखेलवासीको साँस्कृतिक धरोहर तथा पुरातात्विक सम्पदा भएकाले पुरानो बजार एरियालाई सफा, सुग्घर बनाई पर्यटकीय ब्यापार केन्द्रको रुपमा विकास गरिने उनको योजना छ । होमस्टे र होटल आदि प्रबर्धन गर्दै पुराना बजार क्षेत्रलाई व्यवसायीकरण गरिने उनी सुनाउँछन् । यसले रोजगारी तथा स्वरोजगार सृजना गर्न मद्दत गर्ने उनको विश्वास छ ।
स्वास्थ्य नागरिक नै राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति भएको तथ्यलाई आत्मसात गरी स्वास्थ्य विज्ञ र नागरिकको सहभागितामा विशेष स्वास्थ्य कार्यक्रम बनाई लागू गर्ने अर्काे लक्ष्य छ । स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनु थप जरुरी उनले देखेका छन् ।
धुलिखेलमा छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुलीबाट उपचारका लागि बिरामीहरु आउने गरेका छन् । त्यहीकारण पनि श्रेष्ठ स्वास्थ्य सुविधाका लागि सहज पहूँच हुनुपर्ने बताउँछन् । ‘स्वास्थ्य क्षेत्रमा मात्रै नमुना बनाउन सक्यो भने पनि धुलिखेलले फड्को मार्नेछ,’ उनी भन्छन्, ‘त्यसका लागि मैले विशेष कार्यान्वयन गर्नेछु ।’
मुटु रोगी, मृगौला रोगी, क्यान्सर रोगीको लागि अवस्था हेरी नगरपालिकाले ५ लाखसम्म उपचार खर्च व्यहोर्ने व्यवस्था गरिने पनि उनको लक्ष्य छ ।
धुलिखेलबाट सबै क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरिने उनको अर्काे महत्वाकांक्षी योजना हो । गुणस्तरीय, व्यवसायिक र प्राविधिक शिक्षालय स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गरिने उनी बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया