'भरतपुरमा हामी एलन मस्क जन्माउँछौँ'
म मेकानिकल इन्जिनियर हुँ । भरतपुरबाट प्लस टु सकेर भारतको बैंग्लोर इन्जिनियरङ पढेर फर्किएँ । त्यसपछि तीन वर्षयता राजनीतिमा सक्रिय छु । यो बीचमा हामीले बलात्कार विरूद्ध आवाज उठायौँ । कोभिड–१९ का बेला ‘तातो भात अभियान’ सञ्चालन गर्यौँ । उद्योगबाट कसरी नाफा कमाउन सकिन्छ र श्रमिकहरूलाई कसरी सेवा–सुविधा दिएर उत्पादन बढाउन सकिन्छ त्यतातिर काम गर्यौँ ।
विवेकशील साझामा संलग्न भएपछि सामाजिक क्षेत्रमा झनै भिज्न पाइयो । साथीहरूले मलाई जिल्ला संयोजक बनाउनुभयो । राम्रो काम गर्दै गएर अहिले सबैको सहमतीमा मेयरका लागि उठेको छु । हामीले भरतपुरको विकासका लागि थुप्रै अजेन्डा निर्माण गरेका छौँ । भरतपुरमा सार्वजनिक सेवा निकै झन्झटिलो छ । सेवा लिन लामो प्रक्रिया पूरा गर्नुपर्छ । धेरै समय कुर्नुपर्छ । कर तिर्नदेखि जन्म, विवाह, मृत्यु दर्ता गर्ने प्रक्रिया निकै झन्झटिला छन् । यस्तै व्यवस्था देखेर युवाहरूमा विदेश जाने सोच पलाउँछ । हामी प्रशासनिक सेवालाई सहज र सरल बनाउँछौँ ।
भरतपुरमा कुनै पनि पार्टीसँग आवद्ध नभएका धेरै इन्जिनियर छन् । उनीहरूले अवसर पाइरहेका छैनन् । ठेक्कामा वरपरका आसेपासेलाई मात्रै अवसर दिने गरिएको छ । उनीहरूले समयमा ठेक्का पूरा गर्दैनन् । हामी सार्वजनिक सेवाका काममा सुशासन कायम गर्छौँ । भष्ट्राचार शून्य बनाउँछौँ । सरकारी सेवालाई डिजिटलाइजेसन गर्छौँ । यसले गर्दा जनताले पाउने सेवा सजिलो हुन्छ । नयाँ तरिकाले काम गर्न पाउँदा कर्मचारीमा ऊर्जा भरिन्छ । यसबाट सरकारको खर्च पनि कम हुन्छ । डिजिटलाइजेसन हाम्रो प्रमुख मुद्दा हो ।
हाम्रो दोस्रो प्राथमिकतामा निःशुल्क एवम् गुणस्तरीय सार्वजनिक शिक्षा परेको छ । निजी भन्दा सरकारी विद्यालयका कम्पाउन्ड र खेल मैदान प्रशस्त छन् । सरकारी शिक्षकहरूको सेवा सुविधा निजीको तुलनामा निकै राम्रो छ । तर, निजीको नतिजा राम्रो छ, सरकारीको छैन । भरतपुरमा करिब एक सय १७ ओटा सार्वजनिक विद्यालय छन् । ९७ निजी विद्यालय छन् । विद्यालयको संख्यामा सार्वजनिक विद्यालय धेरै भए पनि विद्यार्थीको संख्या निजीमा बढी छ । सार्वजनिक विद्यालयलाई नागरिकले विश्वास गर्न सकेका छैनन् । सरकारी स्कुलको गुणस्तर सुधार गरेर अन्तराष्ट्रिय मापदण्डको बनाउँछौ । शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउँछौँ ।
कक्षाकोठा राम्रो बनाउँछौँ । पाठ्यक्रम सुधार गरेर त्यसमा ‘ह्यापिनेश’, ‘आन्टरप्रेनरसिप’ जस्ता कक्षा थप्छौँ । ह्यापिनेश क्लासमा जित्नमात्र होइन हार्न पनि सिकाउँछौँ । आन्टरप्रनेरसिपमा कक्षामा व्यापार व्यवसाय लगायत विषयमा सिकाउँछौँ । भरतपुरमा हामी एलन मस्क जन्माउँछौँ । त्यस्तै, यहाँका पाँचजना शिक्षकलाई विदेश विश्व विद्यालयमा तालिमका लागि पठाउँछौँ । उहाँहरूले यहाँ आएर अरु शिक्षकहरूलाई तालिम दिनुहुन्छ । हामी शिक्षकलाई संसद सरहको सम्मान दिनुपर्ने बनाउँछौँ ।
स्वास्थ्यमा हामी २९ ओटा वडामा निःशुल्क प्राथमिक उपचार गर्ने क्लनिक बनाउँछौँ । ६० वर्षभन्दा माथिका आमाबुबालाई घरमै गएर उपचार गर्ने वातावरण बनाउँछौँ । स्वास्थमा ‘प्रिभेन्टिभ’ र ‘क्युरेटिभ’ दुई तरिकाले काम गर्छौँ । प्रिभेन्टिभमा रोग लाग्न नदिन विभिन्न पार्कहरू बनाउँछौँ । क्युरेटिभमा वडा–वडामा क्लिनिकहरू सञ्चालन गर्छौँ ।
महिनावारीमा हुने समस्याका लागि गुणस्तरीय प्याडको व्यवस्था गर्छौँ । सार्वजनिक शौचालयको व्यवस्था गर्छौँ । उद्यमशीलता कक्षा सञ्चालन गरेर विदेशिने युवालाई रोक्छौँ । २९ वडामा उद्योग खोल्ने वातावरण तयार गर्न गर्छौँ । सुपारीको पातबाट टपरी बनाएर बेच्न सकिन्छ । कागजबाट पेपर प्लेट बनाउन सकिन्छ । फलफूललाई प्याकेजिङ गरेर बेच्न सकिन्छ । खेर गइरहेका गोलभेँडालाई केचप बनाउन सकिन्छ । किसानलाई प्रविधिसँग जोड्न सकियो भने हामी सफल हुन्छौँ ।
हामीले गर्न संभव भएका कुरा मात्र घोषणा पत्रमा राखेका छौँ । हामी अत्यन्तै आवश्यक मुद्दा लिएर आएको हुनाले जनताहरूले हामीलाई विश्वास गर्नुहुन्छ । हामी सफल हुन्छौँ । किनभने, गत निर्वाचनभन्दा यो निर्वाचनमा नागरिकको चेतना स्तर निकै बढेको छ ।
पूराना राजनीतिक दलहरूले घोषणापत्रमा बोलेका कुरा कति पूरा भए सबैलाई थाहा छ । अब पूराना राजनीतिज्ञका शैलीलाई जनताले चिनिसके । उनीहरूले विभिन्न ठाउँमा दिएका अभिव्यक्तिले उनीहरू प्रतिकै विश्वास र सम्मान घटेको छ । नागरिकहरू चेतनशील भए । तर, नेताहरू झनै परिवारवादमै अल्झिएर बसेका छन् । यसपटक जिम्मेवारी हाम्रै काँधमा आउनेमा हामी ढुक्क छौँ । घरदैलो जाँदा पनि मतदाताको प्रतिक्रिया निकै राम्रो आएको छ । उहाँहरूले युवाहरू राजनीतिमा आउनुपर्छ हामी मत दिन्छौँ भन्नुभएको छ ।
(भरतपुर महानगरपालिकामा विवेकशील साझा पार्टीबाट मेयर पदका उम्मेदवार काफ्लेसँग इकागजकर्मी सुरेन्द्र बजगाईंले गरेकाे कुराकानीमा आधारित)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया