चाँगुनारायण नगरपालिकामा कसले मार्ला बाजी ?
काठमाडौं– पाँच दलीय गठबन्धनका दलहरूबीचको चुनावी तालमेल भत्किंदा भक्तपुरको चाँगुनारायनण नगरपालिकामा एमालेलाई फाइदा हुने देखिएको छ ।
चाँगुनागरायण नगरपालिकमा अघिल्लो निर्वाचनमा एमालेले जितेको थियो । यसपटको निर्वाचनमा देशैभर सत्ता गठबन्धन र एमालेको मुख्य प्रतिस्पर्धा भइरहँदा चाँगुनारायणमा भने गठबन्धनसहितका सबै दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । यसको लाभ आफूहरुलाई पुग्ने एमालेको ठम्याई छ ।
एमालेले यसपटक मेयरमा विना बास्तोला र उपमेयरमा रमेश बुढाथोकीलाई उठाएको छ । यस्तै कांग्रेसले जीवन खत्रीलाई मेयरमा र सुभद्रा काफ्लेलाई उपमेयरमा उठाएको छ ।
माओवादीबाट नरेश खड्काले मेयर र चण्डिका पाण्डेले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले केशव तिमिल्सिनालाई मेयरमा र कल्पना लामालाई उपमेयरमा उठाएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्रप्रताप शाहलाई मेयरमा र मञ्जु कार्कीलाई उपमेयरमा उठाएको हो ।
अघिल्लो निर्वाचनमा एमालेका सोमप्रसाद मिश्रले ८ हजार ५ सय १२ मत ल्याएर विजयी थिए भने कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत ल्याएर दोस्रो भएका थिए । यस्तै राप्रपाका रविन्द्र प्रतापशाहले ५ हजार १ सय ९८ पाएका थिए । नेपाल मजदुर किसान पार्टी का न्यहुछे भक्त फोजुले ४ हजार ४ सय ४२ मत ल्याएका थिए । माओवादी केन्द्रका शिवप्रसाद अधिकारीले ७ सय ६ मत पाएका थिए ।
उक्त निर्वाचनमा पाएको मतलाई आधार मान्ने हो भने यसपटक पनि एमाले बलियो देखिएको छ । अघिल्लो पटक कांग्रेसका उम्मेदवार खड्कालाई एमालेका मिश्रले झण्डै १६ सय मतान्तरले हराएका थिए । यसपटक पनि मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने आँकलन गरिएको छ । तर, राप्रपा र नेमकिपाले पनि राम्रो मत ल्याएकाले त्यसलाई पनि नजरअन्दाज भने गर्न मिल्दैन ।
अघिल्लो निर्वाचनमाझैँ यसपटक पनि आफूले जित्ने दाबी गर्छन्, चाँगुनारायण नगरपालिकाका उम्मेदवार रमेश बुढाथोकी । उनले अघिल्लो निर्वाचनमा एमालेले गरेका विकास निर्माणका काम नै यसपटक जित्ने आधार बनेको बताए । ‘यसपटक पनि चाँगुनायरायणमा हामीले जित्ने निश्चित छ,’ उनले भने, ‘अघिल्लो निर्वाचनमा पनि मतान्तर राम्रै थियो । हामीले जितेर थुप्रै विकास निर्माणका काम गरेका छौँ । त्यो नै हाम्रो जित्ने आधार हो ।’
पाँच दलीय गठबन्धन गरेको भए पनि चाँगुनारायणमा एमलेलाई हराउन नसक्ने उनी बताउँछन् । अहिले नयाँ थपिएका मतदाताले सबैतिर बाँडिने भएकाले यसले ठूलो असर नगर्ने उम्मेदवार बुढाथोकीको भनाइ छ । ‘नयाँ मतदाता ८÷९ हजार थपिएका होलान्,’ उनले भने, ‘तर सबै बाँडिन्छन् । एकतिर मात्रै थपिदैनन् । त्यसैले त्यसले ठूलो असर नगर्ला ।’
यस्तै कांग्रेसले पनि यसपटक आफ्ना विकास निर्माण र आम मानिसलाई समेट्ने प्रतिबद्धता जाहेर गरेकाले जित्ने दाबी गर्छन्, चाँगुनारायण वडा ४ काम उम्मेदवार बलबहादुर श्रेष्ठ । उनले अघिल्लो कार्यकालमा एमालेले सुशासन कायम गर्न नसकेकाले यसपटक कांग्रेसले जित्ने उनले बताए । ‘यसपटक हामीले जित्छौँ,’ उनले भने, ‘एमालेले नगरमा सुशासन कायम गर्न सकेन । हामीले सुशासन कायम गर्ने, विकास निर्माणका काम गर्ने प्रतिबद्धता गरेका छौँ । यो हाम्रो जितको आधार हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया