स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

मौन अवधिको उल्लंघन : फेसबुकमा धमाधम प्रायोजित पोस्ट गर्दै दल, उम्मेदवार र समर्थकहरू

इकागज |
बैशाख २८, २०७९ बुधबार १३:३२ बजे

काठमाडौँ- मौन अवधिमा पनि स्थानीय तहका उम्मेदवारहरूले सामाजिक सञ्जालमा चुनाव प्रचार प्रसार जारी राखेका छन् । गएराति १२ बजेबाट सुरु भएको मौन अवधि ३० गते हुने स्थानीय निर्वाचनसम्मका लागि सुरु हुँदा पनि मतदातालाई प्रभावमा पार्ने सामाग्री पोस्ट भैरहेका छन्।  । सामाजिक सञ्जालमा कलाकारदेखि नेता समेतले आफ्नो पक्षमा भोट मागेको सामाग्री पोस्ट स्पोन्सर गरेका छन् । ठूला पार्टीदेखि भर्खरै चुनावमा भाग लिएका पार्टीहरू सबैले मतदाता लक्षित सामाग्री सेयर गरेको पाइएको छ।

सामाजिक सञ्जालमा मतदातालाई आफ्नो पक्षमा मतदान गर्नका लागि प्रयोगकर्ताले फेसबुकमा पेड विज्ञापन गरेको पाइएको छ। गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सामाजिक सञ्जालमा चुनाव लक्षित भिडियो पोस्ट गरेका छन् । नेपाली कांग्रेसको आधिकारिक पेजबाट पनि मतदाता प्रभावमा पार्ने खाले गीत बुस्ट गरेको छ। नेपाली कांग्रेस (वीपी) पार्टीका उम्मेदावर भक्तराज भुसालले मतदाता प्रभावमा पार्ने खाले सामाग्री बुस्ट गरेका छन् ।


नेपाली कांग्रेसका दुई महामन्त्रीले मतदाता प्रभावमा पार्ने खालको भिडियो नेपाली कांग्रेस समर्थित पेज एनसी विनले बुस्ट गरेको छ। भरतपुर महानगर पालिकामा मेयर उम्मेद्वारी दिएका रेणु दाहालले आफ्नो पक्षमा आएको समाचार सहितको पोस्ट बुस्ट गरेकी छिन् ।  

पत्रकार ऋषि धमलाको न्युज साइट रिपोर्टर्स नेपालले आफ्नो भेरिफाइड पेजबाट हेटौडा महानगर पालिका उम्मेदावर दीपकबहादुर सिंहको समाचार बुस्ट गरेको छ ।

विवेकशील साझाबाट काठमाडौँ उम्मेदवारी दिएकी समीक्षा बास्कोटाको समीक्षा फर बेटर काठमाडौँ पेजबाट मतदाता प्रभाव पार्ने पोस्ट गरेकी छिन् । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्र बानियाँ संरक्षकत्व भन्दै फेसबकुमा लोकराज अधिकारी नामक पेजबाट बुस्ट गरेको छ।

काठमाडौँका मेयर पदमा उम्मेद्वार सिर्जना श्रेष्ठ, कागेस्वरी वडा नं ९ का वडा अध्यक्ष उम्मेद्वार अनिल थापा,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालले आफ्नी दिदी रेणु दाहाललाई भोट माग्दै फेसबुकमा पोस्ट गरेकी छिन्। त्यस्तै चितवनमा स्वतन्त्रकाे पक्षमा भोट हाल्नका लागि लेखक यादव देवकोटाले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेद्वारलाई भोट माग्ने किसिमका सामाग्री बुस्ट गरेको छ।

उता निर्वाचन आयोगले भने मतदाता प्रभावमा पार्ने टाइपका सामग्रीलाई सूक्ष्म रूपले अध्ययन गरेको छ। मौन अवधिमा मतदातालाई प्रभावमा पार्ने कुनै पनि सामाग्री पोस्ट सेयर गर्न नपाइने भन्दै यसमा आयोगले अध्ययन गरिरहेकाे आयाेगका कानुन विज्ञ यज्ञ भट्टराईले बताए । 

 


Author

थप समाचार
x