स्थानीय तह निर्वाचन २०७९

निर्वाचन गराउने प्रधानमन्त्रीहरूको सूचीमा देउवाको ‘ह्याट्रिक’

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १६:० बजे

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पाँच कार्यकालमा ४ पटक निर्वाचन गराउँदैछन् । आज सम्पन्न स्थानीय निर्वाचनसमेत उनले निर्वाचन गराउने प्रधानमन्त्रीको सूचीमा ह्याट्रीक गरेका छन् । आगामी संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि प्रधानमन्त्री देउवाको नेतृत्वमा हुँदैछ । 

देउवाले निर्वाचन सार्न चाहेको/खोजेको भनेर गठबन्धनले कठोर प्रश्न उठाउँदै आएको छ । आजैमात्र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देउवाले वैशाख ९ मा औपचारिक रूपमै निर्वाचन सार्न प्रस्ताव गरेको उल्लेख गरेका छन् । यद्यपि नेपालको प्रजातान्त्रिक इतिहासमा निर्वाचन गराउने कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल मात्र हुन् । उनले नेपाली कांग्रेससँगको संयुक्त सरकार भएका बेला २०७४ को स्थानीय निर्वाचनको पहिलो चरण सम्पन्न गरेका थिए । 


२०७४ को आम निर्वाचनले पाँच वर्ष सरकार चलाएर निर्वाचन गराउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा जनमत प्राप्त भएपनि उनले त्यसलाई तीन वर्षमा नै दुर्घटना गराएका थिए । ओलीले पाँच वर्ष चल्नुपर्ने संसद् विघटन गरी तीनै वर्षमा निर्वाचन गर्नेगरी घोषणा पनि गरेका थिए । 

दुई पटकसम्म उनले संसद विघटन गर्न गरेको प्रयास सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । त्यसपछि उनको निर्वाचन गराउने प्रतिवद्धताको परीक्षण नै हुन पाएन । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वकालमा २०५९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसद विघटन गरेर निर्वाचन घोषणा गरेका थिए । तर त्यो कठिन परिस्थितिमा निर्वाचन हुन सकेन र देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले बर्खास्त गरेका थिए । 

मन्त्रिपरिषद्का अध्यक्ष समेत रहेका तत्कालीन राजा ज्ञानेन्द्रले पनि २०६२ मा नगर निर्वाचन गराउन खोजेका थिए, जसलाई राजनीतिक दलहरूले बहिष्कार गरेपछि त्यो सफल हुन सकेन । 

अहिलेसम्म भएका ९ ओटा निर्वाचन नेपाली कांग्रेसको अगुवाइमा भएका छन् । २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि २०१५ सालको आम निर्वाचन मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष सुवर्ण शमशेरले गराएका थिए । २०१७ साल पुसमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्र हरण गरी पञ्चायत व्यवस्था लागू गरेका थिए । पञ्चायती व्यवस्थामा निर्दलीय निर्वाचन हुन्थ्यो । 

प्रजातान्त्रिक व्यवस्था पुनःस्थापनापछि २०४८ सालको निर्वाचन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गराएका थिए । त्यसपछि २०४९ को स्थानीय, २०५१ को मध्यावधि, २०५६ को आम निर्वाचन र २०६४ को संविधानसभा निर्वाचन पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गराए । 

२०५४ को स्थानीय निर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले गराएका थिए । २०६१ माघ १९ मा आफ्नो हातमा सत्ता लिएपछि तत्कालीन राजा ज्ञानेन्द्रले नगर निर्वाचन गराउने प्रयास गरेका थिए, जसलाई दलहरूले बहिस्कार गरे । 

२०७० को दोस्रो संविधानसभा निर्वाचन सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष भएर गराएका थिए । त्यतिबेला संसदको समेत भूमिकामा रहेको पहिलो संविधानसभा विघटन भएपछिको शून्यतामा निर्दलीय सरकार बनेर त्यसले निर्वाचन गराएको थियो । त्यसयताका सबै निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवाले गराएका छन् । २०७४ को स्थानीय निर्वाचन गराउँदा कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । यद्यपि, देउवाले नै दोस्रो चरणको स्थानीय निर्वाचनदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराएका थिए । 

२०७९ को स्थानीय निर्वाचनका साथै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समेत देउवाको नेतृत्वमा नै हुँदैछ । देउवाले २०७४ अघि तीन पटक प्रधानमन्त्री भएपनि त्यो कालखण्डमा निर्वाचन गराउने सरकारको नेतृत्व गर्न पाएका थिएनन् ।  


Author

थप समाचार
x